0

विश्वमा देखिएको खाद्य संकट र त्यसबाट निम्तिएको भोकमरिलाई न्युनिकरणका लागि पोखराबाट अभियान शुरु गरिएको छ । ‘खानाको मान, आफ्नो सम्मान’ भन्ने मूल नाराका लायन्स क्लव अफ पोखरा पिस चौतारीले उक्त अभियान शुरु गरेको हो । क्लवको केही महिना अघि सम्पन्न आठौं पदस्थापन कार्यक्रमबाट उक्त अभियान संचालन गर्ने प्रस्ताव पारित गरेको थियो । उक्त अभियानलाई पोखरामा तीव्ररुपमा अघि बढाइएको छ । पोखराका विभिन्न सार्वजनिक स्थल तथा सरोकारवाला निकायका कार्यालयमा ‘भोकबाट बचौं र बचाऔं’, ‘लभ फुड हेट वेस्ट’ जस्ता नारा समेत समावेश गरिएका फ्लेक्स पोष्टरहरु टाँसिएको छ । अभियानलाई पोखराको सबैक्षेत्रमा सम्पन्न गरि देशव्यापीरुपमा अघि बढाइने क्लवका सचिव मगनलाल श्रेष्ठले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । क्लवले संचालन गरेको यो अभियानका साथै मानव स्वास्थका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम समेत अघि सारेको छ । क्लवले अघि सारेका जनचेतना मूलक कार्यक्रमहरुमा सादा, ताजा र हल्का खाउँ, नुन, चिल्लो गुलियो कम खाउँ, नियमित शारीरिक व्यायाम गरौं भन्ने नारा छन् । मोटोपन, उच्च रक्तचाप र सुगर हुनबाट बचौं, खानाको सम्मान गरौं, खाना नफालौंका साथै सबैलाई एकछाक खान पुग्ने र पुग्न सक्ने वातावरण निर्माणमा सबै लागौं भन्ने नारा समेत उक्त कार्यक्रममा समावेश छन् । विश्वव्यापी देखिएको खाद्य संकट र त्यसबाट निम्तिएको भोकमरिलाई न्युनिकरण गर्नका लागि आफूहरुले सानो प्रयास गरेको क्लवका अध्यक्ष डा. विष्णु चापागाइँले बताए । ‘क्लवले चालेको यो अभियान सीमित क्षेत्रमामात्र होइन व्यक्ति–व्यक्ति, घर–घर र टोल–टोलबाट चल्न जरुरी छ र सम्बन्धित निकायले पनि यस विषयमा बेलैमा ध्यान दिन जरुरी छ’–अध्यक्ष चापागाइँले भने । अभियानलाई पोखरा उपमहानगरपालिका वडा नं. १० इन्द्रचोकमा रहेको आरोग्यधाम होमियोप्याथिक हस्पिटल प्रालिले सहयोग गरेको छ ।
१६ जनवरी २००७ मा स्थापित पिस चौतारी लायन्सले कास्कीको अर्मलामा स्थायी प्रोजेक्ट अन्तर्गत च्याउखेती प्रोजेक्ट संचालन गरिसकेको छ । यसका साथै पिस पोष्टर, अभिमुखीकरण एवं नेतृत्व विकास तालिम, आँखा शिविर, च्याउ उत्पादन तालिम, आर्थिक सहयोग, फेलोशिप कार्यक्रम लगायतका दर्जनौं समाजिक एवं रचनात्मक कार्यक्रम गर्दै आइरहेको छ । क्लवले वृक्षरोपण, खाद्य सामाग्री प्रदान, उत्कृष्ट कृषक सम्मान, पिस पोष्टर, आँखा जाँच, देउसी भैलोबाट विपद् कोष स्थापना, कार्यक्रम प्रस्तुति तालिम, नाइट कार्यक्रम, स्वास्थ्य शिविर कार्यक्रम यसवर्ष (२०१४÷१५) गर्ने भएको छ । यस्तै क्लवका पदाधिकारी एवं सदस्यहरुबीच सुमधुर सम्बन्ध स्थापित गर्नका लागि वनभोज, प्रोजेक्ट डिजाष्टर फण्ड स्थापना, आँखा अप्रेशन कार्यक्रम, ट्राफिक सचेतना कार्यक्रम, आध्यात्मिक क्षेत्र भ्रमण, रक्तसंचार केन्द्र र अतिथि गृह निर्माणमा पहल, स्वरोजगार तालिम समेत क्लवले यसवर्ष अघि बढाउने भएको छ । क्लवले अघि सारेका अन्य कार्यक्रमहरुमा वृहत् रक्तदान कार्यक्रम, खेलकूद कार्यक्रम, अमर इन्द्र स्मृति कोष संचालन, छात्रवृत्ति एवं शैक्षिक सामाग्री वितरण लगायतका छन् । क्लवले लायन्स क्लव अफ पोखरा पिस होम, लियो क्लव अफ पोखरा पिस चौतारी, लायन्स क्लव अफ पोखरा पिस सोसाइटी समेत स्पोन्सर गरिसकेको छ भने यसवर्ष पनि नयाँ क्लव स्पोन्सर गर्नका लागि पूर्व अध्यक्ष दुर्गाप्रसाद हुमागाइँलाई जिम्मेवारी दिइएको छ । क्लवले इसामे फोरम, मल्टिपल कन्भेन्स, डिष्ट्रिक्ट कम्भेन्स र अन्तर्राष्ट्रिय कन्भेन्स समेत यसैवर्ष गर्ने भएको छ ।

Post a Comment

 
Top