0
पोखरा उद्योग वाणिज्य संघको  आशन्न महाधिवेशनबाट नेतृत्वमा पुग्नका लागि अध्यक्षका प्रत्यासी विन्दु कुमार थापा र सञ्जीवबहादुर कोइरालाको चुनावी अभियान कास्की जिल्लाको विभिन्न स्थानमा जारी छ । यसपटक थापा र कोइरालाबीच सहमति हुने र अध्यक्ष पदमा निर्विरोध हुने आशा गरेका सदस्य उद्योगी व्यवसायीहरु यतिबेला पूर्व सहमतिलाई कार्यान्वयन गर्न र पोउवासंघलाई उद्योगी व्यवसायीको छाता संस्थाको रुपमा विकास गर्न आग्रह गरिरहेका छन् । चुनाव हुने दिन नजिकिंदै गएपनि अझैसम्म कोइराला र थापा बीच तथा अघिल्लो पटक सहमतिका लागि प्रयास गरेका अगुवा व्यवसायीहरुले कुनै पहल थालेका छैनन् । यसअघि भएको सहमतिमा कोइराला र थापाबीचको पारिवारिक नाता सम्बन्ध एवं पोउवासंघभित्रको एकता, सद्भावलाई समेत ध्यानमा राखि कोइरालालाई अध्यक्ष बनाउने र थापाले दिएको उम्मेदवारी फिर्ता गर्ने उल्लेख भए बमोजिम अन्तिम अवस्थामा थापाले उम्मेदवारी फिर्ता लिएर कोइरालालाई निर्विरोध हुने अवसर दिएका थिए ।
पोउवासंघका सबै जसो पूर्व अध्यक्षहरु र प्रतिष्ठित व्यवसायी एवं लायन्सका अगुवा प्रेमबहादुर श्रेष्ठ समेतको रोहबरमा गत २०६९ साल असोज ११ गते थापा र कोइराला अर्थात ज्वाइँ र जेठानबीच सहमति भएको थियो । दुवैले हस्ताक्षर गरेको संयुक्त विज्ञप्तिमा–हामी दुई अर्थात विन्दुकुमार थापा र सञ्जिवबहादुर कोइरालाले संघमा निरन्तरता र साधारण सदस्यहरुको आग्रहलाई स्वीकार गर्दै संघको एकता र पारिवारिक सौहार्दतालाई समेत ध्यानमा राखि दुईबीचको प्रतिष्पर्धा भन्दा समन्वय र सहकार्यको निरन्तरता फलदायी हुने कुरामा विश्वास व्यक्त गरेको उल्लेख छ । सहमतिपत्रमा कोइराला र थापाले विश्वासको अवस्थामा पुग्न संघका तत्कालिन अध्यक्ष कृष्णमोहन श्रेष्ठका साथै पूर्व अध्यक्षहरु र प्रतिष्ठित व्यवसायी प्रेमबहादुर श्रेष्ठ समेतले अभिभावकत्व र स्नेह प्रदान गरेका कारण उनीहरुमा तथा सम्पूर्ण परिवारजन र शुभेच्छुकहरुको शुभकामनाप्रति आभार समेत व्यक्त गरेको जनाएका छन् । पूर्व अध्यक्ष राजेन्द्र लालचनले संस्थाको गरिमा र प्रतिष्ठा गिर्न नदिन तथा व्यवसायीहरुलाई विभाजित हुन नदिने वातावरण तयार हुनुपर्ने खाँचो औंल्याए । अर्का पूर्व अध्यक्ष दीपक श्रेष्ठले पनि २९औं महाधिवेशनमा सहमतिको प्रयास गर्नेहरुले यसपटक पनि सहमति कायम गर्न पहल गर्नुपर्ने बताए ।
उनका अनुसार पूर्व अध्यक्षहरुले नै एक व्यक्ति एक कार्यकालको अवधारणा सार्वजनिक गरेकाले यसपटक पनि सोही मान्यता अनुरुप जिम्मेवारीको बाँडफाड हुनुपर्नेमा जोड दिए । तर पूर्व अध्यक्षहरु तथा प्रतिष्ठित व्यवसायीहरु बसेर मिलाउन पहल गर्न सके हितकर हुने पूर्व अध्यक्ष श्रेष्ठको भनाइ छ ।
दुवै जनाले संघको उद्देश्य प्राप्ति तथा साधारण सदस्यको हक हितको संरक्षणका लागि दुवैजना अघि बढ्ने प्रतिवद्धता व्यक्त गरिएको सहमतिपत्रमा दुई जना उम्मेदवार मध्ये विन्दुकुमार थापाले आफ्नो उम्मेदवारी फिर्ता लिने र  संघको व्यापक एकता, प्रतिष्ठाको निरन्तरता र सबैको हक हित संरक्षणका लागि एक अर्काबीच प्रतिवद्धताको आदान–प्रदान गरिएको थियो । हाल आएर पुरानो सहमतिका कारण कोइरालाले निर्विरोध अध्यक्ष बन्न पाएकोले यसपटक सोही सहमतिलाई मध्यनजर गर्दै थापालाई अध्यक्ष बनाउनुपर्ने आवाज तल्लो तहबाट माथिल्लो तहसम्म उठ्न थालेको छ । थापाको टोली व्यवसायीसंग भोट माग्न जानेक्रममा धेरै जसो सदस्य व्यवसायीले थापालाई निर्विरोध अध्यक्ष बनाइनुपर्नेमा जोड दिएका छन् । यसैक्रममा कतिपय व्यवसायीले चुनाव प्रचारका क्रममा जीत सुनिश्चित भएको भन्दै थापा र उनको समूहलाई खादा लगाएर अग्रिम बधाई समेत दिएका छन् । पोउवासंघ व्यवसायीको साझा संस्था भएकाले एक व्यक्तिले एक कार्यकालको नेतृत्व लिनुपर्नेमा जोड दिएका छन् ।
चुनावी अभियानकाक्रममा व्यवसायीको सम्मानले  आफूलाई थप उत्साह थपेको छ’ संघका प्रथम उपाध्यक्ष समेत रहेका अध्यक्ष पदका उम्मेदवार थापाले बताए । उनले सञ्जिवबहादुर कोइरालाको कार्यकाल सफल रहनुमा आफ्नो साथ रहेको जानकारी दिंदै अबको नेतृत्वका लागि सम्पूर्ण व्यवासायीहरुले आफूलाई पनि साथ दिनेमा ढुक्क रहेको बताए । े
‘समृद्ध पोखरा, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ अध्यक्षका प्रत्यासी थापा र सदस्यका १३ जना उम्मेदवारहरु घरदैलोमा पुगि सहयोगको लागि आग्रह गरिरहेका छन् । आगामी भदौ २० र २१ गते संघको ३० महाधिवेशन तथा ६०आंै साधारणसभा हँुदै छ । संघका करिव २ हजार ३ सय मतदाता रहेका छन् । थापाको समूहमा वर्तमान कोषाध्यक्ष रविन्सन प्रजुसहित पूर्व उपाध्यक्ष देव क्षेत्री र कार्यसमितिका सदस्यहरु मिनराज काफ्ले, दीलिपराज श्रेष्ठ, विन्दु कोइराला सुवेदी, प्रकाश देव पालिखे, पवन प्रजापति, इन्द्र कुँवर लगायत रहेका छन् । यसैगरि पुष्पराज पराजुली, सीता गुरुङ, गिरीधारी शर्मा र नारायण पौडेल, जनकराज पराजुली र हरिराज पन्त नयाँ उम्मेदवार छन् ।

Post a Comment

 
Top