0

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले चलचित्र विकास वोर्डजस्तै लोक दोहोरी विकास बोर्ड गठन गर्न सरकारसंग माग गरेको छ । प्रतिष्ठानको तर्फबाट बोल्दै  केन्द्रीय अध्यक्ष चन्द्र शर्माले विभिन्न चलचित्र निर्माण भएपछि बोर्डमा दर्ता हुनुपर्ने व्यवस्था जस्तै लोक तथा दोहोरी गीत पनि लोक दोहोरी विकास बोर्डमा दर्ता हुनुपर्ने व्यवस्था भएमा अश्लिल र छाडा गीतमा नियन्त्रण हुने बताए । पोखरामा प्रतिष्ठानको गण्डकी अञ्चल शाखाको वार्षिकोत्सव एवं पत्रकार गंगाधर पराजुली सहित केही कलाकारलाई सम्मान गर्न आयोजित कार्यक्रममा उनले अश्लिल र छाडा संस्कृतिका गीतहरु अहिलेकै अवस्थामा रोक्न सक्ने क्षमता प्रतिष्ठानमा नरहेकाले विकास बोर्ड गठन गरिनुपर्ने खाँचो औंल्याए । उनले दोहोरी रेष्टुरेन्टहरुमा काम गर्ने कलाकारले उचित तलव सुविधा नपाउँदा समेत प्रतिष्ठानले बाध्यात्मक अवस्था सृजना गर्न नसकेको स्वीकार गरे । सरकारले प्रस्तुत गरेको बजेट वक्तव्यमा प्रतिष्ठानका लागि तीन लाख रुपैयाँ विनियोजन गरिएकोमा खुशी प्रकट गर्दै उनले पहिलो पटक सरकारले प्रतिष्ठानको नाममा बजेट छुट्याउन ऐतिहासिक भएको स्पष्ट पारे । अब राष्ट्रिय खेलकूद परिषदमा खेलकूदसंग सम्बन्धित संस्थाहरु जस्तै लोकदाहोरी प्रतिष्ठानलाई आवद्ध गराउन प्रयास भइरहेको उनले बताए । केन्द्रीय अध्यक्ष शर्माले पोखरामा प्रतिष्ठानका लागि जग्गा उपलव्ध हुन सके आगामी दुईवर्ष भित्रै सभाहल सहितको भवन निर्माण गर्न आफू समेत लाग्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा बोल्ने सबै जसो वक्ताहरुले पोखरा उपत्यका नगरविकास समितिले प्रतिष्ठानका लागि जग्जा उपलव्ध गराउने आश्वासन दिंदै आएको भएपनि बैठकबाट निर्णय नगर्दा समस्या भइरहेको बताएका थिए । पोखराका स्थापित कलाकार तथा प्रतिष्ठानका पूर्व अध्यक्ष एवं संरक्षक प्रजापति पराजुलीले लोक संस्कृतिको क्षेत्रमा पोखराले ऐतिहासिक काम गर्दै आएको बताए । दोहोरी साँझ रेष्टुरेन्टको स्थापनामात्र नभएर लोक भजन, तीजगीत र रत्यौलीको प्रतियोगिता गर्ने काम पनि पोखराबाटै शुरु भएको पराजुलीले जानकारी दिए । पोखरा कलाको क्षेत्रमामात्र नभइ अन्य क्षेत्रमा पनि त्यत्तिकै माथि रहेपनि काठमाडौंमा बस्नेहरुको हेपाहा प्रवृत्तिले पोखरेलीहरुले विभिन्न सुविधा र अवसरबाट वञ्चित हुनुपरेको गुनासो समेत पराजुलीले गरे । कार्यक्रममा सम्मानित पत्रकार गंगाधर पराजुलीले कला क्षेत्रमा लाग्नेहरुका लागि पनि राज्यले कुनै नीति नबनाउँदा कलाकारिता संकटमा पर्दै गएको बताए । प्रतिष्ठानका महासचिव रमेश विसीले लोक तथा दोहोरीगीतलाई व्यापारिक दृष्टिकोणलेमात्र हेर्दा आफ्नो सम्मान र संस्कृतिमा आघात पुगेको भन्दै अहिले तीजका गीत समेत रत्यौलीको जस्तो हुन लागेको बताए । लोकदोहोरी कलाकारहरु लोक संस्कृतिको सम्वाहक बन्नुपर्नेमा उनको जोड थियो । प्रतिष्ठानका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपानेले सरकारले प्रतिष्ठानलाई महत्वपूर्ण संस्थाको रुपमा हेर्न लागेकोमा खुशी प्रकट गर्दै देशका विभिन्न शाखाहरुमध्ये गण्डकी अञ्चल शाखा उत्कृष्ट स्थान ओगटेको बताए । कार्यक्रममा सिटी रेवान पोखराका अध्यक्ष केपी शर्मा पाध्याले होटल व्यवसायी र लोक तथा दोहोरी गीत कलाकारहरुबीच सहकार्य आवश्यक रहेको बताए ।
प्रतिष्ठानका गण्डकी अञ्चल अध्यक्ष जीवन दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष शंकर विरही गुरुङ, स्याङ्जा शाखा अध्यक्ष अर्जुन गैह्रे, कार्यक्रम प्रस्तोता नेत्रपाणि बाँस्तोला, युनाइटेड क्लवका अध्यक्ष हिमालय बख्रेल र प्रतिष्ठानका सचिव सुरेन्द्र गुरुङ लगायतले आ–आफ्नो भनाइ राखेका थिए । सोही कार्यक्रममा प्रतिष्ठानका गण्डकी अञ्चल महासचिव घनश्याम रिजालले संगठनको प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष माया गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन । रिजालको प्रतिवेदनमा प्रतिष्ठानले थुप्रै महत्वपूर्ण र उपलव्धिमूलक कामहरु गरेको उल्लेख छ ।


