0
भद्रकाली ट्याक्सी इकाई समितिको आयोजना तथा ट्याक्सी व्यवसाय समिति पोखराको प्रायोजनमा पोखरामा अन्तर ट्याक्सी इकाईस्तरीय दोस्रो सेभेन–ए–साइड फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता भदौ २१ देखि २४ गतेसम्म पोखरा–१३ संगमटोल स्थित माछापोखरी खेल मैदानमा संचालन हुने समितिका सचिव पूर्ण जि.सीले जानकारी दिए । समितिका अध्यक्ष श्रीप्रसाद गुरुङका अनुसार, ट्याक्सी चालकवीच आत्मियता, सद्भाव एवं खेलकुदको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा २० वटा ट्याक्सी इकाई समितिले सहभागिता जनाउने अपेक्षा गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न झण्डै पाँच लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको छ। प्रतियोगितामा विजेता समुहलाई नगद ५६ हजार छ सय ६६ शिल्ड, मेडल, प्रमाण पत्र र उपविजेतालाई ३४ हजार चार सय ४४ शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । त्यसैगरी, उत्कृष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता, बेष्ट डिफेण्डर, बेष्ट गोलकिपर, बेष्ट स्ट्राइकर र अनुसाशित समूहलाई पनि आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि इकाई अध्यक्ष श्रीप्रसाद गुरुङको संयोजकत्वमा आयोजक समिति र विभिन्न तीन वटा उपसमितिहरु गठन गरिएको छ । जसमा पूर्ण जि.सिको संयोजकत्वमा प्रचार प्रसार, भक्तबहादुर नेपालीको संयोजकत्वमा आर्थिक र सुकदेव नेपालीको अध्यक्षतामा सुरक्षा व्यवस्थापन उपसमिति गठन गरिएको छ । प्रतियोगिताको उद्घाटन सुपटरस्टार राजेश हमालले गर्ने कार्यक्रम तय गरिएको छ ।

Post a Comment

 
Top