0
जिल्ला विकास समिति कास्कीले आगामी बर्षका लागि ६५ करोड ५२ लाख रुपैयाँको बजेट अनुमान गरेको छ । जसमा सबैभन्दा धेरै शसर्त पुँजिगत अनुदान ४१ करोड ६ लाख रुपैयाँ अनुमान छ भने सबैभन्दा कम गाविसको आन्तरिक आय १ करोड ४५ लाख अनुमान गरिएको छ । जिल्ला विकास समिति कास्कीले आगामी बर्ष २०७२÷७३ मा सञ्चालन गर्ने योजना छनौटको विषयमा जानकारी दिन आजदेखि पुर्व योजना तर्जुमा गोष्ठी सुरु गरेको छ । भोलिसम्म चल्ने गोष्ठीमा आज आगामी आर्थिक बर्षमा सञ्चालन गर्ने योजनाका विषयमा छलफल गरिएको छ । सहभागीहरुले बस्तीस्तरबाट आएका योजनाहरुलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न अनुरोध गरेका छन् । उनीहरुले योजना छनौट प्रक्रियामा महिलाको समान सहभागिता सुनिश्चित गर्नुपर्ने, तत्काल लाभ लिन सकिने खालका योजना छनोट गर्नुपर्ने, योजनाको प्रभावकारी अनुगमन गरिनुपर्ने लगाएतका बिषयमा पनि सुझाव दिएका छन् । प्रत्येक स्थानीय निकायहरुले मंसिर दोश्रो सातासम्म पुर्व योजना तर्जुमा गोष्ठी सम्पन्न गरिसक्नुपर्ने कानुनी प्राबधान छ ।
 सोही अनुसार कार्यक्रम गरिएको स्थानीय विकास अधिकारी तारानाथ अधिकारीले जानकारी दिए ।
 कार्यक्रममा राजनीतिक दलका जिविस प्रतिनिधिहरुले कास्कीको दीर्घकालिन योजना निर्माण गरेर कार्यान्वयन गर्न सुझाव दिएका छन् । सोमबार भएको गोष्ठीमा संविधानसभा सदस्यहरु सीता गिरी, तेज कुमारी पौडेल, कुमार खड्का लगाएतले पनि जिल्ला स्तरबाट आएका योजनाहरुलाई कार्यान्वयनको चरणमा लैजान आफुहरुले पनि एकबद्ध भएर काम गर्ने प्रतिबद्धता जनाए । कार्यक्रम अन्तर्गत भोलि सबै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुसँग छलफल गरेर कास्की जिल्ला विकासका लक्ष तथा उद्देश्यहरु निर्धारण गरिने जिल्ला विकास समिति कास्कीका योजना अनुगमन तथा प्रशासकिय अधिकृत कृर्तनराज पौडेलले जानकारी दिए ।

Post a Comment

 
Top