0
नेपाल सुन चाँदी रत्न तथा आभुषण व्यवसायी संघ कास्कीको आयोजनामा शनिबार पोखरामा नेतृत्व विकास, आयकर तथा भ्याट, गहनामा हलमार्क सम्बन्धि अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम भएको छ । पोखरामा रहेका सुन चाँदी रत्न तथा आभुषण व्यवसायीको व्यक्तित्व विकासदेखि लिएर पेशागत हितको लागि सो कार्यक्रम गरिएको हो । कार्यक्रममा पोखराका करिव एकसयजना सुन चाँदी रत्न तथा आभुषण व्यवसायीको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै नेपाल सुन चाँदी रत्न तथा आभुषण व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष रमेश महर्जनले राज्यले उपभोक्ता र व्यवसायी दुवैको हित हुने गरी सुन चाँदी सम्बन्धि कार्यविधि ल्याउनु पर्नेमा जोड दिए । उनले हल मार्किङको पुर्वाधार तयार गरेर मात्र लागु गर्नुपर्ने बताए । पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष सन्जीवबहादुर कोइरालाले पोखराका सबै व्यवसायीको हकहितमा संघले कार्य गर्ने प्रतिबद्धता जनाए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक केदार रजौरेले सुन चाँदी व्यवसाय संवेदनशिल व्यवसाय भएकाले प्रयाप्त सुरक्षा प्रदान गरिने बताए । कार्यक्रममा नाप तौल तथा गुणस्तर बिभाग पोखराका सहायक प्रमुख पवित्रा कोइराला लगायतको सहभागिता रहेको थियो ।
सुन चाँदी रत्न तथा आभुषण व्यवसाय तथा हलमार्क बिषयमा महासंघका केन्द्रिय अध्यक्ष महर्जनले, नेतृत्व विकास सम्बन्धि सञ्चारकर्मी दीपेन्द्र श्रेष्ठले र आयकर, भ्याट तथा लेखा बारेमा अडिटर नारायणप्रसाद उपाध्यायले प्रशिक्षण दिएका थिए ।
नेपाल सुन चाँदी रत्न तथा आभुषण व्यवसायी संघ कास्कीका अध्यक्ष किसान सुनारले सुन चाँदी रत्न तथा आभुषण व्यवसायीलाई पेशा गर्न सहज होस भनेर प्रशिक्षण कार्यक्रम गरिएको जानकारी दिए । संघका अध्यक्ष किसान सुनारको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सदस्य रामबहादुर बि.कले र सञ्चालन सुरेन नेपालीले गरेका थिए ।

Post a Comment

 
Top