0
पोखराको जनप्रिय बहुमुखी क्याम्पस नेपालका क्याम्पसहरु मध्ये उत्कृृष्ट क्याम्पसका रुपमा स्थापित भएको क्याम्पस प्रशासनले जनाएको छ । पछिल्लोपटक विश्व विद्यालय अनुदान आयोगमार्फत विश्व बैंकको छनौटमा परि अन्तर्राष्ट्रिय स्तरको गुणस्तर मान्यता (त्तब्ब्) को प्रमाणपत्र प्राप्त गरेपछि क्याम्पसले अन्तर्राष्ट्रिय स्तरको पहिचान बनाउन सफल भएको हो । गत २०६९ फागुन १२ गते विश्वविद्यालय अनुदान आयोगले नेपालका १२ वटा क्याम्पसहरुलाई त्यस्तो प्रमाणपत्र दिएकोमा  पश्चिमाञ्चलको जनप्रिय बहुमुखी क्याम्पस पहिलो र एकामत्र हो । क्याम्पसको भौतिक पूर्वाधारमात्र नभएर शैक्षिक गुणस्तर पनि काठमाडौंमा रहेका क्याम्पसको तुलनामा कम नरहेको क्याम्पस प्रमुख वीरञ्जी गौतमले बताए । सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा संकाय अन्तर्गत दश जोड दुई देखि स्नातकोत्तर सम्मको पढाइ क्याम्पसमा भइरहेको र शैक्षिक गुणस्तर समेत बढ्दै गएको दावी गरे । अहिले हामीले क्याम्पसबाट उत्तीर्ण भएका विद्यार्थीहरु कहाँ के गर्दैछन् भनेर अनुसन्धान शुरु गरेका छौं । यस्तो अनुसन्धान अन्य क्याम्पसले गर्न सकेका छैनन् भन्दै गौतमले जनप्रियमा संचालित बिबिएको पढाइ देशका अन्य कलेजको तुलनामा उत्कृष्ट देखिएको र अन्य तह र संकायलाई पनि उत्कृष्ट बनाउन प्रयास भइरहेको जानकारी दिए ।
क्याम्पसमा संचालित बिबिए कार्यक्रम संयोजक कृष्णबाबु बरालले तत्कालिन क्याम्पस प्रमुख स्व. गणेशमान पालिखेको अथक प्रयासबाट २०६० मा बिबिए कार्यक्रम शुरु भएको बताए । काठमाडौं उपत्यका बाहिर बिबिए पहिलोटक जनप्रियमा नै शुरु गरिएको जानकारी दिंदै उनले २०६४, ०६५, ०६६ र ०६७ को व्याचमा क्रमशः ८८, ७०, ९२ र ९६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको र २०६९ मा छैटौं सेमेष्टरको परीक्षामा सबै विद्यार्थि प्रथम र विशिष्ट श्रेष्णी तथा २०७० को आठौं सेमेष्टरको परीक्षामा सबै विद्यार्थी विशिष्ट श्रेणीमा उत्तीर्ण भएको जानकारी दिए । बरालका अनुसार २०६८ को चौथो सेमेष्टरमा निन्जु थापाले र २०७० को आठौं सेमेष्टरमा सन्ध्या घिमिरेले देशभरका बिबिए कार्यक्रम मध्ये सर्वोत्कृष्ट अंक प्राप्त गरेका छन् । घिमिरे सहित अन्य तीनजना काठमाडौंका विद्यार्थीहरुले समान अंक प्राप्त गरेका थिए ।
बिबिए कार्यक्रमको लोकप्रियताका कारण यसपटक एक सेक्सन थप गर्ने प्रक्रिया अघि बढेको बरालले बताए । यसका लागि डीन कार्यालयमा पत्राचार भइ आवश्यक अनुगमन समेत भैसकेको छ । यसो भएमा बिबिए कार्यक्रममा ३२ जना थप विद्यार्थी सहित ९६ जनाले एकै व्याजमा अध्ययन गर्न पाउने छन् । उनले भौतिक पूर्वाधार, दक्ष जनशक्ति र बजारमा बिबिए पढ्न चाहने विद्यार्थीको चापलाई मध्यनजर गरि क्याम्पसले आफ्ना कार्यक्रम संचालन गरेको समेत बताए । विश्वविद्यालयको निर्देशन अनुसार सामुदायिक तथा सरकारी विद्यालयहरुबाट अध्ययन पूरा गरि छनौट भएका ४ जनालाई ५० प्रतिशत छात्रवृत्ति दिइने र प्रत्येक सेमेष्टरमा प्रथम र द्वितीय हुने विद्यार्थीलाई शतप्रतिशत र ५० प्रतिशतका दरले छात्रवृत्ति दिने गरिएको छ । बिबिए अध्ययन गर्न चाहनेले २ लाख ६० हजार रुपैयाँ कलेजलाई तिर्नुपर्ने र प्रत्येक वर्ष त्रिभुवन विश्वविद्यालयलाई परीक्षा प्रणालीका लागि अतिरित्त ३ हजार रुपैयाँ तिर्नुपर्दछ । वि.सं. २०४८ सालमा स्थानीय शिक्षाप्रेमी तथा समाजसेवीको पहलमा स्थापना गरिएको जनप्रिय बहुमुखी क्याम्पसमा सुरुवातमा १४ जना प्राध्यापक, ४ जना कर्मचारी र १२५ जना विद्यार्थी रहेकोमा हाल ११९ जना प्राध्यापक ४७ जना कर्मचारी र तीनहजार एकसय विद्यार्थी अध्ययनरत छन् । कलेजको स्थापना कालमा ४५ जना सिनेटर  र ३० जना मानार्थ संरक्षक रहेकोमा हाल त्यो संख्या क्रमशः ५४५ र २९ रहेको छ । नौ रोपनी सात आना क्षेत्रफलमा रहेको क्याम्पसमा ४ वटा भवन र ३५ हजार दुईसय भन्दा बढी पुस्तक रहेको नमूना पुस्तकालय, विज्ञान प्रयोशाला ६ वटा र कम्प्युटर प्रयोशाला दुई वटा रहेको क्याम्पसका सहायक क्याम्पस प्रमुख राजेन्द्र पौडेलले जानकारी दिए ।

Post a Comment

 
Top