0
केही दिनदेखि झरि र भारी वर्षाले आक्रान्त पोखराको बजारमा बुधबार एक खालको रोचक दृश्य देखियो । उक्त दृश्यले गत मंसिरमा सम्पन्न दोस्रो संविधानसभा चुनावका लागि उम्मेदवारी मनोनयन गराउन पुगेका उम्मेदवारको ¥यालीको झल्को दिन्थ्यो । दृश्यमा सबैका मुहार  हँसिलो थियो । कोही–कोही भने भोट माग्दै आफ्नो परिचय कार्ड बाँड्दै हिंडिरहेका थिए, कोही लामबद्ध भइ ब्यानर बोकेर अघि बढ्दै थिए । उक्त गतिविधिले मानौं देशमा कुनै महत्वपूर्ण निर्वाचन हुँदैछ । तर त्यो  सिंङ्गै देशको नभई पोखरेली व्यवसायीको निर्वाचन थियो । पोखरेली व्यवसायीहरुको छाता संस्था पोखरा उद्योग वाणिय संघको ३०औं महाधिवेशनका लागि मनोनयन गराउन गएका अध्यक्षका उम्मेदवार एवं संघका वर्तमान प्रथम उपाध्यक्ष विन्दुकुमार थापा समूहको दृश्य थियो त्यो । वर्तमान अध्यक्ष सञ्जिब बहादुर कोइराला  समूहले मंगलबार नै उम्मेदवारी दर्ता गराएको भएपनि थापाले भने बुधबार मात्रै उम्मेदवारी मनोनयन गराए । थापाको समूहले बुधबार एकैपटक निर्वाचन समितिको सचिवालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी मनोनयन गर्नु अघि थापाको समूह  समर्थक सहित न्यूरोडबाट चिप्लेढुङगा, महेन्द्रपुल, पालिखेचोक हुँदै पोखरा उद्योग वाणिज्य संघको सचिवालयसम्म ¥याली निकालेका थिए । ¥यालीका करिब पाँचसय व्यवसायी, समर्थक र शुभेच्छुक थिए । ¥यालीमा पूर्व अध्यक्ष कृष्णमोहन श्रेष्ठ समेत सहभागी थिए । ¥यालीकै क्रममा पूर्व अध्यक्ष श्रेष्ठले थापा समूहलाई शुभकामना दिएका थिए । उम्मेदवारी दर्ता गरेपछि आयोजित कोणसभामा बोल्दै अध्यक्षका प्रत्यासी विन्दुकुमार थापाले आफ्नो उम्मेदवारी एक व्यक्ति एक कार्यकालका लागि भएको प्रष्ट पारे । अध्यक्ष पदमा निर्वाचित गरेको खण्डमा दुई वर्षे कार्यकाल पुरै संघलाई प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे । सो अवसरमा व्यवसायी टीका पौडेलले अग्रिम बधाई दिंदै खादा लगाएर सम्मान गरेका थिए । संघको तत्कालीन अध्यक्ष रमेश कर्मचार्यको समयदेखि पोखरा उद्योग वाणिज्य संघमा एक व्यक्ति एक नेतृत्वको आवाज उठ्दै आएको छ । कर्मचार्यले सोहि नाराका साथ एक दशक अघि चुनाव जितेका थिए ।
नाताले संघका वर्तमान अध्यक्ष कोइराला र विन्दुकुमार थापा ज्वाँइ जेठान हुन् । संघको प्रथम उपाध्यक्ष भएर दुई पटक जिम्मेवारी सम्हालिसकेका थापाले २९औं महाधिवेशनमा पारिवारिक दबाबका कारण संघको नेतृत्व अन्तिम समयमा ज्वाँइलाई समर्थन गरेका थिए । उम्मेदवारीको अन्तिम नामावाली प्रकाशन पश्चात् थापाले कोइरालालाई अध्यक्ष पदमा समर्थन गरेका थिए । कोइरालाले सहमति अनुसार थापालाई मनोनित सदस्यबाट ल्याएका हुन् ।
तर द्वितीय उपाध्यक्ष र उपमहासचिवमा पूर्व सहमति अनुसार पदाधिकारीमा नल्याएकाले शुरुका समयमा कोइरालासंग असतुष्टि व्यक्त गरेको थापाले बताउँदै आएका छन् । यता कोइरालाले भने आफूलाई पुरै कार्यकाल असहयोग भएकाले बाँकी काम पुरा गर्न पुनः अध्यक्षतमा उम्मेदवारी प्रस्तुत गरेको बताए ।
आगामी भदौ १३ गते ४ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने समय तोकिएको निर्वाचन समितिका संयोजक तीर्थ श्रेष्ठले जानकारी दिएका छन् । गएको चुनावमा थापाले अन्तिम समयमा आएर कोइरालालाई साथ दिएकाका थिए । भदौ २० र २१ गते संघको ३०औ महाधिवेशन तथा ६०औ साधारणसभा हुँदै छ । संघमा २ हजार २ सय ५८ मतदाता रहेका छन् । थापाको समूहमा वर्तमान कोषाध्यक्ष रविन्सन प्रजुसहित पूर्व उपाध्यक्ष देव क्षेत्री र कार्यसमितिका सदस्यहरु मिनराज काफ्ले, दीलिपराज श्रेष्ठ, विन्दु कोइराला सुवेदी, प्रकाश देव पालिखे, पवन प्रजापति छन् । यसैगरि पुष्पराज पराजुली, सीता गुरुङ, गिरीधारी शर्मा र नारायण पौडेल, जनकराज पराजुली र हरिराज पन्त नयाँ उम्मेदवार छन् ।

Post a Comment

 
Top