0

दशकौंदेखिको पोखरेली सपना अब साकार हुने भएको छ । ४० वर्ष अघि पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको चर्चा चलेपनि एका देशको कथा जस्तो बन्दै आएको थियो तर त्यसले अब भने साकार रुप लिने भएको छ । पोखरा क्षेत्रीय विमानस्थलका लागि चिनियाँ कम्पनी (सिएएमसी) र नेपाल नागरिक उड्ययन प्राधिकरण बीच भएको निर्माण सम्झौलाई नेपाल सरकारले सोमबार अनुमोदन गरेपछि विमानस्थल निर्माण हुने पक्का भएको हो । निर्माण सम्झौतासंगै विमानस्थल निर्माणको कार्य प्रारम्भ हुने भएको छ ।
सम्झौतासंगै पोखरेली जनताको सपना र विभिन्न अवरोध पार गदै साकार हुने सभाषद् रविन्द्र अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत सम्झौता भएको सार्वजनीक गरेका छन् । उनले विमानस्थलको प्रक्रियामा सहयोग गर्ने राजनीतिक दल, नागरिक समाज, उद्योगी व्यवसायी, पर्यटन ब्यवसायी, संचारकर्मी, कलाकार लगायत सवैलाई हार्दिक बधाई तथा धन्यबाद ज्ञापन गदै सम्झौता अनुमोदन भएको खुलासा गरेका छन् । सरकारले पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने निर्णय गरेपछि ४० वर्षको सपना वास्तविकतामा परिणत भएपछि पोखरेलीमा खुशी छाएको छ । ‘विमानस्थल निर्माण प्रक्रिया अगाडि बढेको छ ।’
सभाषद रविन्द्र अधिकारीले भने—‘चिनियाँ कम्पनीले बनाउने छ । लागत भने नेपाल नागरिक उडड्यन प्राधिकरणले(क्यान) तोकेभन्दा बढी र चिनियाँ कम्पनीको भन्दा कम लागतमा बन्ने छ ।’ पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंकले सहुलियत रुपमा ऋण उपलब्ध गराउने सहमति भईसकेको थियो । सभाषद अधिकारी अनुसार क्यानले १ सय ६५ मिलियन डलर प्रस्ताव गरेको थियो । चिनियाँ कम्पनीले ३ सय १५ मिलियन अनुमान गरेको थियो । चिनियाँ पक्ष र सरकार बीचको समन्वयले २ सय १६ मिलियन डलरमा गर्ने पक्कापक्की भएको उनको भनाई छ । पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकारले २०३१ सालमा ३ हजार १ सय ६ रोपनी जग्गा विमानस्थल निर्माणका लागि अधिग्रहण गरेको थियो । सरकारले दुईसय १६ मिलियन डलरमा निर्माण गर्ने प्रारम्भिक खाका तयार गरेको छ । चिनियाँ कम्पनी सिएएमसीले चासो दिदैं आएको थियो । कम्पनीले इपिसी मोडल अन्तर्गत विमानस्थल निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने छ । राजनीतिक दलहरु बीचको तनावले विमानस्थल निर्माणको काम अल्झिएको थियो । विमानस्थल निर्माणको लागि अहिले धावन मार्ग समेत निर्माण गरिएको छ । यद्यपि पुरा भने भएको छैन् । अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउन पोखराबासीले गत भदौमा रिले अनशन शुरु गरेका थिए । विभिन्न चरणमा गरिएको रिले अनशनमा दुईहजार भन्दा बढी सर्वसाधारण बसेका थिए । अनशनकै समयमा तत्कालिन माओवादी नेतृत्वको सरकार हुदाँ अन्तर्राष्ट्रिय विमानस्थलको लागि तारजाली लगाउन बजेट समेत विनियोजन भएको थियो । विनियोजित बजेटबाट तारजाली काम शुरु गरिएको थियो ।
