0
पोखरा उद्योग वाणिज्य संघको निर्वाचन आउन तीन सातामात्र बाँकी रहेको अवस्थामा व्यवसायीहरुको चुनाव प्रचारले तीव्रता पाएको छ । चुनावी प्रचारमा वर्तमान अध्यक्ष सञ्जीवबहादुर कोइराला र प्रथम उपाध्यक्ष विन्दुकुमार थापा पक्षका दुई समूह सक्रिय छन् । दुवै समूहका उम्मेदवारका आकांक्षीहरु यतिबेला व्यवसायीहरुको घरदैलोमा पुग्ने तथा टेलिफोन र एसएमएसबाट मत माग्नेमात्र नभएर आफ्नो परिचयपत्र आफै वा अरु मार्फत मतदाता व्यवसायी समक्ष पु¥याउनमा व्यस्त छन् । दुईवर्ष अघि कोइराला र थापाबीचमा सहमति गराएर कोइरालालाई अध्यक्ष र थापालाई सदस्यमा मनोनित गरि प्रथम उपाध्यक्ष बनाउन पहल गरेका पोउवा संघका पूर्व अध्यक्षसहितका प्रतिष्ठित व्यवसायीहरु समेत यतिबेला नेतृत्वमा सहमति गराउने प्रयासमा छन् । तर पूर्व अध्यक्षहरुमध्ये केहीले पूर्व सहमतिलाई वेवास्ता गरेको आशंका गरेको भएपनि अन्तिम अवस्थामा यसपटक पनि सहमति कायम गराउन सबै लाग्ने विश्वास अधिकांश व्यवसायीको छ । सहमति कायम नभएपनि चुनावी तयारीमा कोइराला र थापा दुवैजनाले आ–आफ्नो समूह बनाएर चुनावी अभियानलाई तीव्र पारेका छन् । प्रत्येक दिन बिहान जम्मा भइ निश्चित क्षेत्रमा घरदैलोमा जाने र बेलुका समीक्षा गरि आ–आफ्नो घरमा पुग्नेक्रमलाई उम्मेदवारहरुले निरन्तरता दिइरहेका छन् । दुवै समूह आ–आफ्नै ढङ्गबाट चुनावी प्रचारमा लागेको भएपनि व्यवसायीहरुले भने दुवै समूहबाट सक्षम, योग्य र आफ्ना हितैषीहरुलाई जिताउने भएकाले मिश्रित परिणाम आउने सम्भावनालाई नकार्न सकिन्न ।
चुनावको दिन नजिकिंदै जाँदा विभिन्न व्यवसायीका संगठनहरु समेत थापा र कोइराला भन्दै विभाजित हुन थालेका छन् । अधिकृत विक्रेतासंघ पोखराले थापाको समूहलाई समर्थन गर्ने संकेत दिएको छ भने युवा उद्यमी मञ्च नेपालको समर्थन पनि थापालाई हुने सम्भावना बढेको छ । अधिकृत विक्रेता संघ पोखराले आफ्ना दुई सदस्य प्रकाशदेव पालिखे र हरिराज पन्तलाई पोउवासंघको सदस्य पदमा जिताउन सबै किसिमको सहयोग गर्ने घोषणा गर्नु र पालिखे र पन्त दुवै जना विन्दु थापाको समूहमा लागेकोले पनि अधिकृत विक्रेता संघले अध्यक्षमा थापालाई समर्थन गर्ने संकेत गरेको छ । सोही संघमा सल्लाहकार रहेका सञ्जीव बहादुर कोइरालाको उम्मेदवारीका बारेमा  भने संघ मौन देखिनुले थापा पक्षलाई समर्थन लिने विश्वास धेरैको छ । पोखराका ठूला औद्योगिक घरानाका संचालकहरुले भने अझैसम्म अध्यक्षमा कसलाई समर्थन गर्ने भनि सार्वजनिक रुपमा मुख खोलेका छैनन् । विग हाउसेजको रुपमा स्थापित पोखराका उद्योगी व्यवसायीले अन्तिम अवस्थामामात्रै मुख खोल्ने र आफूले सहयोग गर्ने संकेत दिएका छन् । तर आफ्नो प्रभाव खोजिरहने प्रवृत्ति भएका ठूला उद्योगी व्यवसायीहरुले यसपटक पनि कोइराला र थापालाई मिलाउन सके उनीहरुको प्रभाव कायम रहने निश्चित छ । यसपटक अध्यक्षका उम्मेदवार कोइरालाले आफ्नो प्यानलमा ईश्वर कर्माचार्य, नारायण कोइराला, दीलिप सुवेदी, दामु अधिकारी, हीरा भट्टराई, राम बसेल, धनिराम बराल र बलराम पहारी, देवकृष्ण काफ्ले र अनिल सिग्देल गरी एघार जना व्यवसायीहरुलाई घर दैलो अभियानमा हिंडाएकोमा शनिबारदेखि विश्वशंकर पालिखे समेत कोइराला प्यानलमा लागेको बताइन्छ ।
