0
प्रधानमन्त्री सुशिल कोइरालाले संविधान निर्माण लगायत मुलुकका सामु उपस्थित सबै विषयहरुको समाधान बार्ताबाट हुने भएकोले आन्दोलन तिर नबढ्न राजनीतिक दलका नेताहरु सहित सबैलाई आग्रह गरेका छन् । बुधबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री लाई ज्ञापन पत्र बुझाउन आएको विभिन्न १२ विद्यार्थी संगठनका प्रतिनिधिहरुसंग उनले सो कुरा बताएका हुन् ।
“आन्दोलनले संविधान बन्दैन” प्रधानमन्त्री कोइरालाले भने–“हामीलाई धम्की दिएर के गर्ने मिलेर नै जानुपर्दछ ।” उनले एनेकपा माओवादी सहित २२ दलका नेताहरुले आन्दोलन गर्ने सम्बन्धमा दिएको अभिव्यक्तिलाई लक्षित गर्दै भने । प्रधानमन्त्री कोइरालाले आपसी सहमति सहकार्य एकता र मेलमिलापको माध्यमबाटै समाधान निस्कने बताउँदै भने,“जसरी शान्ति प्रकृया आरम्भ भएर सही मार्गमा गयो, माओवादी लडाकूको समायोजन र हतियारको व्यवस्थापन भयो त्यसरी नै संविधान निर्माणमा देखिएका असहमति संवादका माध्यमबाट समाधान हुनेछन ।” उनले संविधान निर्माण पनि शान्ति प्रकृयासंग सम्बन्धित विषय भएको बताउँदै भने,“यो मुलुकले थप द्वन्द्व धान्दैन । फेरी तोडफोड र आन्दोलन केको लागि ? राजा पनि गए जसको विरुद्ध आन्दोलन गरिन्थ्यो । अब त हामीले सम्हाल्ने बेला हो”। प्रधानमन्त्री कोइरालाले उच्चस्तरीय राजनीतिक समिति र संविधान सभाको राजनीतिक सहमति तथा संवाद समितिमा कैयौ पटक बस्दा पनि संविधानका विवादित विषयमा निर्धारित समयमा सहमति जुट्न सक्ने अवस्था नभएपछि दलहरुको परामर्श अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी सहितका दलहरुले संयुक्त रुपमा अवधारणा पत्र संवाद समितिमा पठाएको पनि उनले उल्लेख गरे ।
प्रधानमन्त्री कोइरालाले संविधान निर्माणमा उपस्थित गतिरोधलाई अन्त्य गरी संविधान सभाले तय गरेको समयतालिका अनुरुप संविधान लेखन प्रकृयालाई अगाडि बढाउन सो कदम आवश्यक भएको पनि बताए । उनले अलग अवधारणा प्रस्तुत गर्दैमा सहमतिको प्रयास नरोकिने स्पष्ट पार्दै भने,“यो प्रस्ताव अनुरुपको प्रतिवेदन संविधानसभामा प्रस्तुत हँुदा पनि संशोधन र सामयिक सुधार गर्न सकिन्छ । त्यसपछि जनताको बीचमा जाँदा पनि सुधारको कुरा आउन सक्छन । त्यसपछि संवाद समितिमा पनि सुधार गर्न सकिन्छ । यो नै अन्तिम होइन । त्यतिञ्जेल सहमतिको प्रयास हुन्छ ।”
प्रधानमन्त्री कोइरालाले संविधान सभाको चुनावमा सहभागी सबैदलहरुले जनतासमक्ष १ बर्षमा संविधान दिने कबुल गरेका र संविधान सभाको चुनाव पछि भएका उच्च स्तरीय राजनीतिक समिति र संविधानसभाले पनि १ बर्षमा संविधान दिने संकल्प पारित गरी सो अनुरुप समय तालिका बनाएकोले संविधान निर्माणको प्रकृयालाई पूर्व सहमति,समझदारी  र प्रजातान्त्रिक मूल्य, मान्यता र परम्परा  र संविधानसभा नियमावली अनुरुप प्रकृयामा लगिएको पनि स्पष्ट पारे । उनले एमाओवादी नेता प्रचण्डलाई कांग्रेस एमालेले दुइ तिहाइ मतले पेलेर जान खोजे भन्ने त्रास परेको उल्लेख गर्दै भने,“ आन्दोलन के मामूली कुरा हो । नियन्त्रण बाहिर गए देशको अवस्था के हुन्छ ।”
उनले मुलुक सबै भन्दा ठूलो संक्रमणमा रहेको र साढे ६ दशकको अनवरत संघर्षले प्राप्त संघीयता, लोकतन्त्र, गणतन्त्र र समावेशिता जस्ता उपलब्धिलाई संस्थागत गरेर आन्दोलनमा गए प्राप्त उपलब्धिहरु समेत गुम्ने अवस्था आउने बताए । प्रधानमन्त्री कोइरालाले विद्यार्थी नेताहरुलाई  वर्तमान पुस्ता छिट्टै जाने भएकोले भविष्यप्रति युवाहरुले ध्यान दिन पर्ने बताए । उनले सबै दलका नेताहरुलाई संझाउन पनि युवाहरुलाई आग्रह गरे । प्रधानमन्त्री कोइरालाले देशमा प्रजातन्त्र नभएको र शान्ति सहित स्थायित्व पनि नभएकोले देशको विकास नभएको बताउँदै भने,–”हामीले चाहे जस्तो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आइसक्यो । अब केका लागि आन्दोलन ।” उनले नेपालमा विकासको वातावरण बन्दै गएकोले शान्ति र स्थायित्वमा जोड दिन पनि आग्रह गरे ।
आजसम्म जलस्रोत लगायतका हाम्रा प्राकृतिक स्रोतहरुको उपयोग हुन नसकेको बताउदै प्रधानमन्त्रीले भने, “भारतसंग विद्युत व्यापार संझौता भएको छ । जलविद्युतमा लगानीको वातावरण बन्यो । पर्यटनमा पनि विदेशी लगानी आएको छ । सडक एअरपोर्ट जस्ता पूर्वाधारमा प्रस्तावहरु आएका छन । कृषिलाई पनि व्यवसायिकरण गर्नु पर्ने अवस्था छ । देशमा शान्ति र अमन चैन कायम गरी विदेशिएका ३०÷४० लाख नेपाली युवा जनशक्तिलाई फर्काएर देशको उन्नतिमा लगाउनु पर्ने खाँचोे देखिएको छ । अब दलका नेताहरुले त देश र जनताको सुख समृद्धिमा पनि ध्यानु दिनु पर्दछ ।”

Post a Comment

 
Top