0
दोस्रो ज्ञानुबाबा कप सेभेन ए साइड फुटबल प्रतियोगिता अन्तर्गत मंगलरबाट प्रि–क्वाटर फाइनलका खेलहरु हुने भएका छन् । कास्कीमा रहेका निजी तथा आवासीय विद्यालयका शिक्षकहरु बीच एक आपसमा आत्मीयता र मित्रता कायम गर्ने उद्देश्यका साथ ज्ञानुबाबा आवासीय उच्च मावि, मिरुवाको आयोजनामा सो प्रतियोगिता आयोजना गरिएको हो । सोमवार भएको पहिलो खेलमा मर्निङ स्टारलाई हराउदै पोखरा एकेडेमी अघिल्लो चरणमा प्रवेश गरेको छ ।  दोस्रो खेलमा शान्ति निकुञ्जले पेनाल्टी सुट आउटमा ३–२ ले रेन्बो एकेडेमीलाई पराजित गर्दै शान्ति निकुञ्ज प्रि–क्वाटर फाइनलमा प्रवेश गरेको छ ।  कास्की मोडनाइज्ड र डिज्नील्याण्ड बीच भएको तेस्रो खेलमा कास्की मोडनाइज्ड विजयी भयो । कास्की मोडनाइज्डले ३ र डिज्नील्याण्डले कुनै पनि गोल गर्न सकेन । चौथो खेलमा  विन्देश्वरीले प्रतिभालाई ६–० ले हराउँदै विन्देश्वरी अघिल्लो चरणमा प्रवेश गरेको छ । ज्ञानज्योती र त्रिगादीबीचको खेलमा त्रिगादीले ३–१ ले विजयी भयो । 
पृथ्वीनारायण क्याम्पसको खेलमैदानमा जारी प्रतियोगिता १० गतेसम्म सञ्चालन हुने प्राचार्य दिनेश अर्यालले जानकारी दिए । प्रतियोगितमा प्रथम हुनेले नगद २० हजार साथमा ट्रफि र मेडल, द्धितीय हुनेले नगद १० हजार, ट्रफि र मेडल प्राप्त गर्नेछन् । यसैगरि उत्कृष्ट खेलाडी, उत्कृष्ट स्टाइकर, गोलकिपरलाई आकर्षक उपहारको व्यवस्था गरिएको अतिरिक्त क्रियाकलाप प्रमुख बाबुराम सुवेदीले बताए । नेपालीहरुको महान पर्व विजयादशमीको अवसरमा आयोजित प्रतियोगितामा  ४४ वटा समुहको सहभागिता रहेको छ । विद्यालयले गत वर्षदेखि प्रतियोगिता सञ्चालन गर्न थालेको हो । मंगलवार पहिलो चरणको अन्तिम खेल विहान ७ बजे थ्रिएञ्जल र सोसल पब्लिक बीच हुदै छ । दोस्रो चरणको पहिलो खेल वेलनन र रिभरडेल, दोस्रो खेल आयोजक ज्ञानुबाबा र मदरल्याण्ड उच्च मावि, तेस्रो खेल कुमुदीनी होम्स र कञ्चनजंगा बोर्डिङ र अन्तिम खेल शान्तिदिप वोर्डिङ र धौवलागिरि वोर्डिङबीच हुने आयोजकले जनाएको छ ।

Post a Comment

 
Top