0
गोल्डेन न्यूज संवाददाता
आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा गाउँपालिका, नगरपालिका तथा महानगरपालिकाको मेयर÷प्रमुख पदमा उम्मेदवार बन्न एक हजार पाँच सय रुपैयाँ मात्र धरौटी शुल्क लाग्ने भएको छ । महानगरको मेयर तथा गाउँपालिका प्रमुखको उम्मेदवार बन्नका लागि उक्त धरौटी रकमका साथै एक जना प्रस्तावक र एक जना समर्थक समेत हुनुपर्ने व्यवस्था गरिएको छ । उम्मेदवार बन्ने व्यक्ति र प्रस्तावक, समर्थक सम्बन्धित नगर तथा गाउँको मतदाता नामावलीमा नाम भएको व्यक्ति हुनुपर्दछ । प्रमुख र उपप्रमुख पदका लागि १ हजार पाँचसय, वडाध्यक्ष पदका लागि १ हजार र वडा सदस्य पदका लागि पाँच सय रुपैयाँ धरौटी शुल्क लाग्ने क्षेत्रीय निर्वाचिन कार्यालय पोखराका क्षेत्रीय निर्वाचन अधिकारी गांगालाल सुवेदीले जानकारी दिए । पोखराको सुनौलो एफएमको विशेष कार्यक्रम ‘सुनौलो संवाद’मा कुराकानी गर्दै उनले महानगरको मेयरको चुनाव लड्नेले अधिकतम ७ लाख ५० हजार रुपैयाँमात्र खर्च गर्न पाउने व्यवस्था गरिएको र उपमहानगर, नगर, गाउँ र वडाको निर्वाचन लड्नेले सोही अनुपातमा केही कम खर्च गर्नुपर्ने व्यवस्था निर्वाचन आचारसंहिता रहेको बताए ।  निर्वाचन आयोगले तोकेको रकमले खर्च पुग्ने अवस्था नरहेको र महानगरको मेयरको चुनाव २÷४ करोड खर्च गर्नुपर्ने चर्चा चलिरहेको बेला निर्वाचन अधिकारी सुवेदीले निर्वाचन सकिएपछि सम्बन्धित उम्मेदवारले आयोगको कार्यालयमा खर्चको फाँटवारी पेश गर्नुपर्ने र बढी खर्च गरेको पाइएमा १ लाख रुपैयाँ जरिवानासहित अन्य कार्वाही गर्न सकिने बताए ।  निर्वाचन आयोग कास्कीमा १५० वटा मतदान स्थल र ति स्थलमा ३०० वटा मतदान केन्द्र निर्धारण गरि प्रत्येक केन्द्रमा पाँच जना कर्मचारी र ३ जना स्वयंसेवकको व्यवस्था गर्ने उनले जानकारी दिए । समय कम भएकाले निर्वाचनको तयारी चुनौतीपूर्ण भएपनि रफ्तारमा काम भइरहेको भन्दै उनले निर्धारित समयमै चुनाव गर्न आफूहरुलाई समस्या नपर्ने तर राजनीतिक दल वा अन्य कारणले केही समस्या परेमा त्यसको समाधान तत्काल गर्न सरोकारवाला जुट्नुपर्ने खाँचो औंल्याए । 
मतदाता शिक्षलाई प्रभावकारी बनाउन कास्कीमा ३०० जना मतदाता स्वयंसेवकको व्यवस्था गरि उनीहरुलाई टोल–टोलमा पठाइने उनले बताए । स्थानीय तहको निर्वाचन भएकाले संसदीय निर्वाचन भन्दा बढी अर्थात ८० प्रतिशत भन्दा बढी मत खस्ने उनको अनुमान छ । उनका अनुसार कास्कीमा २३ राजनीतिक दलका र अन्य केही स्वतन्त्र उम्मेदवार बन्ने सम्भावना छ । कास्कीमा २ लाख २४ हजार ८११ मतदाता रहेको र त्यसमध्ये १ लाख २० हजार २३० महिला मतदाता रहेको सुवेदीले बताए ।





Post a Comment

 
Top