0
हजारांै भक्तजनको उल्लासमय सहभागिता साथ पोखरामा आयोजित बोलबम कार्यक्रम यस वर्ष सम्पन्न भएको छ । साउनको चौथो तथा अन्तिम सोमबार बैदामस्थित केदारेश्वर मन्दिर परिसर शिव भक्तजनद्वारा आराधना तथा शिवलिंगमा जल चढाउन खचाखच भरिएको थियो । अन्तिम सोमबार अन्यको तुलनामा भक्तजन टाढा–टाढाबाट पनि केदारेश्वर मन्दिर आएका थिए । बगरस्थित गाइघाटदेखि बोलबम जलयात्रामा सहभागी भक्तजन मन्दिरमा पूजाआजा तथा जल चढाउन दिउँसो अबेरसम्म पालो कुरेर बसेका थिए । बोलबम संयोजक शंकर खरालले बोलबम कार्यक्रममा हरेक वर्ष भक्तजनको आगमन बढ्दै गएको बताए । उनले कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरे । केदारेश्वर मन्दिरले यस क्षेत्रमा धार्मिक पर्यटन प्रबद्र्धनको लागि गतिलो सम्भावना बोकेको भन्दै आयोजक पक्षले सरकारी तवरबाट यसको उचित संरक्षणको चासो दिनुपर्नेमा जोड दिएको छ ।
फेवाताल किनार केदारेश्वर मन्दिरमा १२ वर्षदेखि साउन महिनामा बोलबम जलयात्रा हुँदै आएको छ । यहाँ बोलबम भित्राउनुको श्रेय पनि बोलबम समितिलाई जान्छ । जसका कारण पछिल्लो समय केदारेश्वर मन्दिर बोलबमधामको रुपमा पनि चिनिने गरेको मन्दिरका अध्यक्ष पीठाधीश डा. लेखनाथ आचार्यले बताउँछन् । ‘बोलबमको ध्वनीले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ केदारेश्वर महादेवमणि सेवाश्रम समितिले आयोजना गरेको बोलबम शिवपथ जलयात्रा नगरका विभिन्न भाग परिक्रमा गरी मन्दिरमा पुगेको थियो । ¥यालीमा सहभागी भक्तले भगवान शिवको महिमासम्बन्धी भजनकीर्तन र नाचगान गरी रमाइलो गरेका थिए ।

Post a Comment

 
Top