0
पोखरा १६ असार ।
पोखरा लेखनाथ महानगरपालिकामा निर्वाचित जनप्रतिनिधिले पदबहाली गरेको एक महिना पुगेको छ । तर महानगर वासीहरुको अपेक्षा र निर्वाचन पूर्व उम्मेदवारहरुले गरेका प्रतिवद्धता पूरा गर्ने तर्फ अझैसम्म ठोस प्रक्रिया अघि बढ्न सकेको छैन । 
चुनावको बेला सबैजसो राजनीतिक दल र उम्मेदवारहरुले पोखरालाई स्मार्ट सिटी बनाउने लगायतका विभिन्न आकर्षक प्रतिवद्धता सार्वजनिक गरेका थिए । यस्तै आकर्षक प्रतिवद्धता सार्वजनिक गरेका नेकपा एमालेका उम्मेदवार मानबहादुर जिसी र मञ्जुदेवी गुरुङ क्रमशः मेयर र उपमेयरमा विजयी भए । तर पदबहाली भएको एक महिना बित्दा समेत महानगरवासीले अपेक्षा गरे अनुसारको रचनात्मक काम हुन नसकेको बताइन्छ ।
हुनत पोखरा लेखनाथ महानगरपालिकाको घोषणा तत्कालिन पोखरा उप–महानगरपालिका र लेखनाथ नगरपालिकामात्र नभएर भौगोलिक हिसावले विकट रहेका गाविसहरु मिलाएर गरिएकोले पनि काम गर्न सहज छैन । उपमहानगरवासीहरु मात्र हैन नगरवासी र गाउँबासीहरु समेत एकाएक महानगरवासी बनेपछि उनीहरुको अपेक्षा बढ्नु स्वभाविक हो । यस्तो अवस्थामा निर्वाचित जनप्रतिनिधिहरुले सबै क्षेत्रको समुचित विकासका लागि उपयुक्त गुरुयोजना तयार गर्न र तत्काल कार्यान्वयनमा जानुपर्ने खाँचो छ ।
नयाँ संविधानले सिंहदरबारको अधिकार गाउँ–गाउँमा पु¥याएको भनिएपनि प्राप्त अधिकारको कार्यान्वयन गर्न गाउँपालिकाको त कुरै छाडौं महानगरपालिकालाई समेत हम्मे–हम्मे पर्ने देखिएको छ । पोखरा लेखनाथ महानगर पालिकाका नवनिर्वाचित प्रमुख मानबहादुर जिसीका अनुसार महानगर पालिकामा नेपाल सरकार अन्तर्गत विभिन्न सरकारी कार्यालयको कर्मचारीहरु समायोजना गर्नुपर्ने अवस्था छ । तर समायोजना भएर आउने कर्मचारीहरुका कारण यतिबेला आन्तरिक व्यवस्थापनमा समेत समस्या उत्पन्न भएको छ ।
महानगरले संचालन गर्ने विभिन्न विकास निर्माणका योजनाहरुको सम्झौता तथा फरफारक गर्न एउटै व्यक्ति दर्जनौं पटक कार्यालय धाउनुपर्ने अवस्था अझै अन्त्य हुन सकेको छैन । यस्तो अवस्थालाई अन्त्य गर्न आफूहरुले चाहेको मेयर जिसी बताउछन् ।   उनले भने–‘महानगरमा कार्यरत इन्जिनियरहरुलाई २÷३ वटा वडा हेर्ने गरि खटाइने र उनीहरुले नै योजनाको इष्टिमेट, सम्झौता र फरफारक गर्ने व्यवस्था गर्न लागेका छौं, यसो भएमा कार्यालयमा चेक लिनमात्र आए पुग्छ।’
निर्वाचित भएको एक महिनापछि आफ्नै कार्यालयमा पोखराका संचारकर्मीहरु बोलाएर मेयर जिसीले आफूले गर्न चाहेका केही योजनाका बारेमा सुनाएका थिए । यसैक्रममा उनले भने–‘अहिले कर्मचारीहरुमा सेवाग्राहीको कामलाई आलेटाले गर्ने प्रवृत्ति धेरै देखिएको छ । त्यसैले सेवाग्राहीलाई तत्काल सेवा दिन र फाइल पन्छाउने प्रवृत्तिलाई निरुत्साहित गर्न मैले पहल गर्नेछु ।’ महानगरमा ७ वटा महाशाखा रहने र तिनै महाशाखा अन्तर्गत विभिन्न काम गर्ने भन्दै उनले असार १ गतेबाट जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता, सम्बन्ध विच्छेद र बसाइँसराइँ गरि ५ वटा काम अनलाइनबाटै गने व्यवस्था मिलाइएको बताए ।
