0
कास्की जिल्ला भलिबल सङ्घको आयोजनामा आगामी भदौ ५ देखि ७ गतेसम्म पोखरामा खुल्ला बीच भलिबल प्रतियोगिता हुने भएको छ । तीन दिनसम्म सञ्चालन हुने सो प्रतियोगितामा करिब ३० टीमको सहभागिता रहने पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगिताको संयोजकमा सङ्घका कोषाध्यक्ष सुनिता गुरुङ रेही छन् ।
प्रतियोगिता खुल्ला, सङ्घसंस्था र पर्यटक तथा पत्रकार गरी तीन क्याटेगोरीमा खेलाइनेछ । जसअनुसार खुल्लातर्फको विजेतालाई नगद २५ हजार, उपविजेतालाई नगद १५ हजार तथा उत्कृष्ट खेलाडीलाई कप मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। सङ्घसंस्थातर्फ विजेतालाई नगद १० हजार र खसी, उपविजेतालाई नगद पाँच हजार र बोका तथा उत्कृष्ट खेलाडीलाई लोक कुखुराको भाले पुरस्कार प्रदान गरिनेछ। पर्यटक तथा पत्रकारतर्फ विजेतालाई मेडल, प्रमाणपत्र पत्र र कक्टेल डिनर प्रदान गरिने खेल संयोजक एवं सङ्घका कोषाध्यक्ष सुनिता गुरुङले जानकारी दिइन् । प्रतियोगिता सञ्चालन गर्नको लागि सङ्घका अध्यक्ष भीम पराजुलीको अध्यक्षतामा सुनिता गुरुङ संयोजक रहेको प्रतियोगिता मूलआयोजक समिति र विभिन्न १३ वटा उपसमिति गठन गरिएको छ ।
प्रतियोगिता सम्पन्न गर्नका लागि पाँच लाख २० हजार खर्च हुने तथा पाँच लाख ९० हजार आम्दानी हुने सङ्घले अपेक्षा गरेको सङ्घका अध्यक्ष भीम पराजुलीले जानकारी दिए । कार्यक्रममा सङ्घका सल्लाहकार एवं जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी वसन्तकुमार लामाले नेपालमा बीच भलिबलको सम्भावना अत्यन्तै राम्रो भएको बताए । पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न सकिने खेल बीच भलिबल भएकोले पोखरामा यसको सम्भावना राम्रो भएको दाबी गरे । कार्यक्रममा सङ्घका सल्लाहकार लक्की कार्की, टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष नारायण सापकोटा, खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष विनोद लामिछाने, पश्चिमाञ्चल क्षेत्रीय भलिबल सङ्घका सदस्य नवीन श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । सङ्घका अध्यक्ष भीम पराजुलीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा द्वितीय उपाध्यक्ष बाबुराम केसीले स्वागत मन्तव्य तथा सहसचिव शेषकान्त शर्माले कार्यक्रम सञ्चालन गरेका थिए ।

Post a Comment

 
Top