0
नेपाली नारीहरुको महानपर्व हरितालिका तीज नजिकिंदै जाँदा पोखरामा सुनको व्यापार ह्वात्तैै बढेको छ । सुन पसलमा ग्राहकको भीड लामो देखिन्छ । तीज लागेपछि दैनिक ४ किलो सुन विक्री हुने गरेको छ । अफ्सिजनमा समयमा १ देखि २ किलो सुन व्यापार हुने गरेकोमा पोखरामा अहिले दैनिक ४ किलोसम्म सुन विक्री हुने गरेको सुनचाँदी व्यवसायी सङ्घ कास्कीका सचिव निर्मल दियाली सुनारले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । प्रत्येक वर्ष तीज नजिकिंदा पोखरामा सुनको व्यापार बढ्ने गर्छ । विशेषगरी नेपाली मौलिक गहनाको विक्रीमा वृद्धि भएको दियालीले जानकारी दिए । बजारमा महिलाहरुले लगाउने चन्द्रमा, जन्तर, चन्द्रमा क्लिप, काँटा, छड्के तिलहरी, माइली तिलहरीको माग बढेको उनले बताए । गण्डकी र धवलागिरि अञ्चलमा पोखराबाटै सुनको विक्री बढी हुने गरेको छ । पोखरामा अहिले २ सय ५० सुनचाँदी पसल सञ्चालनमा छन् । गहनाको माग बढेकाले दक्ष प्राविधिकलाई काम गर्न भ्याइनभ्याइ हुने गरेको छ । यहाँ करीब १ हजार५ सय दक्ष प्राविधिक सुनचाँदी पसलमा आबद्ध रहेको सचिव दियालीले जानकारी दिए । पोखरामा नेपाली तथा भारतीय कालीगढले गहना बनाउने गरेका छन् । नेपाली कालीगढले नेपाली मौलिक पहिचानका गहना बनाउँछन् । भारतबाट आएका कालीगढले हार, मङगलसूत्र, चुरा, टप, झुम्का, झिल्लीलगायत गहना बनाउँछन् । सुनको गहना बनाउँदा कालिगढले ९९ दशमलव ५ प्रतिशत शुद्धता दिनुपर्ने दियालीले जानकारी दिए । चाडपर्वको अवसरबाहेक विवाह हुने महिनामा पनि पोखरामा सुनको व्यापार बढी हुने गरेको व्यवसायीहरू बताउँ छन् । पोखरामा सुन व्यापारको अफ सिजन साउन, पुस र चैत महिना हो ।

Post a Comment

 
Top