0
गोल्डेन न्यूज संवाददाता
पोखरा १० असार ।
कास्कीको मादी गाउँपालिका वडा नं. ५ सुनपदलीका फणिन्द्र सुवेदी र उनको परिवार घरविहीन भएको धेरै समय भइसक्यो । उनको ९ जनाको परिवार हाल अस्थायी टहरोमा छन् । आर्थिक रुपले अति विपन्न सुवेदी र उनको परिवार लामो समयदेखि बसोबास गर्दै आएको कच्ची घर २०७२ वैशाख १२ गतेको महाभूकम्पको शिकार बन्यो । घरसंगै उनीहरुको सपनाहरु पनि भत्किएको थियो । भूकम्पपछि केही राहतसंगै जोडेर जेनतेन टहरा बनाए । उक्त टहरालाई पनि गत फागुनमा आगोले सखाप बनाइदियो । चट्याङ्का कारण विजुली सर्ट भएर उनको टहरामा आगलागी भएको थियो । 
सुवेदी परिवारसंग अहिले न वास छ, न गास नै । सामान्य टहरोमा बसेर निवेक गरेर आफू र परिवारको जीविका चलाउँदै आएका छन् । सुवेदी परिवारलाई ठूलो हावाहुरीसहित पानी पर्दा आफन्तको शरणमा पुग्नुपर्ने बाध्यता छ । 
घरमा लागलागी भएपछि राहतको खोजीमा धेरै ठाउँमा भौतारिए पनि सुवेदीलाई जिल्ला प्रशासनबाट १ बोरा चामल बाहेक केही उपलव्धि मिलेन । पीडित सुवेदी भन्छन्–‘धेरै ठाउँमा पुगेर सहयोगको हाल फैलाएँ, जिल्ला प्रशासनबाट १ बोरा चामल बाहेक कतैबाट पनि केही मिलेन । ढिक्क लागेर जानै छोडिदिएँ ।’ उनी थप्छन्–‘दैवको लिला यस्तै रहेछ के गर्नु ? जे हुन्छ होस् भनेर बसें । अरुबाट आशा मारिदिएँ ।’
सुवेदी परिवारको यस्तो दयनीय अवस्था देखेर नेपाली कांग्रेस कास्की सभापति कृष्ण केसी र युवा नेता तथा व्यवसायी विमल बस्यालले मन थाम्न सकेनन् । केसी र बस्यालले पीडित परिवारलाई एउटा छाप्रोसम्म बनाएर टाउको राख्न सकून भन्ने उद्देश्यले २ वण्डल जस्ता पाता सहयोग गरे ।   
उक्त जस्तापाता शनिबार सुनपदलीमा आयोजित एक कार्यक्रमका बीच सुवेदीलाई  प्रदान गरिएको हो । जस्तापाता नेपाल कर्मचारी युनियन संघका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारी र नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य एवं नेपाली कांग्रेसका वडा संयोजक भानु ढकालले प्रदान गरेका हुन् ।
जस्तापाता सहयोग पाएपछि पीडित सुवेदी फुरुङ्ग हुँदै भने–‘अब त टाउको राख्ने ठाउँ बन्छ, यो वर्खा सजिलै बित्ने भयो । सहयोगी हातलाई लाख–लाख धन्यवाद ।’ कार्यक्रममा वडा सदस्य हुमनाथ अधिकारी, समाजसेवी सूर्यनाथ अधिकारी, कांग्रेस नेता लिलामणि कुइँकेल, नेपाल तरुण दलका सह–सचिव गणेश सुवेदी, नेविसंघका क्षेत्रीय उपाध्यक्ष बाबुराम ढकाल, नेपाल दलित संघका सभापति शेर बहादुर विक लगायत पनि सहभागी थिए ।

Post a Comment

 
Top