अध्यक्षमा अर्का उम्मेदवार थापाको प्यानलमा देव क्षेत्री, रविन्सन प्रजू, मिनराज काफ्ले, दीलिपराज श्रेष्ठ, विन्दु कोइराला सुवेदी, प्रकाशदेव पालिखे, पवन प्रजापतिका साथै पुष्पराज पराजुली, सीता गुरुङ, जनकराज पराजुली, नारायण पौडेल, गिरिधारी शर्मा, हरिराज पन्त उम्मेदवारको रुपमा चुनावी अभियानमा लागेका छन् ।
कोइरालाको समूहमा कोइराला सहित आठजना यसअघि निर्वाचित सदस्यहरु दुईजना मनोनित गरि १० सदस्यहरु रहेका छन् भने देवकृष्ण काफ्ले र अनिल सिग्देललाई नयाँ उम्मेदवारको रुपमा ल्याइएको छ । जसअनुसार कोइराला समूहमा १२ जनामात्र उम्मेदवार देखिएका छन् । कोइरालाले कार्यसमितिमा मनोनित गरेका चार सदस्यमध्ये पहारी र बसेल यसपटक चुनावबाट सदस्य बन्ने तयारीमा लागेको भएपनि अन्य दुई जना भने कोइराला समूह भन्दा अलग छन् । त्यसमध्येका विन्दु थापा आफै अध्यक्षको उम्मेदवार बनेका छन् भने पोमनारायण श्रेष्ठले पनि थापा समूहलाई सघाउने भएका छन् ।
यसैगरी थापाको समूहमा थापासहित वर्तमान कार्यसमितिका निर्वाचित  आठजना सदस्य र छ जना नयाँ उम्मेदवार गरि १४ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । नयाँ उम्मेदवारको रुपमा चुनावी अभियानमा लागेका थापा समूहका पुष्पराज, जनकराज यसअघिको चुनावमा झिनो मतले पराजित भएका थिए । अन्य नयाँ उम्मेदवारमा सीता गुरुङ, गिरिधारी शर्मा, हरिराज पन्त र नारायण पौडेल रहेका छन् । यसरी हेर्दा वर्तमान कार्यसमितिका १९ सदस्यमध्ये कोइराला समूहमा ९ जना र थापा समूहमा १० जना स्पष्ट रुपमा विभाजित बनेका छन् । थापालाई यसपटक चुनावी प्रतिस्पर्धामा नउत्रेका पोमनारायण र एशोसिएटबाट सदस्य बनेका इन्द्र कुँवरले समेत साथ दिएकोले वर्तमान कार्यसमितिका बहुमत सदस्य थापातर्फ देखिएका छन् । कुँवर यसपटक पनि एशोसिएटबाटै उम्मेदवारी दिने तयारीमा छन् ।
आकांक्षी उम्मेदवारहरु चुनावी प्रचारमा लागिरहँदा अध्यक्षका दुइ उम्मेदवारलाई मिलाउने प्रयास समेत भइरहेको छ । अघिल्लो अधिवेशनमा थापाले छोडेका कारण कोइराला निर्विरोध अध्यक्ष बन्न पाएकोले यसपटक कोइरालाले थापालाई छोड्नुपर्ने आवाज पनि उठिरहेको छ । यसका साथै थापा र कोइरालाबीच जेठान–ज्वाइँको नाता सम्बन्ध रहेकोले अघिल्लो पटक दुवैलाई मिलाउन पहल गर्ने आफन्तहरुको समेत दवाव कोइरालामाथि पर्न थालेको छ । यसैगरी एक कार्यकाल अध्यक्ष भैसकेकोले कोइरालालाई दोस्रो कार्यकालका लागि पनि दावी गर्नु स्वभाविक नभएको भनाइ आइरहेका बेला कोइरालालाई पश्चिमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघको अध्यक्ष बनाएर नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्य