
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक विन्दुकुमार थापाले पोखरामा क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण जतिसक्दो छिटो गरिनुपर्नेमा जोड दिए । सबैको सकारात्मक पहलबाट पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने वातावरण बनेकोले भन्दै उनले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रक्रिया सरकारले अगाडि बढाएको स्पष्ट पार्दै छिट्टै विमानस्थलको शिलान्यास गर्न सरकारसँग आग्रह गरे । कार्यक्रममा संविधानसभा सदस्य रवीन्द्र अधिकारीले पोखरा विश्वमै पर्यटकीय गन्तव्यका रुपमा परिचित बनेको बताउँदै सबै मिलेर पोखराको विकास गरिनुपर्नेमा जोड दिए । नेपाली कांग्रेस कास्कीका सभापति एवं सभासद यज्ञबहादुर थापाले कास्कीको समग्र विकासका लागि व्यापार मेलाले महत्वपूर्ण योगदान पु¥याउने भन्दै पोखरालाई लगानीको क्षेत्रका रुपमा विकसित गरिनुपर्नेमा जोड दिए । मेलाको उद्घाटनका अवसरमा पोखराका योजनाकारद्वय शंकरराज पाठक र पदमबहादुर क्षेत्रीलाई सम्मान समेत गरिएको थियो । त्यस अवसरमा संविधानसभास सदस्य शारदा पौडेल, सीता गिरी वली, सरकारका आर्थिक सल्लाहकार चिरञ्जीवि नेपाल, संघका प्रथम उपाध्यक्ष देव क्षेत्री, महासचिव रविन्द्रबहादुर प्रजू लगायतले आ–आफ्नो भनाइ राखेका थिए । बिहीबारबाट शुरु भएको मेला १४ गतेसम्म संचालन हुनेछ । स्थानीय कला र संस्कृतिको प्रदर्शनी लगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामान मेलाका आकर्षण बन्ने संघका महासचिव तथा मेलाका प्रचार–प्रसार संयोजक रविन्द्रबहादुर प्रजुले बताए ।
मोवाइल टेलिफोनको अर्को सेवा प्रदायक कम्पनी हेलो नेपालले बिहीबारदेखि पश्चिमाञ्चल विकास क्षेत्रमा पनि आफ्नो सेवा शुरु गरेको छ । मध्यपश्चिमाञ्चलका १५ जिल्लामा सेवा शुरु गरि हाल सुदूर पश्चिमाञ्चल र पश्चिमाञ्चल विकास क्षेत्रमा आफ्नो सेवा विस्तार गरेको हेलो नेपाल छुट्टै जिएसएम अपरेटर हो । पोखरामा बिहीबारदेखि शुरु भएको राष्ट्रिय औद्योगिक व्यापार मेलाको अवसर पारेर हेलो नेपालले आफ्नो सेवा शुरु गरेको जनाएको छ । सेवाको शुभारम्भको अवसरमा तीनवटा सिमकार्डमा तीन महिनासम्म निःशुल्क कुराकानी गर्न सकिने र त्यसपछि हरेक महिना ३ सय मिनट कल र ३ सयवटा एसएमएस निःशुल्क पठाउन सकिने व्यवस्था हेलो नेपालले गरेको छ । हाल सिमकार्ड लिनका लागि निश्चित शुल्क तिर्नुपर्ने भएपनि यहि मंसिर ६ गते शनिबार भने मेलामा जाने दर्शकका लागि हेलो नेपालको सिमकार्ड सित्तैमा उपलव्ध गराइने भएको छ । अर्थमन्त्री डा. रामशरण महतले आफ्नो उद्घाटन मन्तव्यमा हेलो नेपालले सेवा विस्तार गरेकोमा बधाई दिंदै सफलताको शुभकामना प्रकट गरेका थिए ।
Post a Comment