0
मलेसियामा जारी एसिसी यु१६ प्रिमियर क्रिकेट प्रतियोगितामा आज बहराइनमाथि १८६ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको छ ।
मलेसियाको सेलाङ्गर टर्फ क्लबमा भइरहेको सो प्रतियोगिताअन्तर्गत नेपालले अबको अन्तिम खेल भदौ ४ गते बुधबार मलेसियासँग खेल्दैछ । मलेसिया पराजित गर्न सके नेपालको उपाधि चुम्ने सपना पूरा हुनेछ । यस उमेर समूहमा नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन ।
राउन रोबिन लिगका आधारमा विजेता घोषित हुने उक्त प्रतियोगितामा नेपाल ८ अङ्कका साथ शीर्ष स्थानमा छ भने मलेसिया ७ अङ्कका साथ दोस्रो स्थानमा छ ।
नेपालको यो लगातार चौथो जित हो । यसअघि भएको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई १० विकेट, दोस्रो खेल सिङ्गापुरलाई ४९ रन र तेस्रो खेल ओमनलाई १०२ रनले पराजित गरेको थियो ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ४० ओभरमा आठ विकेट गुमाउँदै २३३ रनको योगफल तयार गरेको थियो । नेपालको २३४ रनको चुनौतीलाई पच्छाएको बहराइन ४७ रनमै समेटियो । २४ दशमलव ४ ओभरमा नै नेपाली टोलीले बहराइनलाई अलआउट गराउन सफल भयो ।
नेपालको जितका लागि प्रनित थापाले सर्वाधिक ७० रनको योगदान दिए भने रवी चन्दले ३३ रन जोडे । टोलीमा सबैभन्दा कान्छो उमेरका १३ वर्षीय अनिल खरेलले आठ रन जोड्दै तीन विकेट लिए । पवन शर्राफ दुई तथा आशिष पोखरेल र रिजन ढकालले समान एक(एक विकेट लिए ।

Post a Comment

 
Top