0
गोल्डेन न्यूज संवाददाता
 उनी गाँउका मुखिया हुन् । मुखिया भएको पनि दुई कार्यकाल वितिसक्यो । दुई दशकअघि गाउँको उपाध्यक्ष थिए । तर अब अध्यक्ष भई गाँउको सेवामा समर्पित हुने चाहना इन्द्रधारा विष्टले गरेका छन् । हिमालपारीको जिल्ला मुस्ताङको लोमान्थाङ गाँउपालिका को अध्यक्षमा उनले पोखरामा आईतबार पत्रकार सम्मेलन मार्फत स्वतन्त्र उम्मेदवारी घोषणा गरे । राजतन्त्र हटेको एक दशक भईसक्यो । तर उनले आफुले मुस्ताङमा राज्यभिषेकको पहल गर्ने अठोट लिएका छन् । ‘राजसंस्था साँस्कृतिक पहिचान हो ।’ उनले भने—‘लोमान्थाङमा राज्यभिषेक गर्ने योजना बनाईरहेको छु ।’ राज्यभिषेकको लागि स्थानीय बासीसँग सल्लाह गर्ने समेत बताए । ‘राजसंस्थालाई राजनीति सँग जोड्नु हुदैन् । केवल साँस्कृतिक पहिचानको रुपमा राख्नुपर्छ ।’ उनको भनाई थियो । उनले राज्यभिषेक गर्न सरकारसँग छलफल गर्ने उल्लेख गरे । यद्यपि सरकारभन्दा पनि स्थानीयबासीको चाहना अनुसार राज्यभिषेक गरिने उनको भनाई थियो । ‘स्वतन्त्र उम्मेदवारलाई भोट, गाउँको विकास र कालोपत्रे रोड’ भन्ने नारा उनले उठाएका छन् । युवाशक्ति विदेश पलायन र अन्य बसाई सराईले लोमान्थाङ खाली हुदैं गएकोप्रति चिन्तित हुदैं विष्टले पर्यटन प्रवद्र्धन गर्दै आयआर्जन गर्ने अभियानमा आफ्ने भूमिका महत्वपूर्ण हुने विश्वास दिलाए । २०५४ सालको स्थानीय तहको निर्वाचनमा उनी स्वतन्त्र रुपमा लड्दै उपाध्यक्षमा निर्वाचित भएका थिए । लोमान्थाङमा केवल १४ सय जनसंख्या छ । त्यो मध्ये आधा जति बसाईसराई र विदेश पलायन भएका छन् । अहिले बढीमा सातसयको मत खस्ने अनुमान उनले गरेका छन् । ‘पोखरामा मात्रै पाँचसयको संख्यामा बसाईसराई गरेको तथ्यांक छ ।’ उनले भने—‘यसरी बसाईसराई हुदैं गए गाउँ नै रित्तिन्छ । त्यसैले गाउँको पर्यटन विकास अहिलेको मुल आवश्यकता हो ।’ 
उत्तरको चीनसँग सीमा जोडिएको कोरला नाका खोल्नेदेखि जोमसोम–कोरला सम्मको सडक पुर्वाधार निर्माण गर्ने लक्ष्य समेत उनले आफनो घोषणापत्रमा उल्लेख गरेका छन् । खोलामा पक्की पुल निर्माण गरी बाह्रैमास सडक सञ्जालले जोड्ने अभियान उनको छ । सरकारले १९८२ देखि विदेशीलाई लोमान्थाङ भ्रमण गर्न खुला गरिएको थियो । त्यसपछि बाह्य पर्यटकको पहुँच पुगेको थियो । बाह्य पर्यटकको पहुँच पुगेपनि सरकार पर्यटन प्रवद्र्धन गर्ने तर्फ खासै चासो नदिएको उल्लेख गर्दै होटल निर्माण र होमस्टे प्रवद्र्धन गर्ने आफनो योजना रहेको बताए । लोमान्थाङमा अहिले १४ वटा होटल छन् । लोमान्थाङ राजनीतिक आस्था भन्दा पनि सस्कार, सँस्कृति, रीतिरिवाजको अनुशासनमा रहेको छ । उनले आफनो उम्मेदवारी दिदैं छोसेर छोन्हुप गाँउमा होमस्टे सुविधा शुरु गर्ने प्रतिबद्धता समेत गरेका छन् । उच्च शिक्षाको व्यवस्था नभएको उल्लेख गर्दै उनले उपल्लो मुस्ताङमा उच्च शिक्षाको लागि पहल गर्ने बताए । लोमान्थाङमा प्रचलित आम्चीले गर्ने परम्परागत उपचार पद्धतिलाई संरक्षण र आधुनिकीकरण गर्ने उल्लेख गर्दै सुविधा सम्पन्न अस्पताल निर्माण पनि आफनो योजना रहेको पत्रकार सम्मेलनमा सुनाए ।










Post a Comment

 
Top