0
मुलुकको प्रमुख पर्यटकीय नगर र प्राकृतिक सुन्दरताले भरिपूर्ण पोखराको विकासका लागि सोचिएका कुरालाई व्यवहारमा ल्याउन नसक्दा पोखरा विकासको दृष्टिकोणले अझै पछाडि छ । पोखरामा व्यवस्थित बसपार्क, अन्तर्राष्ट्रियस्तरको विमानस्थल, फेवातालको संरक्षण, शान्तिवनको व्यवस्थापन, विकास तथा चिडियाखानाको निर्माण एवं बोटानिकल गार्डेन जस्ता विषयमा चर्चा हुन थालेको वर्षाैं वितिसक्यो । विमानस्थल र बसपार्कको विषयले झण्डै चारदशकदेखि चर्चा पाइरहेको छ । तैपनि विमानस्थल र बसपार्कजस्तो विकासको महत्वपूर्ण र आवश्यकीय पूर्वाधार तयार गर्न सरोकारवाला गम्भीर नदेखिनु दुःखद् पक्ष हो । पोखरामा नयाँ विमानस्थल निर्माणका लागि तीनहजार एकसय रोपनी भन्दा बढी जग्गा अधिग्रहण गरिएको चार दशक वित्न लाग्दा पनि विमानस्थल निर्माण कार्य शुरु नहुँदा आम पोखरेलीहरु आन्दोलित बन्न बाध्य भए । पोखरेलीको दवाव र नेपाल सरकारको प्रयासपछि विमानस्थल बन्ने निर्णय भएपनि अझै केही अन्यौल र आशंका कायम रहेकोले त्यसलाई चिर्न सकिएको छैन । अझैसम्म विमानस्थलको शिलान्यास हुन नसक्नु र त्यस क्षेत्रका जग्गाधनीहरुमध्ये केहीले मुआव्जाको नाममा मोटो रकम माग गर्नुले पनि अन्यौल र आशंका बढेको हो । विमानस्थलका साथै पोखराको पृथ्वीचोकस्थित बसपार्कलाई व्यवथित गर्न नयाँ बसपार्क निर्माण गर्ने निर्णय भएको समेत धेरै वर्ष वितेको छ । बसपार्कका लागि जग्गा अधिग्रहण गरिएको दशकौं बितेपनि काम शुरु नहुँदा बसपार्कका लागि छुट्याइएको जग्गा समेत घट्दै गइरहेको छ । यसले एकातिर बसपार्कको स्तर र क्षेत्रफलमा कमि आउने सम्भावना त देखिन्छ नै तर बसपार्क निर्माणको टुङ्गो सरकारी स्तरबाट या पोखरा उपत्यका नगर विकास समितिबाट नलागेकोले अहिलेपनि पोखरेलीहरु बसपार्क निर्माणका लागि समेत दवावपूर्ण आन्दोलनमा सहभागी हुन थालेका छन् । पोखरामा लामो तथा छोटो दूरीका ठूला र साना सवारी साधानको संख्यामा भएको उल्लेखनीय वृद्धिले मात्र होइन, पोखरामा आउने आन्तरिक तथा बाह्य पर्यटकहरु समेत पोखरा बसपार्कको अव्यवस्था देख्दा चिन्तित हुन्छन् । पोखरालाई व्यवस्थित शहरको रुपमा विकास गर्ने चाहना आम पोखरेलीहरुको भएपनि सम्वद्ध निकायमा पुगेर लविङ गर्ने, दवाव दिने तथा विभिन्न किसिमबाट नीति निर्माण तहमा बसेकाहरुलाई प्रभावित गर्ने काम खासै हुन सकेको छैन । जसका कारण पोखरामा विकास निर्माणसंग सम्बन्धित महत्वपूर्ण योजनाको थालनी हुन नसकेको हो । अहिले संविधानसभाको दोस्रो निर्वाचनपछि संंविधान निर्माणको काम संगै स्थायी शान्ति र राजनीतिक स्थिरता अत्यन्त आवश्यक देखिएकोमा कसैको दुइमत छैन । यिनै विषयलाई महत्वका साथ निर्णय प्रक्रियामा पु¥याउनु र पोखराको विकासका लागि बसपार्क र विमानस्थल निर्माणको प्रक्रियालाई यथाशीघ्र सुरुवात गर्नु अहिलेको प्रमुख आवश्यकता हो ।




Post a Comment

 
Top