0
पोखराका पर्यटन व्यवसायीहरु र पोखरा उपत्यका नगरविकास समितिबीचको वार्ता विनानिष्कर्ष टुङ्गिएपछि पर्यटन व्यवसायीहरुले आ–आफ्ना बसहरु आ–आफ्नै कार्यालय अगाडिबाट छुटाउन थालेका छन् । पर्यटन व्यवसायीसंग परामर्श नगरी नगरविकास समितिले राष्ट्रबैंक चोकस्थित पर्यटन बसपार्कको रुपमा संचालन भइरहेको जग्गा अर्कैलाई ठेक्कामा दिएपछि पर्यटन व्यवसायी र नगरविकास समितिबीच विवाद सिर्जना भएको हो । नगरविकास समितिले प्राप्त गर्ने ठेक्का रकममा नघटाइकन पर्यटन व्यवसायी आफैले संस्थागत रुपमा उक्त बसपार्क संचालन गर्ने माग गरेको भएपनि नगरविकास समितिले ठेक्का प्रक्रिया टुङ्गिसकेको भन्दै उनीहरुलाई दिन अस्वीकार गरेपछि पटक–पटक सहमतिका लागि वार्ता हुँदै आएको थियो । वार्तामा सहभागी नाट्टा क्षेत्रीय संघ पोखराका अध्यक्ष पोमनारायण श्रेष्ठले गोल्डेन न्यूज दैनिकसंग कुरा गर्दै नगरविकास समितिका अध्यक्ष विष्णु बाँस्तोलाले दिएको आश्वासन अनरुप एकहप्तासम्म पर्यटन व्यवसायीले पर्यटन बसपार्कबाट गाडी छुटाएको तर वार्तामा कुरा नमिलेपछि बुधबारदेखिनै पर्यटक बसहरु आ–आफ्नो कार्यालय अगिाडिबाट यात्रु उठाउन बाध्य भएको बताए ।
नगरविकास समितिका अध्यक्ष बाँस्तोलाले पर्यटन बसपार्कबाट बसहरु नछुटाइ आ–आफ्नै ठाउँबाट छुटाउने गरेको भन्ने प्रसङ्गमा केही बताउन चाहेनन् तर उनले सहमति कायम गर्न भनि ठेकेदार र पर्यटन व्यवसायी दुवै पक्षलाई  वार्तामा राखेको सहमति हुन नसकेको जानकारी दिए । अब के गर्ने त ? भन्ने प्रश्नको उत्तरमा समेत बाँस्तोलाले केही बताउन चाहेनन् । नगरविकास समितिका सदस्य बजिरमान श्रेष्ठले पर्यटन बसपार्क ठेक्कामा दिइएपनि त्यहाँबाट प्राप्त हुने रकमको महत्वपूर्ण हिस्सा बसपार्कको पूर्वाधार विकासमा खर्च गर्न सकिने भएकाले विवादको विषय नबनाउन आग्रह गरेका छन् । यता, पर्यटन व्यवसायीहरु भने बसपार्क व्यवस्थित गर्न र सुविधा सम्पन्न बनाउनका लागि पर्यटन व्यवसायी संगनै सहकार्य गर्न आवश्यक रहेको बताउँछन् । वि.सं. २०६१ सालमा पनि पर्यटन बसपार्क संचालन गर्नका लागि सम्पूर्ण प्रक्रिया पूरा गरी ठेक्कामा दिइएको तर पर्यटन व्यवसायीको आग्रह अनुसार ठेक्का रद्ध गरिएका कारण यसपटक पनि त्यसै गर्दा उपयुक्त हुने उनीहरु बताउँछन् । पर्यटन व्यवसायीको संस्थालाई संचालन गर्न दिएमा बसापर्कलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन समेत पहल गरिने व्यवसायीको भनाइ छ ।

Post a Comment

 
Top