0
प्रमुख राजनीतिक दलका नेताले सहमतिमा नै आगामी माघ ८ गतेभित्र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी हुने प्रतिबद्धता जनाएका छन् ।
एकीकृत नेकपा(माओवादी) समेतको २२ दलीय मोर्चाले दसँै, तिहार, नेपाल संवत्, छठलगायत विभिन्न राष्ट्रिय पर्वका अवसरमा सोमबार आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी नेताले सहमतिमा नै संविधान लेखन प्रक्रियाले पूर्णता पाउने विश्वास व्यक्त गरे । प्रमुख राजनीतिक दलबीच बाह्रबुँदे सहमतिबाट सुरु भएको सहकार्यको राजनीति नै मुलुकका लागि अपरिहार्य भएको उल्लेख गर्दै उनीहरूले हाल देखिएको असहमति पनि सहमतिमा रुपान्तरण हुने धारणा राखे ।  फरक फरक राजनीतिक दर्शन र सिद्धान्तमा आधारित भएर राजनीति गरेको भए पनि मुलुकको समग्र हित र प्रतिष्ठाका लागि पनि सहकार्य, सहमति र एकताको विकल्प नभएको उनीहरूको भनाइ थियो । चियापान समारोहमा उपस्थित प्रधानमन्त्री सुशील कोइरालाले तोकिएकै समयमा संविधान जारी हुने गरी प्रक्रिया अगाडि बढिरहेको बताए । संविधान निर्माण प्रक्रियामा सहमति, सहकार्य र एकताको विकल्प नभएकामा जोड दिँदै प्रधानमन्त्रीले सबै वर्ग तथा क्षेत्रको प्रतिनिधित्व हुने गरी सङ्घीयतासहितको संविधान जारी हुने विश्वास व्यक्त गरे । 
नेपाली काँग्रेसका सभापति समेत रहेका कोइरालाले भने–“दलीय भन्दा पनि सहमतिको संविधान जारी हुने छ ।” संविधानसभाका विभिन्न समितिले आफ्नो कार्यक्षेत्रानुसार काम गरिरहेको, दलबीच  निरन्तर संवाद जारी रहेको, सरोकार भएका विभिन्न निकायसँग पनि छलफल जारी रहेको प्रसङ्ग जोड्दै प्रधानमन्त्री कोइरालाले भने–‘‘ हाम्रो र राम्रो संविधान जारी गरी मुलुकलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढउन सबै राजनीतिक दल तयार छौँ, त्यसमा सबैको सकारात्मक सहयोगको आवश्यकता छ ।’’
नेकपा(एमाले)का नेता माधवकुमार नेपालले सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता तथा समानुपातिक प्रतिनिधित्वबाट कुनै पनि राजनीतिक दल पछाडि फर्कन नसक्ने बताउँदै समतामूलक समाज निर्माणको आधार नयाँ संविधानले दिने विश्वास व्यक्त गरे । सबै वर्ग, क्षेत्र, तह तथा तप्कालाई अधिकारसम्पन्न बनाउने महाअभियानमा कोही कसैले पनि तलमाथि गर्न नसक्ने धारणा राख्दै नेता नेपालले भने–‘‘ पहिचान र सामथ्र्यका आधारमा राज्यको पुनःसंरचना गरिन्छ, महिला, मधेसी, जनजाति सबैलाई अधिकार सम्पन्न बनाइन्छ ।’’  “सबै राजनीतिक दलले दृढ इच्छाशक्ति राख्ने हो र मुलुकको भविष्य तथा जनताको चाहनालाई आत्मसात् गर्ने हो भने माघ ८ गतेभित्र संविधान जारी हुन्छ”–उनले भने । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले विगतका सहमति र सम्झौतालाई मात्रै मनन गर्ने हो भने संविधान लेखन प्रक्रियामा कुनै पनि जटिलता उत्पन्न नहुने धारणा राखे । शान्ति सम्झौताका हस्ताक्षरकर्ता शक्तिबीच सहकार्य र  एकताको जरुरी रहेको बताउँदै उनले भने–“सबैले त्याग गर्ने हो भने जनताका सामु गरेको प्रतिबद्धताअनुसार नै माघ ८ गते संविधान जारी हुने छ ”
सबैलाई अधिकार दिनुपर्छ भन्ने मान्यता राख्ने र विगतको प्रतिबद्धतालाई आत्मसात् गर्ने हो भने संविधान निर्माणमा देखिएका जटिलता क्षणभरमा नै हल हुने उनको कथन थियो ।  आफ्नो दल र २२ दलीय मोर्चा संविधान निर्माण प्रक्रियामा हदैसम्मको लचकता अपनाउन तयार रहेको उनको भनाइ थियो । कार्यक्रममा सभामुख सुवासचन्द्र नेम्वाङ, काँग्रेसका उपसभापति रामचन्द्र पौडेल,  महामन्त्री कृष्णप्रसाद सिटौला र नेता एवं सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजाल, एमाले संसदीय दलका प्रमुख सचेतक अग्नि खरेल, नेकपा(माले)का महासचिव सिपी मैनाली, नेकपा(माओवादीका अध्यक्ष मोहन वैद्यलगायत विभिन्न राजनीतिक दलका नेता, यहाँस्थित कूटनीतिक नियोग, संवैधानिक अङ्ग र  सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि, मानवअधिकारवादीको सहभागिता  थियो ।

Post a Comment

 
Top