0

पोखरा ३ जेठ ।(गोल्डेन)
राष्ट्रिय अखण्ड र जातीय सद्भावका निमित्त क्षेत्रीय एकता, आजको आवश्यकता भन्ने मूलमन्त्रका साथ स्थापित क्षत्री समाज नेपाल विभिन्न १६ बुँदे मागसहित ज्ञापनपत्र बुझाउन काठमाडौतर्फ लागेको छ ।
सरकारसँग विगतमा भएका सम्झौता कार्यान्वयन, संघीयताको नाममा जातीय आरक्षण खारेजलगायतको माग गर्दै राष्ट्रपति, प्रधानमन्त्री, राजनीतिक दलका प्रमुखलाई आइतबार ज्ञापनपत्र बुझाउन समाजका केन्द्रीय अध्यक्ष प्रा.डा. चन्द्रबहादुर थापा नेतृत्वमा टोली काठमाडौतर्फ लागेको हो । टोलीमा केन्द्रीय अध्यक्ष प्रा.डा. थापासहित नि.अध्यक्ष प्रा.डा. दिलबहादुर क्षेत्री, महासचिव रोमबहादुर कार्की, कोषाध्यक्ष रिवबहादुर थापा र केन्द्रीय सदस्य कृष्ण थापा संलग्न छन् ।
१६ बुँदे ज्ञापनपत्रमा विद्यमान पाँच विकास क्षेत्रलाई अधिकारसम्पन्न बनाउने वा हिमाल, पहाड र तराई समावेश हुने गरी राज्य पुनर्संरचना गर्नेक्रममा बढीमा पाँच संघीय राज्य बनाउनुपर्ने, पहिचानको नाममा धर्म, भाषा र जातिको गन्ध आउने कुनै पनि प्रकारको राज्य पुनर्संरचना नभै भौगोलिक आधारमा श्रोत, साधनको नाममा राज्यको नामाकरण गर्नुपर्ने,  २०६८ जेठ ८ मा सरकारसँग क्षेत्री जातिलाई आदिवासी जातिमा सूसूचित गर्ने गर्न गरिएको ६ बुँदे सहमति कार्यान्वयन हुनुपर्ने, राज्यबाट प्रदान गरिने सामाजिक, शैक्षिक, आर्थिक, सुविधा, सहयोग, संरक्षण जातीय आधारमा नभै वर्गीय र जनसंख्या प्रतिशतको आधारमा गरिनुपर्ने, एकल महिला भत्ता वा बृद्ध भत्तामा देखिएको विभेदकारी नीति खारेज गरी एकरुपता कायम गर्नुपर्ने, सीमा अतिक्रमण राष्टियताको सवालमा र विकासमा एक भै सबै राजनीतिक दलहरु एक हुनुपर्ने लगायतका माग समेटेको समाजका केन्द्रीय सदस्य कृष्ण थापाले जानकारी दिए । समाजले निरन्तररुपमा राष्ट्र र राष्ट्रियताको नाममा र जातीय सदभावको रुपमा आन्दोलन गर्दै आएको र १६ बुँदे माग उचित सम्बोधन नभए कडारुपमा प्रतिकार आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ । समाजले आगामी दिनमा देशका ६४ जिल्लामा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।

Post a Comment

 
Top