
नयाँ बन्ने संविधानमा भूमि सम्वन्धी मुद्वालाई स्थापित गरी भूमिहीन सुकुम्बासीको समस्यालाई सम्वोधन गर्न बुधबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले माग गरेका थिए । जिल्ला भूमिअधिकार मञ्च कास्कीले आयोजना गरेको कार्यक्रममा बोल्ने सुकुम्बासी नेताहरुले राज्य र राजनीतिक दलले आफूहरुलाई उपेक्षा गरेको गुनासो भन्दै राजनीतिक दलका नेताहरुले सुकुम्बासीका समस्याप्रति आफूहरु गम्भीर रहेकाले अधिकार स्थापित गराउने प्रतिवद्वता जनाएका छन् । कार्यक्रममा बोल्दै सुकुम्बासी समस्या समाधान आयोग कास्कीका अध्यक्ष मानबहादुर जिसीले सुकुम्बासीले अधिकार लिनका लागि कुनै राजनीतिक दलको झण्डा बोक्न आवश्यक नपर्ने बताए । पोखरा उपत्यका नगर विकास समितिका सदस्य राजबहादुर गुरुङले सुकुम्बासीका जायज मुद्वामा आफुहरुको समर्थन रहने बताउँदै पोखरामा व्यवस्थित बसपार्क निर्माण गर्न आफूहरु लागिरहेको बताए । कार्यक्रममा नेपाली काङ्ग्रेस कास्कीका सदस्य गिरीराज गौतम, नेकपा एमाले कास्कीका सचिवालय सदस्य लक्ष्मीप्रसाद अधिकारी, एनेकपा माओवादी कास्कीका सह सेक्रेटरी धर्म गुरुङ, नेकपा माओवादीका सचिवालय सदस्य शिव बराल, सन्देश गुरुङ, सुकुम्बासी नेता खलिल मियाँ, अखिल नेपाल सुकुम्बासी सङ्घका केन्द्रीय सचिव अर्जुन मल्ल, अखिल नेपाल सुकुम्बासी सङ्गठन कास्कीका अध्यक्ष हर्कमान वि.क, महिला तथा बाल सशक्तिकरण समाज नेपालकी कार्यक्रम संयोजक दुर्गा शर्मा सिग्देल, राष्ट्रिय दलित आयोगका पूर्व सदस्य सन्तोष परियार, नेपाल भूमिहीन सुकुम्बासी सङ्गठन कास्कीका उपाध्यक्ष प्रेम गुरुङ, जिल्ला भूमि अधिकार मञ्च तनहुँका अध्यक्ष रिखुराम वि.क, कृष्णटोलका लेखुराम खाती र पिपलडाली टोलका होमवीर पुन लगायतले सुकुम्वासी समस्या र समाधनका बारेमा आ–आफ्ना भनाइ राखेका थिए । जिल्ला भूमि अधिकार मञ्च कास्कीका अध्यक्ष आशबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहसचिव प्रेमकुमार गजमेरले स्वागत र सचिव कमला गहतराजले कार्यक्रम संचालन गरेकी थिईन् । सभापुर्व निकालिएको ¥यालीले पोखराका विभिन्न स्थानहरुको परिक्रमा गरेको थियो ।
Post a Comment