0
प्रकाश सिलवाल÷
वासुदेव पौडेल
‘हरियो डाँडामाथि, हलो जोत्ने साथी, हो हो माले हो हो, हो हो तारे हो हो...’ जस्ता गाउँले भाकालाई टिपेर जनजिब्रोकै शैलीमा गाउने लोकगायक तथा लोकगीत अन्वेषक जनकविकेशरी धर्मराज थापाको भौतिक शरीर अब रहेन । नेपाली ग्रामीण जीवनका गीत गाई तिनलाई सुमधुर भाका हालेर नेपाली लोकगीतलाई राष्ट्रिय अन्तर्राष्ट्रिय बनाउन उनले खेलेको भूमिका भने अजर अमर रहिरहनेछ ।  थापाका ‘हाम्रो तेन्जिङ शेर्पाले चढ््यो हिमाल चुचुरा...’, ‘धानको बाला झुल्यो हजुर देसै रमाइलो...’, ‘आज मादल बजेको किन गाउँघर दुनियाँ ब्युँझाउन...’ ‘नेपालीले माया मा¥यो बरिलै...’ जस्ता चर्चित लोकभाकाका सयौँ गीत पाठक स्रोतामा झिजेका छन् ।
मष्तिष्काघातका कारण मंगलबार बिहान आफ्नै निवासमा निधन भएका ९२ वर्षीय थापाको भौतिक अभावले नेपाली भाषा र लोकसंस्कृतिमा चासो राख्ने जो कोही पनि यतिखेर शोकमा छन् ।  लोेकसाहित्यप्रेमी उनीप्रति श्रद्धाञ्जलिका लागि उनको निवास, कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान र पशुपति आर्यघाटमा पनि लामवद्ध देखिनाले त्यही कुराको आभास दिलाउँछ । नेपालमा गन्धर्व जातिको संस्कृतिलाई चर्चामा ल्याउने अग्रणी व्यक्तित्व थापा नेपालका ७५ वटै जिल्लाका साथै भारत प्रवासका नेपाली रहने ठाउँमा पनि नेपाली लोकसंस्कृतिलाई पु¥याउने महत्वपूर्ण प्रतिभा थिए ।
नेताका स्मृतिमा थापा ः लोेकसाहित्यप्रेमी  र स्रष्टा मात्र होइन राजनीतिक नेता र सामाजिक क्षेत्रका व्यक्ति पनि उनको त्यो योगदानको मुक्तकण्ठले स्मरण गर्छन् । प्रज्ञा (प्रतिष्ठानमा श्रद्धाञ्जलिका लागि पुगेका एकीकृत नेकपा(माओवादी)का नेता डा बाबुराम भट्टराईले जनताका भाकामा गाउने थापाले हलीगोठालाका गीत गाएर चेतना अभिवृद्धि गराएको बताए ।
थापाको पार्थिव शरीरमा पुष्पार्पण गरेपछि नेकपा (एमाले) का सचिव तथा साहित्यकार प्रदीपकुमार ज्ञवालीले नेपाली लोकसाहित्यका क्षेत्रमा मृदुभाषामा गीतको रचना गरेका थापा समग्र साहित्य जगत्कै अनुकरणीय व्यक्तित्व भएको स्मरण गरे । एमाले सभासद् रवीन्द्र अधिकारीले लोकभाकामा नेपाली जनजीवनको जीवन्त चित्रण गर्ने थापाको योगदान नेपाली लोकसाहित्यका क्षेत्रमा युगाँैसम्म जीवित रहने बताए ।
यस्तै नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले भने, “गाउँ गाउँ र टोल टोलमा नेपाली लोकभाकाका माध्यमबाट चेतना जगाउने थापाको निधनबाट अतुलनीय क्षति पुगेको छ ।” नेकपा–माओावादीका प्रवक्ता पम्फा भुसालले पनि थापाका योगदान अविष्मरणीय रहेको बताइन ।
दौँतरी र स्रष्टाका सम्झना ः
प्रज्ञा–प्रतिष्ठानका कुलपति डा गङ्गाप्रसाद उप्रेतीले थापाले नेपाली लोकसाहित्य र गायनका क्षेत्रमा विशिष्ट योगदान दिएको भन्दै उनको निधनले नेपाली वाङ्यमयका क्षेत्रमा अपूरणीय क्षति हुन गएको जनाए । पछिल्ला दशकमा थापासँगै पोखरामा सिर्जनाकर्ममा क्रियाशील नेपाल सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति सरूभक्तले लोकजनजीवनको अनुसन्धानमा पनि उनको महत्वपूर्ण योगदान गरेको बताउँछन् । “नेपाली सङ्गीत र वाङ्मय क्षेत्रका सबैभन्दा अग्लो व्यक्तित्व थापाले नेपाली भाषा र लोकसंस्कृतिको जर्गेनामा पु¥याउनुभएको योगदान नेपाली लोकवाङ्मयका लागि अतुलनीय छ ।”–सरुभक्तले भने । नेपाली समाजका वास्तविकता तथा स्वदेश तथा प्रवासमा रहेका नेपालीको पीडा तथा व्यथालाई जीवन्त रुपमा चित्रण गर्ने सरल शैलीका धनी थापा माटोअनुकूलको गीत गाउने व्यक्ति रहेको सङ्गीतनाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शम्भुजित बास्कोटाको भनाइ छ । प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला लोकसङ्गीत र संस्कृतिका उन्नायक थापा नेपाली जातीको आत्मगौरव, आत्म सम्मानका पक्षमा समाजका वास्तविकतालाई लोकभाकाका माध्यमबाट चित्रण गर्ने व्यक्तिका रुपमा रहेको बताउँछन् ।
