0
गोल्डेन न्यूज संवाददाता
काठमाडौं उपत्यकामा अत्याधुनिक सुविधायुक्त एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको नेपाल एम्बुलेन्स सेवाले पोखरामा पनि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालसँगको सहकार्यमा पोखरामा एम्बुलेन्स सेवा सुरु गरिएको हो । १०२ नम्बरमा फोन गरी तत्काल सेवा प्राप्त गर्न सकिने गरी पोखरामा पनि अत्याधुनिक एम्बुलेन्स सेवाको सुरुवात गरिएको सञ्चालक कम्पनीका प्रमुख ओम राजभण्डारीले जानकारी दिए । विरामी अस्पताल पुग्नुअघि पाउनुपर्ने सम्पूर्ण सेवा ‘प्रि हस्पिटल इमरर्जेन्सी कियर’ विशेषज्ञ चिकित्सकको साथमा एम्बुलेन्स भित्रै प्राप्त गर्न सकिने उनले बताए ।  ‘कुनैपनि विरामीले एम्बुलेन्स भित्र प्रवेश गरेपछि अस्पतालमा प्राप्त गर्ने सम्पूर्ण इमर्जेन्सी सेवा प्राप्त गर्न सक्नेछ’ उनले भने । तत्कालको लागि पोखराको मालेपाटन स्थित सशस्त्र प्रहरी वलको कालिका गण भित्र रहने यो एम्बुलेन्स १०२ मा फोन गरेपछि तत्काल आवश्यकता परेको स्थानमा आउनेछ ।  एम्बुलेन्स भित्र अत्याधुनिक उपकरण जडान गरिएको छ । एम्बुलेन्स सेवा प्रदान गरे बापत प्रति विरामी एक हजार रुपैयाँ शुल्क लिने बताइएको छ । एम्बुलेन्स सञ्चालन सम्बन्धी सम्झौतापत्रमा सोमवारनै हस्ताक्षर भएको छ । पोखरामा एम्बुलेन्स सञ्चालनका लागि ७ सदस्यीय सञ्चालक समिति समेत गठन गरिएको छ । समितिको संयोजकमा दामु अधिकारी र सदस्यहरुमा मोहन बाबु खड्का, टोप बहादुर थापा, दुर्गा हुमागाई, मिलन थापा, शैलेन्द्र मोहन भट्टराई, राजेन्द्र सापकोटा छन् । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिष्ट्रिक्ट गभर्नर (इलेक्टेड) धनराज आचार्यको विशेष पहलमा पोखरामा पनि सेवा विस्तार भएको हो । काठमाडौंमा उत्कृष्ट सेवा प्रदान गरिरहेकाले पोखरामा पनि यसको अबश्यकता महशुस गरी सुरु गरिएको आचार्यले बताए । यो एम्बुलेन्स सञ्चालनका लागि पोखरामा सम्पूर्ण लायन्सहरुले सहयोग गर्ने उनले प्रतिबद्धता जनाए । कार्यक्रममा लायन्स लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका मल्टिपल काउन्सिल चियर पर्सन सुनिल भक्त श्रेष्ठले पोखरेलीले उत्कृष्ट सेवा पाउने विश्वास ब्यक्त गरे । 
देशका प्रमुख शहरहरुमा अत्याधुनिक सुविधायुक्त एम्बुलेन्स सञ्चालनका लागि लायन्स क्लबले सहयोग गर्ने उनले बताए । डिष्ट्रिक्ट गभर्नर वालकृष्ण बुर्लाकोटीले अस्पताल पुग्नुअघि विरामीको ज्यान बचाउन अत्याधुनिक एम्बुलेन्स सेवा सञ्चालनमा आउनु निकै सुखद् भएको बताए ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले एम्बुलेन्स सञ्चालनका लागि संघ र पोखराका उद्योगी ब्यवसायीले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले एम्बुलेन्स सेवा पेशाको रुपमा परिणत भैरहेको पछिल्लो समयमा न्यूनतम शुल्कमा सुविधायुक्त एम्बुलेन्स सञ्चालनमा आउन लागेको भन्दै खुसी ब्यक्त गरे । उनले सेवाको गुणस्तरीयतामा ध्यान दिन पनि आग्रह गरे । संचालक समितिका संयोजक दामु अधिकारी र पाष्ट मल्टिपल चियर पर्सन दिपक श्रेष्ठले एम्बुलेन्सलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने र भविश्यमा थप सेवा सुरु गर्ने वाताबरण बनाउने विश्वास दिलाए ।
२०१० मा सुरु भएको यो एम्बुलेन्स सेवा अन्तर्गत अहिले काठमाडौंका विभिन्न ८ स्थान र चितवनमा सेवा दिदै आएको छ । पोखरामा सेवा विस्तार पछि निकट भविश्यमा भैरहवामा पनि सञ्चालन गर्ने लक्ष्य राखिएको छ । एम्बुलेन्स सेवा सुरु गरेपछि अहिलेसम्म झण्डै २१ हजार ५ सयलाई सेवा दिइसकेको र ३८ जनाको एम्बुलेन्स भित्रै गर्भवती गराउन समेत सफल भएको सञ्चालक राजभण्डारीले बताए । एम्बुलेन्स सञ्चालनको लागि प्रति एम्बुलेन्स मासिक साढे दुई लाख खर्च लाग्ने र सञ्चालन रकम संस्थाका सदस्यबाट उठेको मासिक रकमबाट खर्च गरिने उनले बताए । उनका अनुसार एउटा एम्बुलेन्सको खरिद शुल्क राजश्व छुट गरी ७० लाख रुपैया परेको छ । पाँच वटा एम्बुलेन्स इन्टरनेशनल मेडिकल कप्र्सले सहयोग गरेको उनले जानकारी दिए ।












Post a Comment

 
Top