0
संविधान निर्माणको विषयमा सहमति जुटाउन तय गरिएको सर्वपक्षीय राजनीतिक सम्मेलन अन्तिम समयमा आएर रद्द भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा–माओवादीसहित प्रमुख तीन राजनीतिक दलको बैठकमा सम्मेलनको मागकर्ता माओवादीले शान्ति प्रक्रिया, राष्ट्रिय सहमति र राष्ट्रिय सम्मेलनको एजेन्डा तय गर्नुपर्ने माग गरेको थियो । माओवादी आफूसहित ३३ दलीय मोर्चाको बैठकमा सम्मेलन बारे औपचारिक निर्णय गरेर आउने भन्दै बैठकबाट उठेको बताइएको छ ।
संविधानसभा निर्वाचन बहिस्कार गरेर संविधान निर्माण प्रक्रियामा सहभागी नभएको नेकपा–माओवादीकै मागअनुसार सरकारले मंगलबारका लागि सर्वपक्षीय राजनीतिक सम्मेलन गर्दा पनि स्थगन हुन पुग्यो । सम्मेलनको तयारीसमेत अन्तिम चरणमा पुगेको थियो । कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिलामन्त्री नरहरि आचार्यले सम्मेलनको आवश्यक तयारी गरिरहेका थिए । संविधान सभा भवनमा रहेको ल्होत्से कक्षमा सम्मेलनको तुल टाँसेर आवश्यक भौतिक तयारीसमेत भइसकेको थियो । तर प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन राजनीतिक दल र माओवादीको संयुक्त बैठकमा सहमति हुन नसकेपछि सम्मेलन एकाएक भाँडिन पुग्यो । सम्मेलनका लागि बिहान ९ बजेको समय तोकिएको थियो । नेताहरूको अभिव्यक्ति हेर्दा सम्मेलन भाँड्नामा एक अर्काप्रति दोष लगाइएको छ । सम्मेलन भाँडिएपछि अब के हुन्छ भन्नेबारेमा पनि काँग्रेस, एमाले र नेकपा–माओवादीको फरक फरक  धारणा सार्वजनिक भएको छ । सरकारमा रहेका दलका नेताले संविधान निर्माणको महत्वपूर्ण मौका ‘वैद्यजीहरूले गुमाएको’ अभिव्यक्ति दिएका छन् ।
नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लामो तयारी गरेर अन्तिम समयमा आएर सम्मेलन स्थगन हुनु राम्रो नभएको बताउँदैै संविधान निर्माणको काम अब कार्यतालिकाअनुसार अगाडि बढ्ने जानकारी दिए । उनले भने, ‘‘वैद्यजीहरूले सुवर्ण मौका गुमाउनुभयो, संविधानसभामा रहेका दलले अब कार्यतालिकाअनुसार नै अगाडि बढ्नुपर्छ ।’’     माओवादीका उपाध्यक्ष सिपी गजुरेलले भने सम्मेलन आजका लागि स्थगन भए पनि चारदलीय कार्यदलको बैठक बसेर सहमति खोज्ने प्रयास भने जारी रहने बताए छ । माओवादी केन्द्रीय कार्यालय बुद्धनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर उनले निर्णय गर्न सक्ने सम्मेलनको पक्षमा आफूहरू रहे पनि काँग्रेस एमाले त्यसको पक्षमा नभएको आरोप लगाए ।
‘‘शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने र संविधान निर्माणमा आधारभूत सहमति खोज्ने उद्देश्यका साथ आयोजना गरिएको सम्मेलन लाई कुनै पनि निर्णय गर्ने र सहमति जुटाउने अधिकार नभएपछि सम्मेलनको औचित्य रहँदैन’’ उपाध्यक्ष गजुरेलको भनाइ छ । एमाओवादी नेताहरूले भने माओवादीलाई कुनै आरोप लगाएका छैनन् । तर सभामा सहभागी नहुनुलाई भने गल्ती भएको बताएका छन् । संविधानसभा भवन नयाँ बानेश्वरमा संवाददाता सँग कुरा गर्दै एमाओवादी संसदीय दलका सचेतक गिरिराजमणि पोखरेलले भने‘‘–कुन विषयमा असहमति हो, सहमति कायम गर्नका लागि कस्तो उपाय अबलम्बन गर्नुपर्ने हो भन्ने कुरा यही सभामा आएर राखेको भए राम्रो हुन्थ्यो, सम्मेलन बहिष्कार गरेर उहाँहरूले गल्ती गर्नुभयो ।’’