बन्ने वातावरण मिलाइदिएका केही प्रतिष्ठित व्यवसायीहरुले समेत अन्तिम समयमा कोइरालालाई उम्मेदवारी फिर्ता गर्न लगाउने सम्भावना रहेको कतिपयको बुझाइ छ । तर कोइराला पक्षका एक उम्मेदवारले भने कोइराला र थापाबीचको पारिवारिक सम्बन्ध विग्रिएका कारण कोइरालाले थापालाई नछोड्ने दावी गर्दछन् । उनका अनुसार नेपाल उद्योग वाणिज्य महासंघको सदस्य बनेपछि कोइरालालाई  चुनाव अझै सहज बन्न सक्छ । कोइरालालाई अध्यक्षको उम्मेदवारीबाट फिर्ता गराउने प्रयास कतैबाट नभएको उनको भनाइ छ । कोइरालाले नेउवा महासंघको सदस्यको अवसर प्राप्त गरेपछि दाहोरो भूमिका खोज्न नहुने कतिपय व्यवसायी बताउँछ्न् । एक त पोउवासंघमा कोइरालाजी एक कार्यकाल अध्यक्ष भैसक्नुभो त्यसमाथि अब क्षेत्रीय उवासंघ र नेउवामहासंघकामे सदस्य बनेपछि फेरि पोउवासंघमा दावी गर्नु उपयुक्त छैन थापा पक्षका एक उम्मेदवारले गोल्डेन न्यूज दैनिकसंग भने । भदौ २० र २१ गते हुने संघको महाधिवेशनमा यसपटक दुई हजार तीनसय जति सदस्य व्यवसायीहरु सहभागी बन्दैछन् ।
अधिकृत विक्रेता संघ पोखराले आफ्ना दुई सदस्य प्रकाश देव पालिखे र हरिराज पन्तले पोउवासंघको सदस्यमा उम्मेदवारी दिने भएपछि दुवैलाई सबै किसिमको सहयोग गर्ने भएको छ । आइतबार अधिकृत विक्रेतासंघ पोखराको बैठकले पालिखे र पन्तलाई सम्भव भएसम्मको सहयोग गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष सुरेश अधिकारीले गोल्डेन न्यूज दैनिकलाई बताए । पालिखे यसपटक तेस्रो पटक सदस्यमा उम्मेदवार बन्दैछन् भने पन्त पहिलो पटक उम्मेदवार बन्ने भएका छन् । संघका दुई सदस्यहरुमध्ये पालिखे सानै उमेरदेखि व्यवसायिक, सामाजिक एवं शैक्षिक क्षेत्रमा क्रियाशील छन् । १६ वर्षको उमेरमा युवा वौद्ध संघको संस्थापक बनेर सामाजिक क्षेत्रमा लागेका पालिखे जनप्रिय बहुमुखी क्याम्पसमा विद्यार्थी कल्याणकारी क्लवको दुई कार्यकालसम्म अध्यक्ष र क्याम्पसको संचालक समितिको सदस्य हुँदै हाल सम्मानित संरक्षकको रुपमा कार्यरत छन् । नेपाली युवा उद्यमी मञ्च पोखराको उपाध्यक्ष समेत रहेका पालिखे पोखरा रोट्¥याक्ट क्लवको संस्थापक समेत हुन् । यस्तै उम्मेदवारी घोषणा गरेका पन्त अधिकृत विक्रेतासंघका उपाध्यक्ष तथा नेपाल वितरक महासंघका महासचिव पनि हुन् । लायन्स क्लव अफ पोखरा ग्लोवल लेकसिटीका संस्थापक अध्यक्ष रहेका उनी अन्य विभिन्न संघसंस्थामा पनि क्रियाशील छन् । पालिखे र पन्तले आइतबार केही व्यवसायी र पत्रकारहरु माझ आफूहरुको उम्मेदवारी घोषणा गर्दै पोउवासंघलाई व्यवसायीको साझा थलो बनाउन, विधान र संगठनको संरचना परिमार्जन गर्न र वस्तुगत संघहरुको भूमिकालाई अझै प्रभावकारी बनाउन आफूहरुले पहल गर्नै बताए । त्यस अवसरमा पालिखेले भने पोउवासंघमा अधिकांश सदस्यहरुलाई कुनै जिम्मेवारी नदिइने गरेका कारण आफूहरुले समेत सोचे अनुसार काम गर्न नपाएको दुःखेसो पोखे ।  

Post a Comment

 
Top