0
ट्राफिक प्रहरीको आखा छलेर कतै तपाइले नियम विपरित सवारी चलाउँदै त हुनुहुन्न ? सडकमा ट्राफिक प्रहरीलाई देख्दा मात्रै नियम पालना गरे जस्तो गर्ने अन्यथा जथाभावी सवारी सञ्चालन गर्ने बानी छ भने होसियार ! पोखरा नगर क्षेत्रका कुनैपनि स्थानमा कुनैपनि बेला सादा पोशाकमा ट्राफिक प्रहरी खटिन सक्छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले ट्राफिक प्रहरीको पोशाक देखे मात्रै नियम पालना गर्ने अन्यथा नियम विपरित सवारी चलाउने चालकलाई कारवाही गर्न नयाँ उपाय अपनाएको छ ।बैंशाख १३ गतेदेखि सुरु भएको यो अभियान अन्तर्गत तपाइले कुनैपनि बेला कुनैपनि स्थानमा नियम विपरित सवारी चलाउनुभएको भेटिएमा सादा पोशाकमा रहेका ट्राफिक प्रहरीले रोक्छन् । त्यसपछि आफ्नो परिचयपत्र देखाउछन् र कसुर अनुसारको पूर्जी थमाउछन् । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले बैंशाख २ गतेबाट वुटवलमा सुरु गरेको यो अभियान पोखरामा पनि सुरु गरिएको हो । सिभिल ट्राफिक चेकिङ अभियान विशेष गरी युवा पुस्ता र त्यसमाथि पनि मोटरसाइकल चालकलाई बढी लक्षित गरीएको छ भने नगर क्षेत्रमा सञ्चालन हुने सार्वजनिक सवारीलाई पनि सादा पोशाकमा खटिने ट्राफिक प्रहरीले निगरानीमा राख्नेछन् । सवारी चलाउँदा मोबाइलमा कुरा गर्ने, हेलमेट ठीकसँग नलगाउने, सवारी साधनको स्वरुप परिवर्तन गर्ने, तीव्र गतिमा सवारी चलाउने, आवाज बढी निकाल्ने, लापर्बाहीपूर्वक सवारी चलाएको भेटिए सिभिलमा खटिएका ट्राफिक प्रहरीले कारबाही गर्नेछ ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक विश्वराज अधिकारीका अनुसार नियम विपरित सवारी चलाउने चालकको कागजपत्र नियन्त्रणमा लिएर कशुर अनुसारको पूर्जी थमाइनेछ । त्यसपछि प्रत्येक शनिवार एक घण्टाको कक्षा लिएर मात्रै जरिवाना रकम तिराएर छोडिनेछ । ट्राफिक प्रहरीले थालेको यस अभियानमा २० वर्षमुनिका चालकहरू बढी लक्षित छन् । ट्राफिक नियम मिच्नेमा युवापुस्ता बढी हुने भएकाले पनि उनीहरुप्रति बढी लक्षित गरिएको प्रहरी निरिक्षक अधिकारीले बताए । प्रहरी पोशाकमा रहेर जाँच गर्दा टाढैबाट भाग्ने र सवारीको गति अझ तीव्र पार्ने प्रवृत्ति बढेकाले गलत तरिकाले सवारी चलाउनेहरू कोही पनि उम्किन नपाऊन् भनेर यस किसिमको अभियान थालेको ट्राफिक प्रहरी नायव निरीक्षक शिब थापाले जानकारी दिए ।  यसैबीच बस बिसौनीको सहि प्रयोग नगर्ने र सडकको बीचमा रोकेर यात्रु चढाउने तथा झार्ने सवारी चालकमाथि पनि सिभिलमा खटिएका ट्राफिक प्रहरीले निगरानी गर्ने भएका छन् । शुक्रवारसम्म पोखरा नगर क्षेत्रमा सञ्चालन हुने बस र माइक्रोका ३६७ चालक, सह–चालकलाई सडकमै गएर प्रशिक्षण दिएको ट्राफिक प्रहरीले आइतवार देखि प्रतिबद्धता अनुसार नभएको भेटिएमा लाइसेन्स प्वाल पर्ने जनाएको छ ।  ट्राफिक प्रहरीले नगरका विभिन्न क्षेत्रमा गएर सडकमै चालकलाई भेट्दै तीन बुँदे प्रतिबद्धतामा हस्ताक्षर गराएको थियो । जस अनुसार ‘बस रोकी यात्रु झार्ने र चढाउने क्रममा बस पकेट तथा सडकको किनारामा पुरै साइड लगाएर मात्रै रोक्नेछु, बजार एरियामा सवारी साधन चलाउदा आफू भन्दा अगाडि गइसकेको गाडीलाई अनावश्यक रुपमा ओभरटेक गर्नेछैन र बजार एरिया भित्र सवारी चलाउदा प्रतिघण्टा ३० किलोमिटर भन्दा बढी गतिमा चलाउने छैन’ भन्ने तीन वटा बुदामा चालकलाई हस्ताक्षर समेत गराइएको छ । यी तीन वुदा बारे चालकलाई जानकारी गराएर उनीहरुले चलाउने सवारी नम्बर, चालकको नाम, लाइसेन्स नम्बर र सम्पर्क नम्बर समेत उल्लेख गरी हस्ताक्षर गराइएको प्रहरी नायब निरीक्षक थापाले बताए ।







Post a Comment

 
Top