0
वसायीले कम्पनी रजिष्ट्रार कार्यालय काठमाडौंमामात्र हुँदा निकै समस्या र सास्ती भोग्नुपरेको गुनासो गरिरहेका बेला नेपाल सरकारले देशभर नै उक्त कार्यालय संचालनमा ल्याउने तयारी गरेको छ । उद्योग मन्त्रालयको मातहतमा रहेको उक्त कार्यालय देशैभरि संचालन गर्न केहीदिन अघि बसेको मन्त्रीसहित सचिवहरुको बैठकले कम्पनी रजिष्ट्रारको कार्यालय देशका पाँच ठाउँमा संचालन गर्ने निर्णय गरेको थियो ।  उक्त निर्णय बारे जानकारी गराउँदै नवनियुक्त उद्योग मन्त्री महेश बस्नेतले कम्पनी रजिष्ट्रारको कार्यालय देशका पाँच ठाउँमा छिट्टै संचालनमा आउने बताए । मन्त्री बस्नेतले उद्योग मन्त्रालयका सचिवहरु संगको बैठकले देशका पाँच ठाउँमा कम्पनी रजिष्ट्रार कार्यालय खोल्ने निर्णय भएको र उक्त कार्यालयका लागि आवश्यक कर्मचारीको व्यवस्थाका गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
आइतबार पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत एवं बधाई कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले आफू मन्त्री भएको १० दिन देशभरका विभिन्न क्षेत्रको अध्ययन, अवलोकन भ्रमणमा रहेको, यसक्रममा आएका गुनासा, सुझाव एवं प्रतिक्रिया संकलन गरेको बताए । आफूले अध्ययन,  अवलोकन भ्रमणमा पाएका जानकारी र त्यसक्रममा आएका सुझावहरुलाई मध्यनजर गर्दै केही दिनमै मन्त्रालयले गर्ने कामको विस्तृत प्रतिवद्धता सार्वजनिक गर्ने उनले बताए । त्यसक्रममा उनले सुशिल कोइराला नेतृत्वको सरकार धेरै लामो समय नटिक्ने पनि संकेत गरे । उनले भने–‘मेरो कार्यकाल छोटो छ, यो कुरा मलाई राम्ररी थाहा छ । कार्यकाल जति भएपनि यसबीचमा केही राम्रा र महत्वपूर्ण काम अवश्य गर्नेछु । समग्र क्षेत्रले हट्नै नहुने मन्त्री थियो गयो भन्ने बन्नेछु ।’ राम्रो र महत्वपूर्ण काम गर्ने शिलशिलामा आलोचना, टीकाटिप्पणी हुने भन्दै मन्त्री बस्नेतले आफूलाई त्यस्ता गतिविधिले केही फरक नपर्ने र आफूले आटेको काम जसरी पनि पूरा गर्ने स्पष्ट पारे । उद्योगसंग सम्बन्धित काम उद्योग मन्त्रालय संगमात्र सीमित नरहेकाले खुलेर काम गर्ने वातावरण नभएको भन्दै मन्त्री बस्नेतले उद्योगको माउ मन्त्रालय बनाउन प्रत्यन्त गरिने बताए । उनले भने–‘गृह र अर्थमन्त्रालय जस्तो शक्तिशाली उद्योग मन्त्रालय छैन । सरकार निर्माणका क्रममा गृह र अर्थ मन्त्रालयको जति महत्व हुन्छ उद्योग मन्त्रालयको पनि त्यत्तिकै महत्व हुने बनाउन जरुरी छ । त्यसो हुन सकेमात्र औद्योगिक क्षेत्रमा देखिएका समस्या र उद्योगको विकास गर्न सकिन्छ ।’
