0
पोखरा र चितवनका पत्रकार बीच शुक्रबार पोखरामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ कास्की शाखाले पोखरा भ्रमणमा आएका चितवनका पत्रकारलाई स्वागत गर्दै अन्तरक्रिया कार्यक्रम भएको हो । भ्रमणमा २७ जना पत्रकार सहभागी थिए । दुइ जिल्लाको पत्रकारिता, सञ्चारमाध्यम तथा पत्रकारहरुविच आपसी सम्बन्ध कायम हुनुपर्नेमा कार्यक्रममा बोल्ने बक्ताले जोड दिएका थिए । पत्रकार महासंघ चितवनको नेतृत्वमा पत्रकारको टोली पोखरा आएको थियो । पर्यटनका हिसाबले पोखरा र चितवन देशमा राम्रो ठाउँ भएकाले विकासको लागि पनि पत्रकारले भूमिका खेल्नुपर्नेमा सो अबसरमा औंल्याईएको थियो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रुद्र भट्टले मोफसलको मिडिया र पत्रकारको हितमा केन्द्रले सक्दो कार्य गर्ने बताए । उनले पत्रकार महासंघका शाखाहरुबीच एक–आपसमा राम्रो सम्बन्ध हुनुपर्ने जोड दिए । ‘मोफसलका मिडिया र पत्रकारहरुको अवस्था कमजोर छ’ भट्टले भने,‘महासंघ केन्द्रले मोफसलको हितमा कार्य गर्ने विश्वास दिलाउदछु ।’
नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हरि पोखरेलले चितवनको पत्रकारिताको अवस्थाको जानकारी दिए । उनले महासंघको भवन निर्माणमा लागिरहेको बताए । चितवनबाट दैनिक पत्रिका ५ वटा, टिभी ६ वटा र एफएम रेडियो १२ वटा सञ्चालनमा रहेको पोखरेलको भनाई थियो । युएनडिपिको सहयोगमा द्वन्द्व रोकथाम विषयमा चितवनका पत्रकारले पोखरामा दुई दिने तालिम लिएका थिए । उनीहरु शुक्रबार चितवन फर्केका छन् । प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष गंगाधर पराजुलीले पोखराको पत्रकारिताको अवस्था बारेमा जानकारी दिएका थिए । उनले पोखरामा हाल १ दर्जनभन्दा बढि दैनिक पत्रिका, झण्डै २ दर्जन रेडियो र २ वटा टिभी सञ्चालन भएको बताए । कार्यक्रममा पश्चिमाञ्चल होटल संघका अध्यक्ष हरि शर्मा गैरे र पर्यटन व्यवसायी सुन्दर श्रेष्ठले पर्यटन विकासमा पत्रकारिताको ठूलो भूमिका भएको उल्लेख गरे ।
नेपाल पत्रकार महासंघ कास्कीका कार्याबाहक अध्यक्ष राजेन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव त्रिभुवन पौडेलले गरेका थिए । सो अवसरमा पत्रकार महासंघ कास्की शाखाको भवन निर्माण लगायतको विषयमा जानकारी गराईएको थियो ।

Post a Comment

 
Top