0
साहसिक पदयात्राका लागि विश्वकै लोकप्रिय र महत्वपूर्ण पदमार्ग अन्नपूर्ण क्षेत्रमा भएको हिमपातको घटनाले विपद्पूर्व अपनाउनुपर्ने सावधानीका बारेमा बहस सुरु भएको छ ।
घटनालगत्तै उद्धार तथा प्राविधिक टोली उपलब्ध हुने अवस्था नहँुदा यस पटक हिमपातका कारण थुप्रैको ज्यान गएपछि आगामी दिनमा हुन सक्ने विपद्मा पदयात्रीको ज्यान जोगाउनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न दबाब सिर्जना भएको छ । साहसिक पदयात्रा र हिमाल आरोहणका क्रममा पर्यटकबाट राज्यलाई करोडौँ रुपैँया आम्दानी भए पनि  पर्यटकको सुरक्षाबारे आवश्यक लगानी न्यून भएकै कारण उच्च हिमाली क्षेत्रमा बर्सेनि कैयौँ पर्यटकको ज्यान जाने गरेको छ । अघिल्लो वर्ष सगरमाथाको आधार शिविरमा भएको ताजा घटना र हालको अन्नपूर्ण पद्मार्गको थोराङभन्ज्याङको घटनाले चुनौती र जिम्मेवारी बढाएको छ । दृश्यावलोकन र भ्रमणका लागि अनुकूल  शरद्को समयमा भएको यस किसिमको महाविपत्ति चुनौतीका रुपमा देखिएको छ ।
गत वैशाख ५ गते सगरमाथाको आधार शिविरमा १६ जनाको ज्यान जाने गरी हिमपहिरो गएको थियो । अब पर्यटकीय आकर्षण रहेका र सम्भावना भएका सबै हिमाली क्षेत्रमा मौसमको अद्यावधिक जानकारी दिने उपकरण जडान गरी त्यसबाट प्राप्त सूचनाका आधारमा पदयात्रा र पर्वतारोहण गतिविधि सञ्चालन तथा हिमाली र नदी किनाराका क्षेत्रमा मौसमपूर्व सूचक केन्द्रको स्थापना गर्न जरुरी छ ।
विश्वकै प्रख्यात पदमार्ग अन्तर्गत पर्ने अन्नपूर्ण पदमार्गको थोराङभन्ज्याङमा भएको ्घटनाले नेपालको पर्यटन विकासमा असर पुग्ने नेपाल पर्वतारोहण सङ्घ (एनएमए)का महासचिव ठाकुरराज पान्डे बताउँछन् । “अहिले घटना भएको ठाउँ संसारकै मुख्य पर्यटक भ्रमण गर्ने ठाउँ हो, धेरै हिमपातले पदमार्गको सङ्केत चिह्न पुरिएकाले रुट अनियन्त्रित हुँदा धेरै पदयात्रीले ज्यान गुमाउनु परेको छ, यो घटनाबाट पाठ सिकेर सङ्केत चिह्न लामो र अग्लो राख्नुप¥यो, त्यस्तनै महत्वपूर्ण मौसमसम्बन्धी जानकारी दिने सूचना प्रणालीको स्थापना गरिनुपर्छ” उनले भने ।
विकसित मुलुक अमेरिका, जापानलगायत देशमा पछिल्लो समय भएका घटनालाई नजिर मानेर नेपालले पनि थप सजग हुनुपर्ने बेला आएको छ । समुद्री किनारको छिमेकी देश भारतमा प्राकृतिक प्रकोपका घटना हुँदा त्यसको प्रत्यक्ष असर नेपालमा पर्ने गरेको छ, त्यसैले भारतमा भएको घटनालगत्तै नेपालले पनि बेलैमा जागरुक हुनुपर्ने अवस्था छ ।
भारतमा आएको ‘हुदहुद’ नामको सामुद्रिक आँधीको प्रभावले मुस्ताङ र मनाङको सिमाना थोराङ भन्ज्याङमा भारी हिमपातका कारण दर्जनाँै पदयात्री पर्यटकको मृत्यु भएको तथा सयौँ बेपत्ता भएका छन् । उनीहरुको खोजी तथा उद्धार जारी छ । टे«किङ एजेन्जिस एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष रमेश धमलाले जलवायु परिवर्तनको समस्याले नेपालको उच्च हिमाली क्षेत्रमा दुःखद घटना भएको हो भन्दै प्राकृतिक प्रकोपलाई कसैले रोक्न र पूर्वजानकारी पाउन नसक्ने भएकाले मौसम पूर्वानुमानसम्बन्धी सूचना प्रणाीलाई सशक्त र प्रभावकारी बनाइनुपर्नेमा जोड दिए ।
टानका अनुसार यही असोज १५ देखि २६ गतेसम्म दुई हजार आठ सय पर्यटक अन्नपूर्ण पदयात्रामा गएका छन् । घटनाको स्थलगत अवलोकन गरेर फर्किएका अध्यक्ष धमलाले मनाङको तिलिचो आधारशिवि।बाट १०० भन्दा बढीको उद्धार गरिएको तथा नार र फु गाविसबाट ३२ जना गरी मनाङबाट मात्र १५० जनाको उद्धार गरिएको जानकारी दिए ।
संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव मोहनकृष्ण सापकोटाले मुस्ताङबाट तीन जना गम्भीर घाइतेसहित आठ जनाको शव ल्याइएको र मनाङबाट १२० जनाको उद्धार गरिएको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा यस्ता प्रकृतिका घटना हुन नदिन दक्ष पथप्रदर्शक पर्याप्त रुपमा परिचालन गर्न र मौसमको सूचना दिने प्रणालीको विकास गरी थोराङ भन्ज्याङ क्षेत्रमा सुरक्षित पाटी बनाइनुपर्नेमा जोड दिए । थोराङ भन्ज्याङबाट हराइरहेकामध्ये आज थप पाँच जनाको शव फेला परेकामा हाल मुस्ताङको जोमसोममा राखिएको र मौसम प्रतिकूल भएकाले शुक्रबार मात्र काठमाडौँ ल्याइने नेपाली सेनाका सहायक प्रवक्ता महासेनानी निरञ्जन श्रेष्ठले जानकारी दिए । अस्पतालका सेनानी डा मनोज थापा नेतृत्वको चिकित्सा टोलीले घाइते पदयात्रीलाई केहीबेर सञ्चारकर्मी सँग साक्षात्कार गराएको थियो ।

Post a Comment

 
Top