0
बंगलादेशको ढाकामा सम्पन्न हुन गइरहेको प्रथम अन्तर्राष्ट्रिय आजीविका सम्मेलन (इन्टरनेशनल करियर समिट) मा भाग लिन जाने नेपाली टोलीको मंगलबार बिदाई गरिएको छ । महेन्द्रपुल स्थित गुरुचेला, द करियर प्वाइन्टको कार्यालयमा सम्पन्न बिदाई कार्यक्रममा पोखराबाट सो सम्मेलनमा भाग लिन जाने १० जना युवाहरुको टोलीलाई विदाई गरिएको थियो ।     
कार्यक्रममा बोल्दै सम्मेलनका सहभागी मध्येका मानव अधिकार शिक्षा क्लव (रिलेक) का केन्द्रिय उपाध्यक्ष सन्तोष अधिकारी, युथ भोलेन्टियर फर चेञ्जका अध्यक्ष सुवास मल्ल र टेक्निकल भोलेन्टियर्सका अध्यक्ष बाबुराम नेपालीले कार्यक्रमलाई उपलब्धि मूलक बनाउन भूमिका खेल्ने    बताए । यही कार्तिक १४, १५ र १६ गते ढाकामा सम्पन्न हुने उक्त सम्मेलनमा युवाहरुको रोजगारी, उद्यमशिलता र शिप विकास लगायतका विविध विषयवस्तुहरुमा छलफल हुने बताइएको छ । सम्मेलनमा नेपाल लगायत ३० वटा देशहरुले सहभागिता जनाउने छन् । बंगलादेशको युनाइटेड इन्टरनेशनल युनिभर्सिटी र न्यूजिल्याण्डको कार्यक्षेत्र शिप विकास प्रतिष्ठान (डब्लुएसडिए) को संयुक्त आयोजनामा सम्मेलन सम्पन्न हुने छ । यसरी बिदाइ हुने टोलीमा अधिकारी, मल्ल र नेपालीसँगै सुजन पौडेल, हरि लम्साल, सुजन लामिछाने, दुर्गा पौडेल, विमल न्यौपाने, ईश्वर गुरुङ्ग र प्रकाश केसीले भाग लिने छन् । उक्त सम्मेलनमा पोखराको पोखरा विश्वविद्यालय, पोखरा ईञ्जिनियरिङ्ग कलेज, जनप्रिय बहुमुखी क्याम्पस, इन्फोम्याक्स कलेजका विद्यार्थीहरुसँगै विभिन्न क्षेत्रका युवाहरुले सहभागिता जनाउनेछन् । सहभागी हुने युवाहरु प्राध्यापन क्षेत्र, सामाजिक क्षेत्र, युवा तथा विद्यार्थी राजनीति क्षेत्र, युवा उद्यमी, स्वास्थ्य क्षेत्र, ईञ्जिनियरिङ्ग क्षेत्र लगायतमा कार्यरत छन् । सहभागीहरुले रिलेक नेपाल, कास्की शाखा, युथ भोलेन्टियर फर चेञ्ज र टेक्निकल भोलेन्टियर्सको प्रतिनिधित्व गर्नेछन् । कार्यक्रम नेशन शर्माको सभाध्यक्षता तथा रविन्द्र आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । टोलीलाई नेपालको झण्डा, व्यानर, खादा र अविर प्रदान गरी विदाई गरिएको थियो । गुरुचेला, द करियर प्वाइन्टको व्यवस्थापनमा यस अघि पनि गत महिना भारतको चण्डगढमा सम्पन्न अन्तर्राष्ट्रिय युवा शान्ति महोत्सवमा पोखराका चार जना युवाहरुले सहभागिता जनाएका थिए ।

Post a Comment

 
Top