0
पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा जारी राष्टिूय औद्योगिक व्यापार मेलामा प्राङ्गारिक तथा स्थानीय उत्पादन लोकप्रिय बनेको छ । इलामबाट मेलामा आएर स्टल राखेकी पार्वती खतिवडालाई किबी जातको फल बिक्री गर्न भ्याइनभ्याइ छ । ‘इलाममा उत्पादित किबीको बिक्री अत्याधिक छ,’ उनले भनिन्, ‘१७ किसिमको भिटामिन र १२ किसिमको फलफुलमा पाइने स्वाद किबीमा पाइने भएकाले धेरैले रुचाएका हुन्, ।’ त्यसैगरी इलामको ग्राउण्ड एप्पल पनि मेलामा धेरैले रोजाइ बनेको उनले बताइन् ।
मेलामा लिबर्डको प्रवद्र्धनमा जटिबुद्धिको स्टल राखिएको छ । मेलामा आएका दर्शकलाई जटिबुटि बिक्री गर्न र जडिबुटि बारे जानकारी दिन भ्याइनभ्याइ भएको वैद्य जयबहादुर थापाले बताए । ‘माग अनुसारको जडिबुटि पु¥याउनै सकेको छैन,’ उनले भने । रुद्राक्ष, गाइखुरे, रानीतरुल, चुँदोलगायतका जडिबुटि मेलाबाट उनले बिक्री गरिरहेका छन् ।
म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गत महिला उद्यम विकास समितिले मेलास्थलबाट मह, भागो र टिमुरको छोप बिक्री गरिरहेको छ । म्याग्दीको महले मेलामा राम्रो व्यापार गरेको म्याग्दी महिला उद्यम विकास समितिकी संयोजक दिलु गुरुङले बताइन् । पर्वतकै सुनिता शर्मालाई पनि ग्राहकलाई सिस्नोको धुलो माग अनुसार पु¥याउन हम्मेहम्मे परेको छ । ‘महको व्यापार पनि राम्रो छ,’ उनले भनिन् । पोखरा उद्योग वाणिज्य संघले वर्षेनी आयोजना गरेको मेलाबाट आफूहरुको उत्पादनले राम्रो बजार पाएको उनीहरुको भनाइ छ । ‘मेलाले स्थानीय उत्पादनको बजार प्रबद्र्धनमा निकै योगदान पु¥याएको छ,’ शर्माले भनिन् ।
मेला अन्तर्गत सोमबार विद्यालयस्तरीय सामुहिक लोकनृत्य प्रतियोगितामा जुनियर सिटिजन एकेडेमी र सरस्वती आदर्श विद्याश्रम विजयी भएका छन् । अन्तरदोहोरी साँझ लोकदोहोरी गीत प्रतियोगितातर्फ सुनगाभा दोहोरी साँझ र गाउँशहर दोहोरी साँझ विजयी भए ।
मेलामा मंगलबार विद्यालयस्तरीय सामुहिक लोकनृत्य प्रतियोगितातर्फ गण्डकी आवासीय उच्च मावि, स्टेप बाई स्टेप बोर्डिङ स्कूल, सिद्धार्थ लवडेल बोर्डिङ स्कूल, कास्की मोडनाईज्ड बोर्डिङ स्कूल, पोखरा लर्नर्स बोर्डिङ स्कूल र बालोदय उच्च मावि बोर्डिङ स्कूलबीच प्रतिस्पर्धा हुने भएको छ । लोकदोहोरीतर्फ खुमन अधिकारी, मञ्जु पौडेल, घनश्याम रिजाल, तारापति सुवेदी, कोपिला गुरुङ, माया गुरुङ, काजोल गुरुङको विशेष प्रस्तुति रहने भएको छ । मंगलबार अन्तरदोहोरी साँझ दोहोरी प्रतियोगिता पनि जारी रहनेछ ।
हास्यव्यङ्ग्यतर्फ मंगलबार राजाराम पौडेल, सबिता गुरुङ, पश्चिमाञ्चल आईडल कमेडी डान्सर दिवाकर भण्डारी र संजय भण्डारीको प्रहशन रहनेछ । साँझको कार्यक्रम अन्तर्गत मंगलबार फेशन सोको साथमा चर्चित कलाकारहरुको कडेमी तथा मोर्डन डान्सले दर्शकलाई मनोरञ्जन प्रदान गर्ने सांस्कृतिक उपसमिति संयोजक पवन प्रजापतिले जानकारी दिए । मेलामा सोमबारसम्म ९ करोडको कारोबार भएको छ भने ९० हजार दर्शकले मेला अवलोकन गरेका छन् । सोमबारमात्र २ करोडको आर्थिक कारोबार भएको पोखरा उद्योग वाणिज्य संघका कोषाध्यक्ष तथा आर्थिक उपसमितिका संयोजक दीलिपराज श्रेष्ठले जानकारी दिए । सोमबार १६ हजार दर्शकले मेला अवलोकन गरेको उनले बताए । मेलामा दर्शकको भिड बढेसँगै पार्किङलाई व्यवस्थित गरिएको पार्किङ व्यवस्थापन समितिका संयोजक अर्जुन पोखरेलले जानकारी दिए ।

Post a Comment

 
Top