संविधानसभा माग गरेर लामो समय युद्ध गरेको शक्ति नै संविधानसभाबाट संविधान निर्माण प्रक्रियामा सहभागी नहुनु गलत भएको बताउँदै काँग्रेस उपसभापति रामचन्द्र पौडेलले भने ‘‘संविधानसभा र गोलमेच सम्मेलन बहाना मात्र हो कि भन्ने कुरा घटनाक्रमले पुष्टि गरेको छ, संविधान निर्माणको प्रक्रियाबाट माओवादी भागेको छ ।’’ शान्ति तथा पुनः निर्माण मन्त्रालयको समेत कार्यभार सम्हलेका कानुनमन्त्री नरहरि आचार्यले माओवादीको मागअनुसार सर्वदलीय राजनीतिक सभा गर्न चार दलको कार्यदलले विषयवस्तु र कार्यसूची तयार गरे पनि माओवादी अन्तिम समयमा सभामा सहभागी नहुनाले आशङ्का उत्पन्न भएको बताए । उनले भने–‘‘सर्वदलीय राजनीतिक सम्मेलन गर्न उहाँहरूसमेत सम्मिलित कार्यदलले बैठकको खाका तयार पारेको थियो, तर आज बैठकमा नआउनु उहाँहरूको कमजोरी हो ।’’ नेकपा–माओवादी संविधान निर्माणको प्रक्रियाबाट बहाना झिेकर भाग्न खोजेको उनको थप कथन थियो । यसैबीच प्रधानमन्त्री सुशील कोइरालाले नेकपा–माओवादीको अनुपस्थितिका कारण सर्वदलीय राष्ट्रिय राजनीतिक सम्मेलन एकाएक स्थगन हुनु दुःखद भएको बताएका छन् । मङ्गलबार अपराह्न सर्वदलीय राष्ट्रिय राजनीतिक सम्मेलनस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सहभागी हुन उपस्थित भएका अन्य दलका नेतालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री कोइरालाले सो कुरा बताए ।
सरकारले आयोजना गरेको सो सम्मेलन स्थगन भएको निर्णय सुनाउनुअघि सम्मेलनस्थलबाटै प्रधानमन्त्री कोइरालाले नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यलाई टेलिफोन सम्पर्क गर्दा अध्यक्ष वैद्यले पार्टीको केन्द्रीय समितिले सर्वदलीय राजनीतिक सम्मेलनमा सहभागी नहुने निर्णय गरेको जानकारी गराएका थिए ।
प्रधानमन्त्री कोइरालाले वैद्यसँगको संवादका क्रममा सम्मेलनमा आएर आफ्ना कुरा राख्न अनुरोध गर्दै राजनीतिक र संवैधानिक सङ्क्रमणलाई टुङ्गोमा पु¥याउन राजनीतिक संवाद, सहमति, एकता र मेलमिलापको झन् बढी खाँचो रहेको बताएका थिए । अन्य राजनीतिक दलले पनि आफ्नै मागअनुरुप आफ्नै संलग्नतामा निर्धारण गरेको विधिअन्तर्गत आयोजना भएको सम्मेलनमा अनुपस्थित हुने नेकपा–माओवादी नेतृत्वको मोर्चाको निर्णय आश्चर्यजनक भनेका छन् । आजको बैठकमा तोकिएको समयमा उपस्थित नभएपछि सरकारले माओवादीलाई पटक–पटक सम्पर्क गर्दा आधा घन्टा, १५ मिनेट हुँदै पाँच मिनेटसम्म धैर्य गरी प्रतीक्षा गर्ने अनुरोध आएको र समय व्यतित भएपछि प्रधानमन्त्री कोइरालालाई अध्यक्ष वैद्यले आफ्नो पार्टी र मोर्चाले सम्मेलनमा सहभागिता नजनाउने निर्णय गरेको जानकारी गराएका  थिए ।

Post a Comment

 
Top