0
राष्ट्रिय औद्योगिक व्यापार मेलामा करिब १ करोड रुपैयाँको आर्थिक कारोबार भएको छ । पोखरा उद्योग वाणिज्य संघद्वारा आयोजित मेलाको दुई दिनसम्म करिब २२ हजार दर्शकले अवलोकन गरेका छन् । बिहीबारदेखि पोखराको नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा सुरु मेलामा दर्शकको भीड बढ्दै गएको संघका महासचिव तथा मेलाका प्रचार–प्रसार संयोजक रवीन्द्रबहादुर प्रजुले जानकारी दिए । मेलामा बिहीबार करिब ४० लाख रुपैयाँको र शुक्रबार ६० लाख रुपैयाँको कारोबार भएको प्रजुले बताए । बिहीबार १० हजार र शुक्रबार १२ हजार दर्शकले महोत्सवको अवलोकन गरेका छन् । मेलामा २ सय ९५ स्टल राखिएका छन् । डोममा ७८, रेष्टुराँका १५, अटोका ४७, पोखराका उत्पादन, पर्यटन, कृषि तथा हस्तकलामा ३६, प्mलोरिकल्चरमा ७, गार्मेण्टका २० र बाँकी १ सय ९२ साधारण स्टल मेलामा राखिएको छ । ‘सबै स्टलमा दर्शकको भिड छ,’ उनले भने । मेलामा शनिबारदेखि दर्शकको अत्याधिक चाप बढ्ने आयोजकको विश्वास छ । मेलामा शुक्रबार एकल नृत्य प्रतियोगितातर्फ सृजना बोर्डिङ स्कूलका दिपिका गुरुङ, कुमुदिनी होम्स उच्च माविका सिसङ शर्मा, कञ्चनजंगा बोर्डिङ स्कूलका प्रकृति थापाबीच प्रतिस्पर्धा भएको छ । शनिबार सोसल पब्लिक स्कूल, ग्लोबल कलिजियट, बालोदय बोर्डिङका विद्यार्थीबीच प्रतिस्पर्धा हुनेछ । यसैगरी लोकदोहोरी प्रतियोगिता अन्तर्गत निरमाया र दौतरी दोहरी तथा बिसौनी र रुपाहिल दोहरी साँझबीच शनिबार प्रतिस्पर्धा हुनेछ । शनिबार हास्य कलाकार रवि डंगोल (क्या बेइमान) र लाहुरेले सहभागीलाई मनोरञ्जन प्रदान गर्ने सांस्कृतिक उपसमिति संयोजक पवन प्रजापतिले जानकारी दिए ।

Post a Comment

 
Top