विमानस्थल निर्माणको आन्दोलनलाई सशक्त बनाउन विभिन्न संघ संस्था र व्यक्तिबाट ८ लाख ६३ हजार सहयोग संकलन गरिएको थियो । सर्वसाधारण समेत आफैं कुटो र कोदालो लिएर पनि धावनमार्गको विरोधको आवाज गुन्जाउन जुटेका थिए । सिंहदरबार समेत घेराउ गर्न पुगेका थिए । सरकारको टोली पटक पटक चीनमा पुगेको थियो । चीनले पनि पोखरामा विमानस्थल निर्माणका लागि चासो दिईरहेको थियो ।
यसैगरी विमानस्थल निर्माण सरोकार समितिले विमानस्थल निर्माण गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने भनि मन्त्रिपरिषदले  सोमबार गरेको निर्णयलाई स्वागत गरेको छ । समितिले अबको एकमहिना भित्र विमानस्थल शिलान्यास हुने समेत विश्वास व्यक्त गरेको छ । गोल्डेन न्यूज दैनिकसंग कुरा गर्दै विमानस्थल निर्माण सरोकार समितिका संयोजक एवं पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले सरकारले सोमबार गरेको निर्णयप्रति आफूमात्र होइन समग्र पश्चिमाञ्चलवासी हर्षित भएको बताए । उनले भने–‘ढिलै भएपनि पोखरेलीको मागलाई सरकारले सुनेको छ । यसप्रति समग्र पश्चिमाञ्चलवासी हर्षित भएको छ । अबको एक महिनामा विमानस्थल शिलान्यास हुन्छ ।’ विमानस्थल निर्माणका लागि दवाव दिन सहयोग गर्ने सबैप्रति संयोजक थापाले आभार व्यक्त गर्दै भने–‘सरकारको निर्णयसंगै पोखरेली तथा समग्र पश्चिमाञ्चलवासीको जित भएको छ । विमानस्थल निर्माण संगै यस क्षेत्रमा विकासको ढोका खुल्नेछ ।’ विमानस्थल निर्माणमा अझैपनि भाँजो हाल्नेहरु निस्कन सक्ने भएकाले अझैपनि खबरदारी गरिरहनुपर्नेमा थापाले जोड दिए । उनले भने–‘विमानस्थल निर्माणमा अझैपनि सहज ढङ्गले अघि नबढ्न सक्छ, त्यसका लागि अझैपनि खबरदारी आवश्यक छ र विमानस्थल निर्माणकार्य सम्पन्न नभएसम्म खबरदारी गरिरहनुपर्छ ।’ विमानस्थल निर्माणमा सबैको भूमिका बराबर रहेको भन्दै संयोजक थापाले भने–‘एउटा रुख काट्न पहिलो चोट लगाउने र अन्तिम समयमा रुख ढाल्नेको भूमिका बराबर रहन्छ ।’
यता, पश्चिमाञ्चल बासीकै सुखद् प्रतिक्षाको विषय रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने भनि सोमबार मन्त्रिपरिषदले गरेको निर्णयप्रति नेकपा एमाले कास्कीले स्वागत गरेको छ । सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै एमालेले यसक्षेत्रकै विकास प्रेमी सम्पूर्ण जनताको निरन्तरको दवाब र पहलकदमी स्वरुप प्राप्त यस सफलतालाई सार्थक बनाउन महत्वपूर्ण भूमिका खेल्नुहुने कास्कीका राजनीतिक दलहरु राजनीतिक अगुवाहरु, मन्त्रि, सभासदहरु, नागरिक अगुवाहरु का साथै विभिन्न संघ सस्थाहरु, उद्योग वाणिज्य संघ तथा पर्यटनसंग सम्बन्धित संघ संस्थाहरु लगायत विकास प्रेमि सम्पूर्ण नागरीकहरुमा हामी हार्दिक कृतज्ञता व्यक्त गरेको छ । यस पुनित कार्यमा विगतदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्ने राजनीतिक व्यक्तित्वहरुका साथै जटिल रहेको जग्गा मुआव्जा विवाद समाधान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने तत्कालिन पर्यटन मन्त्रि एवम् विवाद समाधान गर्न गठित समिति लगायत हाल सरकारबाट गठित उच्चस्तरीय सहयोग समिति लगायत सम्पूर्ण व्यक्तित्वहरुलाई विशेष धन्यवाद दिन चाहन्छांै एमालले विज्ञप्तिमा उल्लेख गरेको छ ।

Post a Comment

 
Top