सरकारका कर्मचारीहरुको ढिलासुस्ती र लापर्वाहीको उदाहरण दिंदै मन्त्री बस्नेतले उद्योग मन्त्रालय सिंहदरबारमा छ, उद्योग विभाग त्रिपुरेश्वरमा छ तर केही काम गर्नुपरे विभागबाट मन्त्रालयमा र मन्त्रालयबाट विभागमा फाइल पुग्न ३ महिना लाग्छ यस्तो अवस्थामा कसरी काम गर्न सक्निछ ? प्रश्न गर्दै उनले भने–‘कर्मचारीको यस्तो पाराले नेपालमा सुशासनको जतिनै कुरा गरेपनि केही हुनेवाला छैन, कर्मचारीहरु सच्चिन जरुरी छ ।’ नेपालमा राजनीतिक क्रान्ति सकिएको र अब आर्थिक क्रान्तिको राजनीति हुनुपर्नेमा जोड दिंदै उनले उद्योगीको सिन्डकेट, हतियारको बलमा गर्ने राजनीति, नाफा  एवं भ्रष्टचारमा लिप्त मजदूर तथा कर्मचारी रहेसम्म देशमा आर्थिक विकास हुन नसक्ने ठोकुवा गरे । सरकारद्वारा संचालित रुग्ण उद्योगहरु पुनः संचालन गर्ने पक्षमा आफू नरहेको उनले स्पष्ट पारे । सरकारको ध्यान सरकारी उद्योगमाात्रा केन्द्रित भएको र ती उद्योगमा ठूलो लगानी गरेकोमा अपत्ति प्रकट गर्दै मन्त्री बस्नेतले भने–‘सरकारद्वारा संचालित सयौं उद्योग रुग्ण छन्, तिनीहरु संचालन गर्न अरवौं रुपियाँ चाहिन्छ । सरकारले यति ठूलो रकम दिन सक्दैन । यसको पुनःसंचालन भन्दा विकल्प खोज्नु राम्रो हुन्छ ।’ देशको आर्थिक विकासमा क्रसर उद्योगको महत्वपूर्ण हिस्सा रहेको भन्दै उनले क्रसर उद्योगहरु जसरी पनि संचालन हुनुपर्नेमा जोड दिए । उनले भने–‘क्रसर उद्योग संचालन नियमावली छैनन् भने नियम बनाउने, नियम छन्, कार्यान्वयन नभए कार्यान्वयन गर्ने र कडा नियम छन् भने खुकुलो बनाउनुपर्छ, क्रसर उद्योग जसरी भएपनि संचालन हुनुपर्छ, नत्र बाटोघाटो, पुल पुलेसा, घर निर्माण लगायतका सबै काम ठप्प हुन्छन् ।’
हाल प्रतिपक्षदलहरुले संसद अवरुद्ध पार्नुको कारण बारे जानकारी गराउँदै मन्त्री बस्नेतले यसअघि भएका सम्झौता कार्यान्वयनका लागिमात्र नभई एमाओवादीले १४ हजार सहिद परिवारलाई प्रतिपरिवार दुईलाख दिनुपर्ने र आफ्ना कार्यकर्ताले कब्जा गरेका जनताका घरजग्गा स्वतः स्फूर्त रुपमा मालपोतबाट पास हुनुपर्ने भित्रिरुपमा माग राखेर संसद अवरुद्ध गरेको खुलासा गरे । साथै एमाओवादीले राखेको सो मागमा कांग्रेस सहमत पनि भएको र एमालले विरोध गरेका कारण संसद अवरुद्ध कायम रहेको स्पष्ट पारे । मन्त्री बस्नेतले आफू मन्त्री भएपछि विदेशबाट थुप्रै निम्ता आएको भन्दै पदमा रहुन्जेल विदेश नजाने, सरकारी खर्चमा हवाइजहाज पनि नचढ्ने घोषणा समेत गरे । उनले भने–‘काम गरे सबैचिज आफ्नै देशमा छ । सबै कुरा आफ्नै देशमा आउँछ, हतार गरेर विदेशको समुद्र हेर्नका लागि म विदेश जान्न ।’
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापा, निवर्तमान अध्यक्ष संजिवबहादुर कोइराला, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराम गिरी, प्रथम उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, पोउवासंघका प्रथम उपाध्यक्ष देव क्षेत्री, महासचिव रविन्सन प्रजू, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीलगायतले उद्योगी व्यवसायीको समस्या र पोखरामा निर्माण हुन लागेको विमानस्थल निर्माण सुचारु हुन नसकेकोप्रति मन्त्री बस्नेतको ध्यानाकर्षण गराएका थिए ।

Post a Comment

 
Top