0
वैदेशिक रोजगारीको आकर्षक गन्तव्य मानिने दक्षिण कोरियामा रोजगारीका लागि हालसम्म २६ हजारभन्दा बढी नेपाली कामदार पुगेका छन् । वैदेशिक रोजगार विभागको रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत चौथोपटकको अवधिमा २६ हजार बढी कामदार कोरिया गएका हुन् । इपिएसले बुधबारदेखि पाँचौपटकको कोरिया भाषा परीक्षाका लागि आवेदन खुला गरेको छ । यही साउन ३१ गतेसम्म आवेदन फाराम भर्नका लागि समय तोकिएको छ । बुधबार पहिलो दिन देशभरबाट १९ हजार ५४९ जनाले आवेदन फाराम भरेको शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाले राससलाई जानकारी दिए ।
आवेदन फाराम बुझाउने कार्यलाई व्यवस्थित बनाउन खोजिएपनि अत्याधिक भिड र मौसमले साथ नदिएका कारण समस्या आएको उनले बताए । फारम व्यवस्थित गर्न मङ्गलबार राति १ बजेसम्म टोकन बाँडिएको र भोलिका लागि आज उपत्यकाका तीनवटै केन्द्रमा टोकन बाँडिएको निर्देशक बाँस्तोलाले बताए ।
इपिएस शाखाले उपत्यकामा तीन र बाहिर चार गरी सात ठाउँबाट आवेदन फारम बुझाउने व्यवस्था मिलाएको छ । आजदेखि ३१ गतेसम्म आवेदन फारम बुझाइसक्नुपर्ने छ । आवेदन फाराम शुल्कवापत प्रतिव्यक्ति २४ अमेरिकी डलर अर्थात् रु दुई हजार ३५६ लाग्ने इपिएस शाखाले जानकारी दिएको छ । उपत्यकामा एक्मी इन्जिनियरिङ कलेज सीतापाइला, ल्याबरोटरी स्कुल कीर्तिपुर र च्यासल फुटबल खेल मैदान बालकुमारीबाट आवेदन बुझाउने व्यवस्था गरिएको छ ।
त्यसैगरी, उपत्यकाबाहिर सुनसरीको धरान नगरपालिका, पोखराको विन्दवासिनी उच्च मावि बाटुलेचौर, रूपन्देहीको बुटवल प्रदर्शनीमण्डप र डडेल्धुराको कर्मचारी मिलन केन्द्रबाट आवेदन फाराम भर्न सकिनेछ ।
च्यासल फुटबल खेल मैदान बालकुमारीमा आवेदन बुझाउन लाइनमा बसेका युवाहरूबीच पटकपटक झडप भएको थियो । ती केन्द्रहरूमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । तोकिएका स्थानमा बिहानैदेखि फाराम लिनेको लामो लाइन लागेको छ । सम्बन्धित केन्द्रमा फाराम बुझाउन युवाहरू रातिदेखि नै लामबद्ध भएर बसेका थिए ।
नयाँबानेश्वरका सन्तोष अधिकारीले फाराम बुझाउनका लागि मङ्गलबार राति १० बजेदेखि बुधबार साँझसम्म १९ घण्टा लाइन बस्नुपरेको गुनासो गरे । अधिकारीको जस्तै पीडा सुनाउँदै थिए भक्तपुरका विशाल सुनुवार । भोक, निद्रा प्यास नभनी लाइन बस्दा पनि आज फाराम भर्न नपाएकामा उनी दुःखित छन् ।
यी प्रतिनिधि पात्रजस्तै हजारौँ युवाहरू कोरिया जाने सपनाका साथ २० औं घन्टा लाइन बसेर फाराम भर्ने प्रतिक्षामा छन् । लाइन बसेका बेला पटकपटक झडप भइरहेको छ । प्रहरीसँगको झडपमा थुप्रै युवाहरू सामान्य घाइतेसमेत भएका छन् । देशमा रोजगारीको भरपर्दो अवसर नभएपछि हजारौँ ऊर्जावान् युवा विदेश पलायन हुन बाध्य छन् । कोरियाको साना तथा मझौला उद्योगले गरेको एक सर्वेक्षण प्रतिवेदनअनुसार नेपाली कामदारले सरदर रु एक लाख ५० हजारदेखि तीन लाखसम्म कमाउँछन् । इपिएस शाखाका कम्प्युटर इन्जिनियर टेकबहादुर खड्काका अनुसार कोरियन भाषा परीक्षाको आवेदन फारम लिएपछि आगामी असोज १० र ११ गते दिनको दुई सिफ्ट दुई दिन परीक्षा लिइनेछ । कति सङ्ख्यामा कोरिया लैजाने भन्ने त्यतिखेरै कोटा निर्धारण गरिनेछ भने असोज २९ मा नतिजा प्रकाशन गरिनेछ ।
खेताला लगाएर परीक्षा दिने प्रवृत्ति बढेकाले त्यसलाई निरुत्साहित गर्न पहिलोपटक ह्युमन रिसोर्स डेभलपमेन्ट (एचआरडी) सर्भिस अफ कोरियाले नयाँ सफ्टवेरको प्रयोग गरी दुवै व्यक्तिको फोटो एउटै होकी हैन भनेर एकरूपता परीक्षण गरिएको शाखाका इन्जिनियर खड्काले जानकारी दिए । अघिल्लो वर्ष सन् २०१३ मा ४६ हजार ६९२ जनाले आवेदन दिएकामा आठ हजार ५१ पास भएका थिए । जसमध्ये चार हजार १०० भन्दा बढी कोरिया गइसकेका छन् । सन् २००६ मा स्थापना भएको श्रम तथा रोजगार मन्त्रालय वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले सन् २००८ बाट हरेक वर्ष कामदार पठाउँदै आएको छ ।

Post a Comment

 
Top