पत्रकार पराजुलीलाई लोकदोहोरी सम्मान
गोल्डेन न्यूज दैनिकको प्रकाशन संस्था सुनौलो पव्लिकेशन प्रालिका अध्यक्ष एवं सुनौलो एफएम पोखराका कार्यकारी निर्देशक गंगाधर पराजुलीलाई पोखरामा सम्मान गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीले पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै पराजुलीलाई सम्मान गरेको हो । पराजुली नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय उपसभापति समेत हुन् । बिहीबार आयोजित प्रतिष्ठानको वार्षिक साधारणसभा समारोहमा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष चन्द्र शर्माले पराजुलीलाई सम्मानपत्र प्रदान गरेका थिए भने पूर्व अध्यक्षहरु प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने र महासचिव रमेश विसी लगायतले सम्मानित व्यक्तित्व पराजुलीलाई दोशल्ला, माला, खादा र टीका लगाएर सम्मान गरेका थिए । त्यस अवसरमा बोल्दै पराजुलीले लोकदोहोरी क्षेत्रबाट पाएको सम्मानले आफूलाई पत्रकारितामा अघि बढ्न प्रेरणा मिलेको बताए । उनले कलाक्षेत्रमा लाग्नेहरुलाई राज्यले उचित सम्मान दिनुपर्ने र उपयुक्त नीति बन्नुपर्ने भन्दै कलाकारिता पेशाको गरिमा र प्रतिष्ठालाई बढाउन तथा बाँच्न सक्ने आधार सृजना गर्न कलाकारहरुले पनि दवाव दिनुपर्ने खाँचो औल्याए ।   सोही अवसरमा लोक तथा दोहोरी गीतमा उत्कृष्ट संगीत दिंदै आएका तेजेन्द्र गुरुङलाई पनि सम्मानपत्र, दोशल्ला तथा खादा र माला लगाएर सम्मान गरिएको थियो ।  प्रतिष्ठानले कार्यक्रममा अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सव पोखरामा गर्नेक्रममा उल्लेखनीय सहयोग गर्ने दुईजना कलाकारलाई पनि सम्मान गरिएको थियो ।

Post a Comment

 
Top