महानगरको वडा कार्यालयलाई धेरै अधिकार भएपनि अझैसम्म वडाबासीहरुले सेवा पाउन सकेका छैनन । वडा कार्यालयहरुमा जनशक्तिको व्यवस्थापनमात्र नभएर आवश्यक पूर्वाधार र संरचना समेत तयार नहुँदा वडा कार्यालयबाट सेवा पाउन वडावासी वञ्चित भएका हुन् । महानगरका मेयर जिसी भने अहिले ३३ वटा वडा मध्ये १८÷१९ वडामामात्रै अप्टिकल फाइवर पुगेको र अन्य वडाहरुमा इन्टरनेट सुविधा उपलव्ध गराउन नेपाल टेलिकमसंग कुरा भइरहेकोले केही दिनभित्रमा नै इन्टरनेट सुविधा पुग्ने बताउछन् । विभिन्न वडा कार्यालयसंग महानगरको कार्यालय कम्प्युटर नेटवर्कमा आवद्ध हुन सकेमात्रै वडा कार्यालयबाट काम गर्न सहज हुन्छ । यसका लागि आवश्यक प्रविधि र  सबैखाले सेवाका लागि आवश्यक गर्ने जनशक्ति तयार गरेपछिमात्र वडा कार्यालयले वडावासीलाई सेवा दिन सक्छ ।
मेयर जिसीले पोखराको मेहन्द्रपुल, पृथ्वीचोक र लेकसाइड क्षेत्रमा विद्युत र टेलिफोन तथा अन्य केवुलहरुलाई व्यवस्थित गर्नका लागि आफूहरुले पहल गरेको एक वर्षभित्र पूरा हुने बताए । महानगरमा पार्किङको समस्या जटिल बन्दै गइरहेको कुराप्रति पनि मेयर जिसीले गम्भीरता प्रकट गरे । उनले भने–‘सडकमा गाडी राख्ने होइन, गुडाउने हो । त्यसैले यसअघि नै नगरपालिका कार्यालयले नियुक्त गरेको परामर्शदाताको शिफारिस बमोजिम यथाशीघ्र निजी पार्किङ क्षेत्रको विकास गर्ने र सडकमा गाडी पार्किङ गर्ने प्रवृत्तिलाई निरुत्साहित गरिनेछ ।’ पोखराको पृथ्वीचोकमा रहेको ट्राफिक आइल्याण्डलाई यथाशीघ्र साँघुरो बनाउने र ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन पहल भइरहेको जानकारी दिंदै उनले साउन १ गतेबाट महानगरमा  हर्न निषेधित गरिने बताए । 
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति गंगाधर पराजुलीले  मेयरमा निर्वाचित भएपछि जिसीले महानगरवासीलाई परिवर्तनको अनुभूति दिलाउन सक्नुपर्नेमा जोड दिए । हानगरसंग सम्बन्धित वास्तविक सूचना संचारमाध्यमलाई समयमै उपलव्ध गराउनतर्फ ध्यान दिन आग्रह गर्दै पराजुलीले महानगरको प्रवक्तासामू महानगरका सूचनाहरु केन्द्रिकृत हुनुपर्ने बताए । कार्यक्रममा पत्रकारहरु नवराज सुवेदी, नविन सिग्देल, प्रदीप पौडेल, अमृत सुवेदी दिननाथ बराल, रामचन्द्र बराल, सन्तोष पोखरेल र उदयबहादुर अमात्य लगायतले जिज्ञासा एवं सुझाव राखेका थिए । कार्यक्रममा पोखरामा रहेर विभिन्न संचारमाध्यममा रहेका पत्रकारहरुले विभिन्न जिज्ञासा र सुझाव राखेका थिए । महानगरका प्रवक्ता अनन्त प्रसाद कोइरालाले कार्यक्रम संचालन गरेका थिए ।

Post a Comment

 
Top