0
गोल्डेन न्यूज संवाददाता
अन्नपूर्ण पोष्ट दैनिकका प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार युवराज घिमिरे कीर्ति स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । शनिवार पोखरामा आयोजित कार्यक्रमका बीच उनलाई पुरस्कार प्रदान गरिएको हो । नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा संचालित समाजसेवी कीर्तिबहादुर केसीको स्मृतिमा सूर्यप्रेम बहुउद्देश्यीय समाजसेवा ट्रष्टद्वारा स्थापित पुरस्कार पहिलो पटक घिमिरेलाई प्रदान गरिएको हो ।  कार्यक्रमका प्रमुख अतिथि समाजसेवी सूर्यबहादुर केसीले घिमिरेलाई सम्मानपत्र र एक लाख ११ हजार १ सय ११ रुपैयाँको चेक हस्तान्तरण गरे ।  यसअघि गठित पुरस्कार छनौट समितिको सिफारिशका आधारमा घिमिरेलाई पुरस्कृत गरिएको हो ।

सन १९८० देखि पत्रकारिता सुरु गरेका घिमिरे हाल काठमाडौंवाट प्रकाशित अन्नपूर्ण पोष्ट दैनिकको प्रधान सम्पादक हुन् । भारतको पटनामा वसेर युनाईटेड न्युज एजेन्सीवाट उनले पत्रकारिताको सुरुवात गरेका थिए । उनले विविसि नेपाली सेवाको संवाददता, कान्तिपुर दैनिक र दि काठमाडौं पोष्ट र समय साप्ताहिकमा यस अघिनै सम्पादकको रुपमा काम गरिसकेका छन् । उनी नागरिक दैनिकको सस्थापक सम्पादक समेत हुन् । समाजशास्त्रमा स्नातकोत्तर गरेका उनले अहिले पनि भारतको ईण्डीयन एक्स्प्रेसमा साप्ताहिक रुपमा स्तम्भ लेख्दै आएका छन् । यस वाहेक उनले शून्य समय नामक पुस्तक लगायत थुप्रै कृर्तिहरु प्रकासनमा ल्याएका छन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा समारोहमा धेरै पटक सहभागिता जनाईसकेका छन् । कार्यक्रममा पुरस्कृत ब्यक्तित्वका बारेमा अन्नपूर्ण पोष्टका पोखरा ब्यूरो प्रमुख केशब शरण लामिछानेले जानकारी गराएका थिए भने प्रतिभा छनौट सम्बन्धमा छनौट समितिका संयोजक बद्रीविनोद प्रतिकले प्रकाश पारेका थिए । हरेक वर्ष राष्ट्रियस्तरको पुरस्कार संचालनका लागि सूर्यप्रेम वहुउद्देश्यीय समाजसेवा ट्रष्टले नेपाल पत्रकार महासंघ कास्कीको नाममा ११ लाख ११ हजार एक सय ११ रुपयाँको अक्षयकोष स्थापना गरेको छ ।





Post a Comment

 
Top