0
यसवर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट एभिन्यूजकर्मी सागरराज तिमिल्सिनालाई प्रदान गरिएको छ । सोमबार सहारा एकेडेमी प्राङ्गण  दोविल्ला, पोखरा–१७ मा आयोजित एक समारोहमा तिमिल्सिनालाई उक्त पुरस्कार प्रदान गरिइएको हो । तिमिल्सिनालाई पश्चिमाञ्चल क्षेत्रीय प्रशासक एवं दिनेश थपलिया, प्रतिभा छनौट समितिका संयोजक रामकृष्ण ज्ञवाली र क्लबका अध्यक्ष वीरभद्र आचार्यले संयुक्तरुपमा नगद पुरस्कार, सम्मानपत्र, खादा, दोसल्ला, अबिर र फूलमालाले सम्मान गरेका थिए । पुरस्कारको राशि ११ हजार १ सय ११ रुपैँया रहेको छ । उक्त पुरस्कारबाट पत्रकारहरु एकराज गिरी, प्रदिप पौडेल, दिननाथ बराल, राम गुरुङ, प्रेम नारायण न्यौपाने, विनोद लामिछाने, धन बस्नेत र कुलचन्द्र न्यौपाने सम्मानित भएका थिए । सोमबार सम्मानित भएका पत्रकार तिमिल्सिनाले पोखरामारहेर १३ वर्षदेखि पत्रकारिता गर्दै आएका छन् ।
हाल एभिन्यूज टेलिभिजनमा कार्यरत तिमिल्सिनाले अनलाईन मिडिया गन्थन डटकम समेत संचालन गरेका छन् ।  कास्कीको भर्दाैरेतामागी–५ चैनपुरमा जन्मिएका उनी यसअघि समाधान दैनिक, पोखरा एफ.एम., बिग एफ.एम. लगायतमा कार्यरत थिए । यस्तै क्लबको प्रत्येक गतिविधिमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा क्लबका सदस्य यज्ञप्रसाद रिमाललाई उत्कृष्ट सदस्य पुरस्कार–२०७१ बाट सम्मान गरिएको छ । यस्तै क्लबका मानार्थ सदस्य तथा पोखरा उद्योग वाणिज्य संघको ३०औँ महाधिवेशनबाट कोषाध्यक्ष पदमा निर्वाचित दीलिपराज श्रेष्ठलाई कार्यकालको सफलताको शुभकामना गर्दै बधाई ज्ञापन गरिइएकोछ । कार्यक्रममा बोल्दै पश्चिमाञ्चल क्षेत्रीय प्रशासक थपलियाले निजी स्तरबाट क्लबले गरेको कार्यको प्रशंसा गर्दै सरकारी स्तरबाट सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले क्लबले दोविल्लामा सञ्चालन गरिरहेको सहारा एकेडेमी नदीकटानको जोखिममा रहेको हुदाँ एकेडेमीको संरक्षण गर्न भोलिबाटै जोखिमयुक्त क्षेत्रको अध्ययन अनुसन्धानका लागि टोली खटाई काम सुरु गर्ने प्रतिवद्धता समेत जनाए ।
कार्यक्रममा पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, सम्मानित व्यक्तित्व सागरराज तिमिल्सिना, पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित द्वितीय उपाध्यक्ष मिनराज काफ्ले, क्लबका सल्लाहकार परिषदका अध्यक्ष विक्रम थकाली, वरिष्ठ उपाध्यक्ष केशवराज बराल, महासचिव केशवबहादुर थापा लगायतले आ–आफ्नो भनाई राखेका थिए ।
यसैबीच सहारा क्लवको १६औं साधारण सभाले महासचिव केशवबहादुर थापाको वार्षिक कार्यप्रगति प्रतिवेदन र कोषाध्यक्ष विश्वराज बरालको आय–व्यय प्रतिवेदन पारित गरेको छ । साधारणसभाले आन्तरिक आयश्रोत वृद्धिलाई व्यापक रुपमा अघि बढाउने निर्णय गरेको छ । सहारा क्लप यसअघि ऐकेडेमी भवन निर्माणमा केन्द्रित रहेको थियो । सहारा एकेडेमी भवन निर्माण भई संचालनमा समेत आइसकेकोले एकेडेमीलाई दीगो रुपमा संचालन गर्नका लागि आयस्रोत वृद्धि गर्न विशेष ढङ्गले अघि बढ्ने साधारणसभाले निर्णय गरेको क्लवका अध्यक्ष वीरभद्र आचार्यले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । एकेडेमीलाई दीगो रुपमा संचालन गर्नका लागि क्लवले दुई करोड भन्दा बढीको महत्वाकांक्षी अक्षयकोष निर्माण एवं संचालन गरेको छ । सो अक्षयकोषलमा हाल ४० लाख भन्दा बढी रकम संकलन भैसकेको क्लवले जनाएको छ । अक्षयकोषका लागि सोमबार सम्पन्न क्लवको साधारणसभामा यूकेमा रहेका पोखरेली टेकबहादुर गुरुङले एकलाख रुपैयाँ सहयोग गरेका छन् ।
यसका साथै क्लवले यसअघि गरेका कामलाई निरन्तरता दिंदै केही नयाँ काम समेत संचालन गर्ने साधारणसभाले निर्णय गरेको छ ।  क्लवले अव गर्ने नयाँ काममा स्वास्थ्य शिविर आयोजना, विद्यालय स्तरीय फुटवल प्रतियोगिता आयोजना लगायतका कार्य गर्ने भएको छ । यसैबीच क्लवले कास्कीको अनदुडाँडामा रहेको विश्वशान्ति स्तुपा संरक्षणका लागि रु. १५ हजार पाँचसय ५५ रुपैयाँ सहयोग गर्ने भएको छ ।

Post a Comment

 
Top