नेपाली चलचित्रका चर्चित नायक श्रीकृष्ण श्रेष्ठप्रति श्रद्धाञ्जलि अर्पण गर्न नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी परिसरमा ठूलो भिड लाग्यो । श्रेष्ठप्रति श्रद्धाञ्जलि अर्पण गर्न पूर्वप्रधानमन्त्री, मन्त्रिगण, विभिन्न राजनीतिक दलका नेतादेखि चर्चित कलाकार, पत्रकार एवम् हजारौँ सर्वसाधारण प्रज्ञा भवन पुगेका थिए ।श्रेष्ठप्रति श्रद्धाञ्जलि अर्पण गर्न उपप्रधानमन्त्री वामदेव गौतम, सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजाल, पूर्वप्रधानमन्त्री एवम् एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्मकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र अग्निप्रसाद सापकोटा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर जवरा, नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, नेकपा (एमाले)का नेताहरू अमृत बोहोरा, केशव बडाल पूर्वअर्थमन्त्री शङ्कर कोइरालालगायत प्रज्ञा भवन पुगेका थिए । श्रेष्ठका शुुभेच्छुक बालक, युवादेखि वृद्धसम्म श्रद्धाञ्जलि अर्पणका लागि प्रज्ञा भवन पुगेका थिए । प्रज्ञा भवनमा उपस्थित सर्वसाधारणको भिडलाई नियन्त्रण गर्न बाक्लो सङ्ख्यामा खटिएका सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो । त्यहाँ उपस्थित अधिकांशको आँखामा मलिन आँसु छाएको देखिन्थ्यो । नयाँदिल्लीस्थित गङ्गाराम अस्पतालमा आइतबार निधन भएका श्रेष्ठको शव इन्डियन एयरलाइन्सबाट सोमबार दिउँसो २ः५५ बजे काठमाडौँ ल्याइएको थियो । श्रेष्ठको पार्थिव शरिर त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि त्यहाँबाट सिनामङ्गल, तीनकुने, नयाँबानेश्वर माइतीघर सिंहदरबार, पुतलीसडक हुँदै प्रज्ञा भवनसम्म शव यात्रा गरिएको थियो ।
Post a Comment