0
नेपाली कांग्रेस कास्कीका सभापति एवं संविधानसभा सदस्य यज्ञबहादुर थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको बेला संसद दिएको विचारबाट आफूहरु थप उत्साहित भएको बताएका छन् । नेपाल तरुण दल कास्कीद्वारा बिहीबार पोखरामा वि पी कोइरालाको जन्म शताब्दिको अवसरमा आयोजना गरिएको दलको संगठन विस्तार कार्यक्रममा बोल्दै थापाले मोदीको धारणाबाट लोकतन्त्रवादी उत्साहित हुनु स्वभाविक रहेतापनि सधैं भारतीय विस्तारवादको नारा उराल्ने कम्युनिष्टहरु समेत प्रभावित भएको तर्क गरे । सभासद थापाले विगत संविधानसभाले गरेका कामहरुको वर्तमानले स्वमित्व ग्रहण गरेको हुनाले संविधान निर्माणको गति दु्रतरुपमा अघि बढिरहेको जानकारी दिए । संविधान निर्माण संग–संगै तरुणहरुको शिक्षा, रोजगारी र सुरक्षामा आफू र नेपाली कांग्रेस लागिरहने बताउँदै उनले यसका लागि कास्की तरुण दलले अभियान थाल्न आग्रह समेत गरे ।
कांग्रेस नेता शुक्रराज शर्माले परिवर्तनका बाहक तरुणहरुले नैतिकता र आचरणलाई ख्याल गर्दै संगठित भई अघि बढेमा कांग्रेस तरुण दलको संरक्षण गर्न तयार रहेको बताए । नेपाल तरुण दल कास्कीका कार्यबाहक अध्यक्ष मनोज गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सभासदहरु शारदा पौडेल, विन्दा रानामगर, कांग्रेस नेताहरु खेमराज पौडेल, शोभियत अधिकारी, रामचन्द्र त्रिपाठी, जिल्ला सचिबद्वय कृष्ण केसी, युवराज कुंँवर, सहसचिव मुकुन्द ज्वाला, महाधिवेशन प्रतिनिधि गुरु बराल, कांग्रेस प्रचार विभाग सदस्य राजबहादुर गुरुङ, तरुण दलका केन्द्रिय सदस्यद्वय मुक्ति अधिकारी, ऋषि काफले, नेपाल महिला संघका केन्द्रीय सदस्य आनन्दी राणा कार्की लगायतले आ–आफ्नो भनाई राखेका थिए । कार्यक्रममा स्वागत नारायणहरि तिवारी, धन्यवाद हरि आचार्य र सञ्चालन सचिव पदम बस्ताकोटीले गरेका थिए ।

Post a Comment

 
Top