0
कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान) कास्कीकोे सातौं साधारणसभा तथा पाँचौ अधिवेशनले गुणानीधि पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्ष चिन्तामणि बास्तोला, द्वितीय उपाध्यक्ष राजेन्द्र शर्मा, तृतीय उपाध्यक्ष युवराज पौडेल, महासचिव रुक्मागत भण्डारी ‘विश्वास’, कोषाध्यक्षमा कृष्णराज पोखरेल, सचिवमा विकास भुर्तेल, सह–कोषाध्यक्ष ईश्वरराज चालिसे चयन भए । सदस्यमा तीर्थराज सुवेदी, विश्व प्रधान, केशव लामिछाने, सेवक क्षितिज रहेका छन् । एक  वर्षकोमात्र कार्यकाल रहेको कार्यसमितिको रिक्त २ जना सदस्य पछि मनोनित गरिने संस्थाका  महासचिव रुक्मागत भण्डारी ‘विश्वास’ले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।
नवनिर्वाचित अध्यक्ष पाण्डेले आफूमा ठूलो जिम्मेवारी थपिएको र सबैको सहकार्यमा क्यान कास्कीलाई अझ प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । यसअघि साधारणसभाको उद्घाटन गर्दै क्यानका केन्द्रीय महासचिव अमृत पन्तले क्यान कास्कीलाई केन्द्रले नजिकको आँखाले हेरेको र क्यान कास्कीले गर्ने हरेक क्रियाकलापमा सहयोग गर्ने वचनबद्धता ब्यक्त गरेका थिए ।
क्यानका संस्थापक अध्यक्ष जगनबहादुर गुरुङ्गले संस्था हरेक क्रियाकलाप सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद ज्ञापन गरे । संस्थाका पूर्वअध्यक्ष इविन्द्रराज तिवारीले संस्थाको सफलताको शुभकामनासहित संस्थाको अघि अवसर तथा चुनौती दुबै रहेको औंल्याए । कार्यक्रममा महासचिव अच्युत खनियाँले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष कृष्णराज पोखरेलले आर्थिक प्रतिवेदन पेस गरेका थिए । अधिवेशनमा निर्वाचन अधिकृतका रुपमा संस्थाका निवर्तमान अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ रहेका थिए । क्यान कास्कीका अध्यक्ष चण्डीप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष गुणानीधि पाण्डेले र संचालन सचिव विश्वास भण्डारीले गरेका थिए ।

Post a Comment

 
Top