गीतकार धनेन्द्र विमलका विचारमा गाउँ गाउँ र टोल टोलका विषयवस्तुलाई सरल भाषामा प्रस्तुत गरेका थापाले नेपाली लोकसङ्गीतका क्षेत्रमा गरेको योगदानको राष्ट्रले उच्च मूल्याङ्कन गर्नुपर्ने बताए । कवि तीर्थ श्रेष्ठ थापालाई ‘लोकसंस्कृतिका धरोहर’ रूपमा लिन्छन् । उनी सम्झन्छन्, “म २०३९ सालमा विद्यालयमा पढ्दै गर्दा थापाले त्यहाँ आएर आफ्नो नेपाल भ्रमणको गाथा र लोकसंस्कृतिका अनुभवबारे सुनाउनुभएको थियो ।” थापाले जता पुग्यो त्यही मीत लगाउने प्रचलन सुरु गरेर पनि जनताबीच हार्दिक संस्कृतिको नमूना प्रदर्शन गरेका थिए ।    
कृति र पुरस्कार ः पोखरा उपमहानगरपालिका–१६ बाटुलेचौरमा पिता हर्कबहादुर र माता मनमायाबाट विसं १९८१ साउन १ गते जन्मिएका थापाले  २०२५ सालमा मदन पुरस्कार प्राप्त गरेका थिए । उनको पहिलो रचना ‘पहाडी जीवन’ (गीतिसाहित्य, २००३) हो ।  थापाका ‘रत्नजुरेली’, ‘वनचरी’, ‘रानीपोखरी’, ‘कोसेली’, ‘कालीको लहर’, ‘तिलोत्तमाको भेल’, ‘शीतलपाटी’, ‘मिर्मिरेको रन्को’, ‘मेरो नेपाल भ्रमण’, ‘पहाडी सङ्गीत’, मङ्गलीकुसुम’, ‘गण्डकीको सुसेली’, ‘सगरमाथाको सेरोफेरो’, ‘चितवन दर्पण’, ‘दिव्य चौतारी’, ‘गोलसिमल’, ‘तनहुँका फूलबारी’, वासन्ती–वसन्त’, ‘लोकसंस्कृतिको घेरामा लमजुङ’, ‘लोकसाहित्य विवेचना’ लगायत कृति प्रकाशित छन् ।
‘लामिछाने थापाको वंशावली’, लेखनाथ शतवार्षिकी स्मारिका र ‘डाँफेचरी पत्रिका’ को सम्पादन पनि गरेका थापा महाकवि देवकोटा पुरस्कार, युगकवि सिद्धिचरण पुरस्कार, छिन्नलता पुरस्कार, जगदम्बाश्री पुरस्कार जस्तासम्मान बाट सम्मानित भएका थिए । थापाका नाममा लोकगीत सङ्गीतलाई प्रवद्र्धन गर्न धर्मराज थापा तथा सावित्री थापा प्रतिष्ठान स्थापना गरिएको छ । थापाले गीतकार एस्पी कोइरालाको ‘चिरेर हेर...’ शब्द र यम बरालको बोल तथा श्रीओम रोदनको निर्देशन रहेको गीतमा भूमिका पनि निर्वाह गरेका थिए । गोरखापत्र संस्थान, नेपाल भाषा प्रकाशिनी समिति र रेडियो नेपालको लोकसंस्कृति विभागको प्रबन्धकमा रही सेवा सुरु गरेका थापा संस्कृति विभागको महानिर्देशक सम्म बनेका थिए ।
राष्ट्रिय सम्मानका साथ अन्त्येष्टिः
थापाको राष्ट्रिय सम्मानका साथ आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो । उनको पार्थिव शरीरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दीपकचन्द्र अमात्यले राष्ट्रिय झन्डा ओढाएका थिए । उनका जेठा छोरा मदनराजले दागबत्ती दिएका थिए । यसैगरी नेपाली काँग्रेसले मंगलबार विज्ञप्ति प्रकाशन गरी लोकसङ्गीत, लोकसंस्कृति र लोकजीवनको पक्षमा सक्रिय भूमिका निर्वाह गरेका थापाले गन्धर्व संस्कृतिलाई मुलुकभर चिनाउन पनि योगदान पु¥याएको उल्लेख गरेको छ  । काँग्रेसका मुख्य सचिव ऋषिकेश तिवारीले जारी गरेको विज्ञप्तिमा लोकसाहित्यको श्रीवृद्धिमा उनले महत्वपूर्ण योगदान पु¥याएको जनाइएको छ ।

Post a Comment

 
Top