0
उद्योगमन्त्री कर्ण बहादुर थापाले सबै यातायात व्यवसायीहरुले राष्ट्रिय हितमा महत्वपूर्ण योगदान दिने विषयमा गम्भीरतापूर्वक काम गर्नु पर्नेमा जोड दिएका छन् । पृथ्वी राजमार्ग बस व्यवसायी समितिको ४४औँ साधारणसभा तथा अधिवेशनको बुधबार पोखरामा उद्घाटन गर्दै मन्त्री थापाले  कुनैपनि देश संमृद्धि बन्नका लागि सबे क्षेत्रको योगदान महत्वपूर्ण रहने भएकाले यातायात क्षेत्रले पनि देशको विकासका लागि महत्वपूर्ण योगदान गर्नुपर्ने खाँचो औंल्याए ।  हरेक विकसित राष्ट्रको पहिचान उक्त देशको यातायातसंग पनि जोडिने भएकाले उपयुक्त नीति निर्माण गरि प्रभावकारी कार्यान्वयन गर्नका लागि सरकार र यातायात व्यवसायी हातेमाले गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिए ।  बीमा कम्पनीहरुले दुर्घटना बीमा सम्बन्धी बढी गुनासो गर्ने गरेको कुराको चर्चा गर्दै मन्त्री थापाले यात्रुको रुपमा रहेका नेपाली जनता र यातायात व्यवसायीहरु नै मारमा परिरहेकाले यस विषयमा आफू गम्भीर रहेको स्पष्ट पारे । अबको समय भनेको यातायात व्यवसायीहरुको लागि कुनै निश्चित नीति बनाएर अगाडि बढ्नुपर्ने समय भएको र यातायात व्यवसायीहरुको लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत उनले जनाएका छन् । उद्घाटन समारोहमा नेपाली कांग्रेसका तर्फबाट नेपाल यातायात मजदुर संघ कास्कीका अध्यक्ष  नेता जित बहादुर गुरुङ्गले यातायात व्यवसायीहरुले सेवा संगै नाफा खोज्नुपर्ने बताए । उनले एउटा व्यक्तिले विदेशमा दुःख गरेर कमाएको सबै लगानी यातायात व्यवसायमा खर्च गर्नु र त्यसैमार्फत देशको अर्थतन्त्र, रोजगारी र सर्वसाधारणलाई सेवा प¥याउनेक्रममा हुने सवारी दुर्घटनाले यातायात व्यवसायी गम्भीर मर्कामा पर्ने र सरकारले वेवास्ता गर्दै आएको गुनासो गरे । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कास्कीका अध्यक्ष विष्णु बहादुर खत्रीले यातायात व्यवसायले राष्ट्रका धेरै बेरोजगार युवाहरुलाई रोजगारी दिएको भएपनि सरकारबाट सधंै अपहेलित हुनुपरेको गुनासो गरे । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले यातायात व्यवसायमात्र नभएर नेपालमा हरेक व्यवसायमा निजी क्षेत्रले महत्वपूर्ण योगदान दिंदै आएको बताए । कार्यक्रममा नेपाल यातायात व्यवसायी महासङका केन्द्रीय कोषध्यक्ष सरोज सिटौला, यातायात व्यवस्था कार्यालयका प्रमुख देवीराम भण्डारी, नेकपा एमालेका नेता राजिव पहारी, एमाओवादी कास्कीका अध्यक्ष दिपक कोइराला, नेकपा–माओवादी जिल्ला कमिटी कास्कीका अध्यक्ष अर्जुन छन्त्याल, अखिल नेपाल स्वतन्त्र यातायात मजदुर संघका केन्द्रीय उपाध्यक्ष इन्द्र गौतम, नेपाल ट्रेड युनियन कांग्रेसका पश्चिमाञ्चल अध्यक्ष  मुरारी शर्मा, पृथ्वी राजमार्ग बस सञ्चालक समितिका वरिष्ठ उपाध्यक्ष विज्ञान श्रेष्ठ लगायतले आ–आफ्नो भनाई राखेका थिए ।  त्यस्तै कार्यक्रममा समितिका सचिव योगेन्द्र केसीले आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।यस समितिमार्फत हाल एक हजार १०० वटा गाडीहरू सञ्चालनमा रहेका छन् । समितिको २०७१÷७२ को अनुमानित आय रु चार करोड १४ लाख ६७ हजार ७०६ रहेको छ भने व्यय रु चार करोड तीन लाख ९३ हजार ६४१ भएको बताइन्छ ।

Post a Comment

 
Top