0
पोखरामा चोरी, हिसां लगायतका घटना बढ्न थालेको र जनचाप पनि बढ्दै गएकाले सुरक्षित शहरको रुपमा विकास गर्नुपर्नेमा शुक्रबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।  पोखरालाई सुरक्षित र व्यवस्थित नगर बनाउनुपर्ने समेत उनीहरुले जोड दिएका छन् ।
नागरिक समाज र नागरिक निगरानी समूह पोखराले संयुक्त रुपमा आयोजित कार्यक्रममा पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेश बरालको स्वागत कार्यक्रममा बोल्ने वक्ताहरुले पोखरालाई ब्यवस्थित नगर बनाउनका लागि नगरपालिका कार्यालयको तर्फबाट योजनाबद्ध रुपमा काम गर्नुपर्नेमा जोड दिएका छन् ।  नागरिक समाज पोखराका संयोजक राम बहादुर पौडेलले पोखरा देशकै सुन्दर र सफा शहर भएपनि पछिल्लो समयमा नगरबासीहरुको क्रियाकलापका कारण फोहोर हुँदै गएकाले नगरपालिकाले नागरिक समाज लगायतका संघ संस्थासँग समन्वय गरेर अघि बढ्नुपर्ने बताए ।
नागरिक निगरानी समूहका संयोजक प्रकाश पौडेलले पनि नगरपालिकाले सार्वजनिक ठाउँमा गरिएका प्रतिबद्धता पूरा गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए  ।
कार्यक्रमका सहभागीहरुले नगरको ट्राफिक ब्यवस्थापन, फोहोर ब्यवस्थापन, जग्गा अतिक्रमण रोक्नुपर्ने, लक्षित बर्ग कार्यक्रमलाई प्रभावकारी परिचालन गर्नुपर्ने, गैर सरकारी संस्थाहरुलाई एकद्धार प्रणालीमा ल्याउनुपर्ने, पेश्की फस्र्यौटमा नगरपालिकाले ताकेता गर्नुपर्ने, नगरपालिकामा हुने विभिन्न प्रकारका प्रदुषण रोक्नुपर्ने लगायतका विषयमा गुनासो र माग राखेका थिए । सहभागीहरुबाट उठेका जिज्ञासाको उत्तर दिंदै पोउमनपाका कार्यकारी अधिकृत बरालले गैर सरकारी संस्थालाई एकद्वार प्रणालीमा ल्याउन एनजिओ डेक्स स्थापना गर्ने, शहरको फोहोर ब्यवस्थापन लगायतका विभिन्न कामका लागि टोल विकास संस्थासँग समन्वय गर्ने बताए ।
उनले समृद्ध पोखरा बनाउनका लागि नागरिक समाज, टोल विकास संस्था, राजनीतिक दल, पत्रकारको समान भूमिका हुने भएकाले सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरे । बरालले अहिले आँफू नगरपालिकाका कर्मचारीलाई उद्याउने काममा लागेकाले केही समयपछि प्रतिफल देखिने बताए । नगरपालिकाका कर्मचारी, वडा सचिवहरुको क्षमता विकासका लागि विभिन्न तालिमहरु सञ्चालन गर्ने उनको भनाई थियो ।

Post a Comment

 
Top