0
नेपाल सरकारका सहरी विकास मन्त्री एवं नेपाली कांग्रेस नेता डा. नारायण खड्काले प्रक्रियामै गएर भए पनि तोकिएकै मितिमा नयाँ संविधान जारी गर्न सरकारले प्रतिबद्ध भएको बताएका छन् । नेपाल प्रेस युनियन कास्की शाखाले बिहीबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले लोकतान्त्रिक प्रक्रियामा जाने तर लोकतान्त्रिक प्रक्रिया नै मान्दैनौँ भन्ने एकीकृत नेकपा (माओवादी) सहितका दलहरूको धारणा गलत भएको बताए ।
दलीय हितका निम्ति देशलाई बन्धक बनाउन नमिल्ने उनको तर्क थियो । उनले तोकिएको मिति माघ ८ गते संविधान बन्न नदिने षड्यन्त्रका विरुद्ध सचेत रहन नागरिकहरूलाई आह्वान समेत गरे । सवांद समितिमा ४३ जना सभासदले हस्ताक्षर बुझाउनुलाई बाध्यात्मक परिस्थितिको संज्ञा दिदै उनले दुई तिहाईको मान्यता कांग्रेस एमालेको मात्र नभई अन्तर्राष्ट्रिय अभ्यास भएको प्रष्ट पारे । माओवादीले नयाँ संविधान बन्न नदिने अवस्था ल्याएर मुलुकलाई लिविया, सिरिया, कङ्गो जस्तै मुलुकको अवस्था निम्त्याउन खोजेको पनि उनले आरोप लगाए । माओवादीलाई धम्कीका भाषा नबोल्न आग्रह गर्दै मन्त्री खड्काले नयाँ संविधान निर्माणपछि हुने चुनावमा दुई तिहाई मत ल्याएर देखाउने धम्की दिन सुझाव दिए । ‘संविधान निर्माण नहुदै बङ्करमा सुत्ने जस्ता धम्की नदिनुस्, बरु संविधान निर्माणपछिको चुनावमा दुई तिहाई मत ल्याएर देखाईदिन्छांै भन्ने भाषाको धम्की दिनुस हामी त्यसका लागि तयार छौं ।’–मन्त्री खड्काको भनाई थियो । पोखराको बसपार्क निर्माणको प्रसङ्गमा बोल्दै मन्त्री डा.खड्काले पोखरामा बसपार्क निर्माण प्रक्रियालाई स्थानीय विवादले असर गरेको बताएका छन् । स्थानीय रुपमा देखिएको विवाद साम्य पार्न समेत उनले आग्रह गरेका छन्् । ‘बसपार्क निर्माणका लागि विवाद नगर्नुुस, सबैको सहमति गरेर पठाउनुस प्रक्रिया तत्काल अघि बढ्छ ।’–मन्त्री खड्काले भने । शहर विकासको मेरुदण्डका रुपमा रहेको बसपार्क निर्माणमा कसैले पनि विवाद निकाल्न नहुने उनको तर्क थियो । सबैको साझा एजेण्डाका रुपमा रहेका विकासका गतिविधि माथि कसैले राजनीति गर्न नहुनेमा मन्त्री खड्काले जोड दिए । ‘सबैको साझा एजेण्डा भएकाले बसपार्क निर्माणको विषयमा कसैले पनि राजनीति नगरौं, आफू संग्लग्न राजनीतिक दलभन्दा माथि उठौं ।’ मन्त्री खड्काले भने । पोखरालाई मुलुकका अन्य शहर भन्दा नमूना शहर बन्नुपर्ने बताउँदै उनले बसपार्क निर्माणमा शहरी विकास मन्त्रालयले आवश्यक सहयोग गर्ने पनि प्रतिवद्धता ब्यक्त गरे । पर्यटकीय पोखरामा व्यवस्थित, अत्याधुनिक र वैज्ञानिक बसपार्क निर्माण गर्न सकिने उनको धारणा थियो । प्रेस युनियन कास्की शाखाका अध्यक्ष शिरोमणि बरालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सदस्य केदार धमलाले गरेका थिए । पोखरा बसपार्क निर्माण नागरिक सरोकार समितिले पोखरामा आधुनिक तथा व्यवस्थित बसपार्क निर्माण सुरु गर्न शहरी विकास मन्त्री डाक्टर नारायण खड्कालाई आग्रह गरेको छ । बिहीबार सरोकार समितिले मन्त्री खड्कालाई ज्ञापन–पत्र बुझाएर बसपार्क बनाउनका लागि आग्रह गरेको हो । सरोकार समितिका संयोजक तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले मन्त्री खड्कालाई ज्ञापन–पत्र बुझाउँदै समग्र पोखराको विकासका लागि बसपार्क बन्नुपर्ने बताए । ज्ञापन–पत्रमा बसपार्कभित्र रहेका बास्तविक जग्गाधनीलाई उचित स्थानमा सट्टा जग्गा वा उचित मुआब्जा प्रदान गर्न, सुकुम्बासीलाई अन्यत्र व्यवस्थित गर्न, बसपार्क निर्माणको सन्दर्भमा अनावश्यक राजनीति नगर्न, बसपार्क निर्माणको कामलाई व्यक्ति वा पार्टीको प्रतिष्ठा नबनाउन माग गरिएको छ । सातबँुदे माग सहितको ज्ञापन(पत्रमा व्यवस्थित बसपार्क बनाउन मन्त्रीसमक्ष आग्रह गरिएको छ । झण्डै ४० वर्ष अघि अधिग्रहण गरिएको २ सय ५ रोपनी मध्य अधिकतम जग्गामा बसपार्क बनाउन माग गरिएको छ । ज्ञापनपत्र बुझेपछि शहरी विकास मन्त्री खड्काले छिट्टै पोखरामा बसपार्क बन्ने प्रतिबद्धता व्यक्त गरेका छन् । स्थानीय रुपमा देखिएको विवाद साम्य भएमा मन्त्रालयमा अड्किएको फाइल तत्काल अघि बढ्ने उनले बताए । ‘शहर विकासको मेरुदण्ड मानिने बसपार्क निर्माणलाई कसैले रोक्न सक्दैन,’ उनले भने, ‘बसपार्क निर्माणलाई सबैको साझा एजेण्डाका रुपमा अगाडि बढाउन आवश्यक छ ।’ सरोकार समितिले बसपार्क निर्माणमा दबाब दिन बुधबार क्षेत्रीय प्रशासक, प्रमुख जिल्ला अधिकारी र नगरविकास समितिलाई ज्ञापन(पत्र बुझाएको थियो । जिल्लाका सबै राजनीतिक दललाई समेत ज्ञापन(पत्र बुझाएर ध्यानाकर्षण गर्ने कार्यक्रम रहेको प्रवक्ता रामबहादुर पौडेलले जानकारी दिए ।

Post a Comment

 
Top