0
गोल्डेन न्यूज संवाददाता
दिगो आयआर्जन गर्ने उद्देश्यले यहाँका कृषक कफिखेतीतर्फ आकर्षित भएका छन् । पोखरा लेखनाथ महानगरपालिका–३३ स्थित बरपौवा, बरमाझथर, बर पाण्डेथुम, गैरागाउँलगायतका कृषकले दिगो आयआर्जन गर्ने उद्देश्यका साथ कफिखेतीतर्फ आकर्षित भएका हुन् । उनीहरुले महारुद्र कफी उत्पादन सङ्घ कास्कीको सक्रियतामा कृषक सङ्घमा आवद्ध भई कफिखेतीतर्फ आकर्षित भएका हुन् । सङ्घका अध्यक्ष मनोहर शर्मा आचार्यकाअनुसार साविक लेखनाथ नगरपालिका–१८ भित्रका सम्पूर्ण गाउँ समेट्ने गरी निर्माण गरिएको कफी समुहमा हाल १०२ जना सदस्य आवद्ध भई कफिखेतीतर्फ लागिसकेका छन् । समूहका सदस्यमध्येबाट लगाइएका लगभग तीन हजार ७०० बिरुवामध्ये २०० बोटले उत्पादन दिन थालिसकेका बताउँदै उनले कफिखेती विस्तारका लागि हाल पाँच हजार बिरुवा उत्पादन गर्न लागिएको जानकारी दिए । रोजगार एवम् अवसरको खोजीमा युवा विदेशिने क्रम बढ्नुका साथै गाउँबाट सहरमा विस्थापित हुने प्रवृत्ति बढेको छ,” उनले भने–“अवसरको खोजीमा विदेशिने युवालाई यहीँ रोजगारका सम्भावनाको खोजी गर्ने अभियानकै रुपमा कफिखेतीलाई विस्तार गर्ने सोचमा छौं ।” कफिखेतीसँगै केराखेती र मौरीपालनलाई पनि अघि बढाउने उद्देश्य अनुसार समूहमा आवद्ध सदस्यलाई प्रति सदस्य एक÷एकवटा मौरीका घारसमेत प्रदान गर्ने सङ्घको लक्ष्य छ । प्रत्येक कफिको बोटबाट सात हात अन्तरमा केरा लगाउनुका साथै बगैचाभित्र मौरीपालन समेत गर्नका लागि कृषकलाई अभिप्रेरित गरिने आचार्यले बताए । मौरीपालन समेत गरिनुले कफिको फूलफुल्ने बेलामा महको उत्पादन पनि राम्रो लिनसकिने बताउँदै उहाँले कफी सँगसँगै केरा र महको उत्पादन समेत भएपछि कृषकले त्यसबाट राम्रो आम्दानी लिनसक्ने विश्वास व्यक्त गरे ।

Post a Comment

 
Top