0
कास्कीको हंसपुर गाविसमा गोलभेडा खेती फष्टाउँदै गएको छ । हंसपुरका करिब तीनसय परिवार गोलभेँडा खेतीमा आवद्ध रहेका छन् । केही किसानहरुले गोलभेँडा खेतीबाट आम्दानी गरिसकेका छन् भने केही आम्दानीको आशामै रहेको बताउँछन् । उनीहरुले प्लाष्टिकको घर र बाँसको टनेल बनाई व्यवसासयीक रुपमा गोलभेँडा खेती गरेका हुन् । खेतीबाट राम्रै आम्दानी हुने उनीहरुको आशा छ ।
संयुक्त राज्य अमेरीकाको यूएसआइएडी र मिचिगन स्टेट युनिभर्सिटीको आर्थिक सहयोग र इन्द्रगुफा सामुदायिक विकास प्रतिष्ठान–रामकोटको सहकार्यमा किसानहरुले गोलभेँडा खेती गर्न थालेका हुन् । कृषकलार्य विरुवा, विउ र औषधि पनि सो प्रतिष्ठानले नै उपलव्ध गराउँदै आएको छ । ‘हामीलाई विरुवा, विउ र औषधि पनि इन्द्रगुफाले नै दिएको छ’ हंसपुर–६, घडेरीका किसान पूर्ण बहादुर गुरुङ्गले भने– ‘गोलभँेडाबाट राम्रै आम्दानी हुन्छ जस्तो लागिराछ ।’ गुरुङ्गले अमिता जातको गोलभेँडा खेती गरेको पनि जानकारी दिए । खेती गरेको २ महिनाभित्रै फल खान पाइने उनको भनाई छ । घडेरीकै छलमायाँ गुरुङ्गले भने एकसय ५० किलोभन्दा बढी गोलभेँडा आफैँले उत्पादन गरेर बेचिसकेकी छिन् । शुरुको समय भएकोले टनेल निर्माण लगायतमा केही खर्च पनि लाग्ने तर एउटा टनेलबाट घरपरिवार चलाउन सकिने आम्दानी हुने गुरुङ्गले बताइन् ।
‘लागेको खर्च उठिसक्यो, अबको आम्दानी हो’ उनले भनिन्–‘दुई महिनामै टिपेर बेच्न पाइयो ।’ गुरुङ्गले उत्पादन गरेपनि बजारमूल्य पाउन नसकेकोमा दुःख व्यक्त गरिन् । उनले प्रतिकिलो रु. ४० देखि ८० सम्म मूल्यमा गोलभेँडा बेच्ने गरेको पनि बताइन् । खेती गर्ने तालिम भने उनले २ दिनमात्र लिन पाएकी थिइन् । एउटा टनेलबाट पाँच महिनासम्म फल पाइने उनको भनाई थियो । ‘हामीजस्ताले पनि गर्न सक्ने काम रैछ’ उमेरले ६० बर्ष काटिसकेकी छलमायाँले भनिन्–‘अझै यस्तै टनेल बनाउने योजना छ ।’ अर्का किसान रामजीप्रसाद सुवेदी पनि गोलभेँडा खेतीबाट खुशी छन् । पहारीलो ठाउँमा गोलभेँडा खेती राम्रो हुने उनको भनाई छ ।
इन्द्रबहादुर गुरुङ्गले पनि निकै मिहेनतका साथ भिरालो जग्गा खारेर लामो टनेल बनाएका छन् । अर्को पटकको खेती अझै राम्रोसँग गर्ने उनको सोच छ । यसैगरी, करीब तीनसय कृषक गोलभेँडा खेतीमा आवद्ध हुन थालेका छन् । उनीहरुलाई इन्द्रगुफा सामुदायिक प्रतिष्ठानले सहयोग गरिरहेको छ । आइतबार यूएसआइएडी र मिचिगन स्टेट युनिभर्सिटीबाटै प्रा.डा. माइकल डी क्याप्लोवीथ, प्रा.डा. मुरारी सुवेदी लगायतको टोली नै अवलोकनको लागि हंसपुर पुगेको थियो । उनीहरुले सबै कृषककोमा पुगी बेमौसमी गोलभेँडा खेतीको अवलोकन गरेका थिए ।
एक कार्यक्रम मार्फत उनीहरुले किसानसँग अन्तरक्रिया समेत गरे । कार्यक्रममा प्रमुख अतिथी मिचीगन स्टेट युनिभर्सिटीका प्रा.डा. माइकल डी क्याप्लोवीथले आफूले नेपालमा आएर सहयोग गर्ने अवसर पाएकोमा खुशी व्यक्त गरे । हंसपुरकै रामकोट उच्च माध्यमिक विद्यालयमा पनि विभिन्न काममा आर्थिक सहयोग समेत गर्दै आइरहेका उनले बालबालिकाको भविष्य उज्वल बनाउने आफूहरुको दायित्व रहेको बताए । आफूहरुलाई नेपालमा सहयोग गराउन प्रा.डा. मुरारी सुवेदीको पहल रहेको पनि उनले सोहि अवसरमा खुलाए ।
कार्यक्रममा हंसपुरमै जन्मिएका र हाल अमेरीकाको मिचिगन स्टेट युनिभर्सिटीका प्रा.डा. मुरारी सुवेदीले आपूmहरुले शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको क्षेत्रमा सहयोग गर्दै आइरहेको बताए । रामकोट उच्च माविमा भवन निर्माण, शैक्षिक स्तर उन्नति लगायतमा पनि महत्वपूर्ण सहयोग गर्दै आइरहेका सुवेदीले हंसपुरको विकासमा निकै पहल गर्दै आइरहेका छन् । आफू जहाँ रहेपनि आफ्नो ठाउँलाई माया गरिराख्ने उनको भनाई छ । कार्यक्रममा वनतथा कृषि विश्वविद्यालयका डा. कैलाशनाथ प्याकुरेल, रेक्टर डा. सूर्यकान्त घिमिरे, प्रा.डा. नब देवकोटा, नार्कका लेखा निर्देशक डा. रामबहादुर केसी, डा. दिलीप बराल, जिल्ला कृषि कार्यालय कास्कीका रमेश कोइराला, पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य दिलीप सुवेदी, हंसपुरका गाविस सचिव धर्मदत्त बराल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा उत्कृष्ट पाँच जना कृषकलाई सम्मान पनि गरिएको थियो । इन्द्रगुफा सामुदायिक विकास प्रतिष्ठानका अध्यक्ष एकबहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको संयोजन भिष्म सुवेदीले गरेका हुन् । पोखराको अमरसिंह उच्च माध्यमिक विद्यालयका शिक्षक समेत रहेका सुवेदी शिक्षणसँगै कृषिमा पनि निकै चासोका साथ लागिरहेका छन् ।

Post a Comment

 
Top