0
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रुपमा सवारी चालक अनुमतिपत्र वितरण गर्ने कार्यमा सङ्लग्न यातायात व्यवस्था विभागका कर्मचारीसहित १६ जना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
उक्त विभागअन्तर्गतको सवारी चालक अनुमतिपत्र कार्यालय वागमतीका तत्कालीन निमित्त कार्यालय प्रमुख रामदत्त भट्ट, कम्युटर इन्जिनियर हरिश भट्ट, शाखा अधिकृतद्वय रामेश्वर अर्याल र बालकुमार खतिवडा, कम्प्युटर अधिकृत राजेश पाछै, कम्प्युटर अपरेटरहरु सञ्जीव न्यौपाने, दिलीपसिंह धामी, पुष्करचन्द्र घिमिरे र राजनबाबु रिमालले रु ५३ लाख ७८ हजार बराबरको भ्रष्टाचार गरेको देखिएकाले आयोगले मुद्दा दायर गरेको हो ।
नक्कली सवारी चालक अनुमतिपत्र बनाउन विचौलियाको काम गर्ने रमेश तामाङ, शम्शेरबहादुर थिङ, वसन्तकुमार कार्की, अमरमणि बराल, प्रभात पाठक, दधिराम सुवेदी र आङदावा शेर्पाविरुद्ध पनि मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिनुभयो ।
विभागका कर्मचारीले विगत छ महिनाको अवधिमा वितरण गरिएको ७७० थान सवारी अनुमतिपत्र वितरण गरिएकोमा प्रयोगात्मक परीक्षामा असफल भएका १९७ जनालाई यातायात व्यवस्था ऐन, २०४९ को दफा २ विपरित अनियमित तवरले उक्त अनुमतिपत्र दिइएको अनुसन्धानको क्रममा खुलेको आयोगले जनाएको छ ।
आयोगले उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) अनुसार हदैसम्मको कारबाहीको माग समेत गरेको छ । आयोगले विभिन्न मितिको प्रयोगात्मक परीक्षामा असफल भए पनि अनियमित तवरले जारी गरिएका १९७ व्यक्तिको सवारी चालक अनुमतिपत्र तत्काल रद्द गर्न पुनः विभाग पठाएको र महानगरिय टूाफिक प्रहरी महाखाशाबाट सङ्कलन भएका ३०६ थान नक्कली अनुमतिपत्र थप अनुसन्धान एवम् कारबाहीका लागि प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्युरोमा पठाएको छ । रासस

Post a Comment

 
Top