0
संविधानका अन्तरवस्तुका विषयमा सहमति जुटाउन प्रमुख तीन दलले प्रयास जारी राखेका छन् । सहमति जुटाउन बुधबार सिंहदरबारमा बसेको तीन दलको बैठकमा सहभागी संविधानसभा अध्यक्ष सुवास नेम्वाङले कार्यतालिकाअनुसार सहमतिका लागि अझै केही समय बाँकी रहेकाले त्यसतर्फ प्रयत्न जारी राख्नुपर्नेमा जोड दिएका थिए ।
बैठकपछि एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले छलफल चलिरहेको र सहमतिका लागि भएका प्रयासलाई भोलि बेलुकासम्म जारी राख्ने उल्लेख गर्दै त्यसपछि कसरी अघि बढ्ने भन्ने विषयमा धारणा बनाउन बाँकी रहेको बताए । त्यसैगरी एमाओवादी नेता डा बाबुराम भट्टराईले विषयवस्तुमा सहमति नहुने हो भने भोलि कुन प्रक्रियाबाट अघि बढ्ने भन्ने विषयमा सोच्नुपर्ने अवस्था आएको बताउँदै “सभामुखले सहमतिका लागि प्रयत्न गर्नुहोस् भन्नुभएको छ” भने । त्यसैगरी नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले विधि र प्रक्रियाभन्दा पनि सहमतिबाटै अघि बढ्नुपर्नेमा सभाध्यक्षले जोड दिनुभएको उल्लेख गर्दै सहमतिका लागि छलफल जारी रहेको बताए । दलहरुबीच सङ्घीयता, शासकीय स्वरुप तथा राज्य पुनः संरचनाका विषयमा सहमति बन्न नसक्दा संविधान लेखन प्रक्रिया सहजरुपमा अघि बढ्न सकेको छैन । यता, नेपाल नागरिक समाज (नेनास)ले राष्टूपति डा रामवरण यादवसँग भेट गरी तोकिएको समयभित्रै संविधान जारी गराउन राष्ट्रपतिबाट विशेष पहल होस् भनी अनुरोध गरेको छ । समाजका अध्यक्ष खेमराज रेग्मीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले राष्ट्रपतिसँग भेट गरी सबै मुख्य राष्ट्रिय पार्टीहरुले जनता समक्ष गरेको प्रतिवद्धताअनुसार संविधान जारी गराउन पहल गर्न सो अनुरोध गरेको हो ।

Post a Comment

 
Top