0
नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले प्रजातान्त्रिक मूल्य र मान्यताका लागि लामो समयदेखि सङ्घर्षरत प्रेस जगत्ले नयाँ संविधान जारी गर्न दबाब मूलक भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् । नेपाल प्रेस युनियनको आठौंँ महाधिवेशनको शनिबार पोखरामा उद्घाटन गर्दै उनले आगामी माघ ८ गतेभित्र नयाँ संविधान जारी गर्न आज सहमति जुटाउने अन्तिम प्रयास भइरहेको जानकारी गराउँदै संविधानका विवादित विषयमा अधिकतम लचकताका साथ छलफल गरिने र सहमति हुन नसकेका विषयलाई संविधानसभामा पठाइने बताए । नेता देउवाले नेपालमा २०४६ को जनआन्दोलन पछि सञ्चारको क्षेत्रमा धेरै परिवर्तन आएको र जनशक्ति पनि बढ्दै गएको बताउँदै श्रमजीवि पत्रकारहरुले ऐन अनुरुप आफ्नो पारिश्रमिक नपाएकोमा दुःख व्यक्त गरे । उनले सरकारले श्रमजीवि पत्रकारको विषयमा गम्भीर हुनुपर्नेमा समेत जोड दिए । अर्को प्रसंगमा देउवाले संविधान निमार्णसंगै लोकतन्त्रलाई पनि स्थायित्व दिनुपर्नेमा र नेपालमा कृषिमा क्रान्तिका साथै जलश्रोतलाई सही रुपमा उपयोग गर्न सके देशमा आर्थिक क्रान्ति आउने स्पष्ट पारे ।
काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले कलमजीविको कलम सही ढङ्गले चल्यो भने मात्रै राष्ट्र प्रगतिको बाटामा लम्कने बताए । उनले संविधान निमार्णको काम टुङ्गोमा नपुगेको भएपनि अबको केही समयमा नै सबै दलका शीर्ष नेताबीच छलफल गरेर विवादित विषय टुङ्ग्याइने बताए । नेपाली कांग्रेस संविधानका लागि सधैं प्रतिवद्ध रहेको भन्दै उनले  नेपाली काग्रेस तोकेको समयमा नै नेपाली जनतालाई संविधान दिन प्रतिबद्ध रहेकाले कुनैपनि राजनीतिक खेलबाट संविधानलाई बचाउनका लागि पर्ने स्पष्ट पारे । सूचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजालले सूचना तथा प्रशारण नीति छिट्टै ल्याउन सरोकार भएकाहरुसँग छलफल थालिने बताउँदै प्रेस जगत्को दबाबबाट तोकिएकै मितिमा नयाँ संविधान जारी हुन सक्ने विश्वास व्यक्त गरे ।
अहिले संविधान निमार्णको संवेदनशील समयमा भएकोले संविधान निर्माणको समयमा सबै दलका नेताहरुले एक भएर काम गर्नुपर्नेमा उनले जोड दिंदै संविधान बनेपछि देशको सम्पूर्ण समस्या हल हुने भएकाले देशलाई समृद्धिको बाटोमा कसरी लैजाने भन्ने कुरामा ध्यान दिनु जरुरी रहेको बताए । ंसविधान निमार्णको समय भएकाले राज्यको चौथो अंग सञ्चारमाध्यमले छुट्टै खालको दवाव श्रृजना गर्नुपर्नेमा जोड दिंदै मन्त्री रिजालले सञ्चारमन्त्री भएको नाताले सञ्चार क्षेत्रमा रहेका सबै समस्यालाई समाधान गर्न आफू प्रतिबद्ध रहेको बताए । पत्रकारिताको क्षेत्रमा धेरै जनशक्ति बढ्दै गइरहेको भएपनि श्रमजीवि ऐन अनुसार पारिश्रमिक नपाउँदा बीचमा नै पलाएन हुने समस्या पनि बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै उनले प्रेस युनियनले संचारमाध्यममा भएका सबै समस्याहरुलाई समाधान गर्न तिर लाग्नुपर्नेमा जोड दिए ।
काँग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडुले मुलुक संक्रमणकालिन अवस्थाबाट गुज्रिरहेको भन्दै संविधान निमार्णका कामलाई गम्भीरताका साथ लिनुपर्नेमा जोड दिए । उनले प्रेस युनियन प्रजातन्त्रको रक्षक र प्रेसको अग्रणी नेतृत्वदायी भएकाले देशको हरेक गतिविधिमा सक्रिय भएर लाग्न आग्रह गरे । कांग्रेस नेता अर्जुननरसिंह केसीले पेशागत हकहितका लागि प्रेस गम्भीर हुनुपर्ने धारणा राखे । कार्यक्रममा प्रेस युनियनका कार्यवाहक अध्यक्ष बद्री सिग्देल, काँग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, पूर्व महामन्त्री तारानाथ रानाभाट, युनियनका केन्द्रीय उपसभापति गङ्गाधर पराजुली, नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा.महेन्द्र विष्ट, महासंघका पूर्वअध्यक्ष हरिहर विरही र  तारानाथ दाहाल, सभासद् शारदा पौडेल, क्रान्तिकारी पत्रकार सङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यसैबीच नेपाल प्रेस युनियनले स्थापना गरेको वीपी कोइराला स्मृति पत्रकारिता पुरस्कार अक्षयकोषका लागि  रासस काठमाडौंमा कार्यरत समाचारदाता एवं रासस कर्मचारी संघका अध्यक्ष राजाराम कार्कीले ५० हजार रुपैयाँ प्रदान गरेका छन् । राससमा १७ वर्षदेखि कार्यरत पत्रकार कार्कीले युनियनको पोखरामा आठौ महाधिवेशनका अवसरमा कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवालाई उक्त रकम प्रदान गरेका हुन् ।

Post a Comment

 
Top